लघुकथा पिँजडा -युवराज मैनाली
पहाडबाट फिस्टो चारकोसे झाडीमा झर्यो । बाजसँग मित्रता बढायो अनि फर्किदा साथमा रत्नजडित सुनको पिँजरा ल्यायो। “के ल्यायौ?” बूढो लाटोकोसेरोले सोध्यो। “मित्रता।” “पिँजरा किन?” “सम्मान।” “साँचो नि?” “विश्वास भए पुग्छ।” “अनि आकाश?” फिस्टो झर्कियो, “मेरो स्वतन्त्रतामाथि किन शङ्का! नपत्याए म पिँजडामा छिरेर देखाइदिउँ?” भोलिपल्ट पहाडभरी समाचार फैलियो: ‘चारकोसे झाडीमा फिस्टोको ऐतिहासिक समझदारी।’ लाटोकोसेराले माथि हेर्यो। आकाश खुलै थियो। फिस्टो पिँजडा भित्र थियो तर ढोका बन्द थियो। फिस्टोको बुझाईमा त्यो अभूतपूर्व सफलता थियो।