अमेरिका। अमेरिकामा विश्व नेपाली साहित्य महासङ्घले अमेरिकामा पनि आफ्नो च्याप्टर बिस्तार गरेको छ । नेपाली साहित्य, कला, कौशल, संस्कृति तथा सभ्यताको प्रचार–प्रसार, विकास र उन्नतिका साथै नेपाली साहित्यलाई विश्वव्यापीकरण गर्ने उद्देश्यका साथ क्रियाशील विश्व नेपाली साहित्य महासङ्घ (Global Federation for Nepali Literature–GFNL) ले संयुक्त राज्य अमेरिका राष्ट्रिय समिति गठन गरेको हो ।
विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको जुलाई १९, २०२६ को निर्णयअनुसार रितादेवी प्रधान “ रूमाठ “ ( सनफ्रान्सिस्को)को अध्यक्षतामा १३ सदश्यीय कार्यसमिति गठन भएको हो । अन्य पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा श्री मोहन यादव (भर्जिनिया), उपाध्यक्षमा शकुन्तला अधिकारी (भर्जिनिया) चयन हुनुभएको छ।
उक्त समितिको महासचिवमा यशोदा लामा (क्यालिफोर्निया), सचिवमा हरि कृष्ण अधिकारी (भर्जिनिया), संगठन सचिवमा अनिल मल्लिक (आयोवा) तथा कोषाध्यक्षमा कृष्णश्री श्रेष्ठ (शिकागो) रहनुभएको छ भने सदस्यहरूमा प्रमिला मानन्धर (भर्जिनिया), श्रीजना भट्ट (डेली सिटी), कविता घिमिरे (रिचमण्ड), केशरी श्रेष्ठ (लस एन्जल्स), रजनी लक्ष्मी मल्ल (फ्लेमिङटन) तथा भागीरथ दाहाल (रिचमण्ड) रहनुभएको छ।
यसैगरी महासङ्घले अमेरिकी राष्ट्रिय समितिका लागि पाँच सदस्यीय सल्लाहकार समूह पनि चयन गरेको छ। सल्लाहकारहरूमा राम लामा अविनाशी (लस एन्जल्स), केशरमान ताम्राकार (शिकागो), सरला श्रेष्ठ (पेन्सलभेनिया), विजय चौधरी (नर्थ क्यालिफोर्निया) तथा सुन्दरी सुनी गुरुङ (न्यु ह्याम्पशायर) रहनुभएको छ।
विश्वका विभिन्न मुलुकमा रहेका नेपाली स्रष्टा, साहित्यकार तथा साहित्यप्रेमीहरूलाई जोड्दै नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने उद्देश्य राखेको महासङ्घले अमेरिकामा गठित राष्ट्रिय समितिमार्फत साहित्यिक गतिविधिलाई सम्बर्धन तथा प्रबर्धन गर्ने योजना बनाएको छ ।
अमेरिकाका विभिन्न राज्य र सहरमा रहेका साहित्यकार, लेखक, कवि, सर्जक तथा साहित्यप्रेमीहरूलाई एउटै साहित्यिक अभियानमा जोड्दै नेपाली साहित्यलाई विश्वव्यापी रूपमा चिनाउने, नयाँ पुस्तामा नेपाली भाषा–साहित्यप्रतिको रुचि अभिवृद्धि गर्ने तथा नेपाली कला, संस्कृति र सभ्यताको प्रवर्द्धन गर्ने दिशामा राष्ट्रिय समितिले काम गर्ने अपेक्षा गरिएको छ।
