Logo

सोमवार, कार्तिक ३ गते २०८३   |   2026 October 19

images

images

अक्षरहरू (कविता)

अक्षरहरू (कविता)

नेप्लिज डायस्पोरा

३, कार्तिक २०८३
images
अक्षरहरू (कविता)

- नैना सुब्बा बराइली

​अन्त्य पनि नहोला सायद,

यो भुलभुलैयामा परेकाहरूको यात्राको!

शाश्वत सत्यसँग जोडिएको सडक छोडेर

पगडण्डीभरि दौडिरहेछन्

भ्रमित ताँती र लस्करहरू।

​झुण्ड-झुण्डमा उभिएर,

"आऊ हाम्रै पछि-पछि,

मूल सडक यही हो" भन्छन्,

अनुहार छोपेका आकृतिहरू

र तमासा देखाउने जमातहरू!

​"बुझेँ" भन्छन्— आफैँ नबुझ्नेहरू,

"चिनेँ" भन्छन्— अन्धा आँखाले!

हो, तिम्रो दृष्टिले भ्याउने

एक टुक्रा आकाश नै ब्रह्माण्ड होइन;

गन्तव्य पुग्ने राजमार्ग त

यति विशाल छ, यति अनन्त छ—

जसको फैलावटसम्म पुग्न

तिम्रो र मेरो दृष्टिले भ्याउँदैन!

​न पूर्व छ, न पश्चिम

न उत्तर छ, न दक्षिण,

यो त केवल अनन्त र अथाह छ,

अटल अनि शाश्वत छ।

​अब मेरो प्रश्न तिमीलाई नै छ—

खै, कता हराए तिम्रो खोजभित्र

प्रेमका अक्षरहरू?

बन्धुत्वका अक्षरहरू?

अनि क्षमा र मानवताका अक्षरहरू?

​- दिल्ली, भारत

images
प्रकाशित मिति :कार्तिक ३, २०८३ सोमवार - ०९:३१:०५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend