Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

नेपालमा गरिने बेमौसमी तरकारी खेतीका तरिकाहरू ✍️ दिपेश क्षेत्री

नेपालमा गरिने बेमौसमी तरकारी खेतीका तरिकाहरू ✍️ दिपेश क्षेत्री

images
नेपालमा गरिने बेमौसमी तरकारी खेतीका तरिकाहरू    ✍️ दिपेश क्षेत्री


बेमौसमी तरकारी खेतीमा विभिन्न आधुनिक तरिकाहरूद्वारा मौसमभन्दा केही दिन, हप्ता  महिना पहिले वा पछि तरकारीहरू लगाइन्छ । यसरी मानिसको इच्छापूर्तिको लागि सामान्य मौसमभन्दा अघि वा पछि तरकारी खेती गरी उत्पादन लिने र उपभोक्ता मागअनुसार आपूर्ति गर्ने व्यवसाय नै बेमौसमी तरकारी खेती हो । नेपालमा तरकारीको अभाव हुने र सामान्यभन्दा बढी मूल्य पर्ने समयमा बेमौसमी तरकारी खेती गरी मनग्य आम्दानी अथवा फाइदा लिन सकिन्छ । जस्तैः हिउँदमा काँक्रा, फर्सी आदिको उत्पादन अहिले नेपालमा निम्न तरिकाहरूद्वारा बेमौसमी तरकारी खेती गर्ने गरिन्छ ।

 

१) बीउ छर्ने अथवा बेर्ना सार्ने समय फरक पारेर 

यस तरिकामा बीउ छर्ने अथवा बेर्ना सार्ने समयलाई केही दिनदेखि महिनाको (३० देखि ६० दिनको) अघि वा पछि पारिन्छ । यसो गर्नाले तरकारी उत्पादन हुने मूख्य समयभन्दा अन्य समयमा पनि प्रशस्त तरकारी उत्पादन गरी उपभोग अथवा बिक्री गर्न सकिन्छ ।

२) उपयुक्त ठाउँको छनौट 

नेपालभित्र धेरै किसिमको हावापानी पाइन्छ । तराई, फाँट, पहाड, उपत्यका जस्ता क्षेत्रहरूमा विविध किसिमको हावापानी रहेको छ । यस्तो किसिमको हावापानी प्रयोग गरी उत्पादन गरेको मौसमी तरकारीहरू कुनै अन्य क्षेत्रहरूको लागि बेमौसमी तरकारी बन्न सक्छ । मकवानपुर जिल्लाको टिस्टुङ्ग, पालुङ्ग र दामनमा उत्पादन गरिएका तरकारीहरू तराई क्षेत्रमा बेमौसमी तरकारीको रुपमा बिक्री गरिन्छ ।

३) अनुकुल वातावरण सिर्जना

यस विधिमा तरकारी बालीहरूका लागि आवश्यक वातावरण कृत्रिम तरिकाहरूबाट सिर्जना गरिन्छ । प्लास्टिक टनेल, प्लास्टिकको घर, स्थायी उष्ण घर आदिको प्रयोग गरी जाडो याममा तापक्रम बढाइन्छ भने गर्मी याममा तापक्रम घटाइन्छ । यसका अलवा यसप्रकारले सिर्जना गरेको वातावरणमा बाह्य कीटपतङ्ग र प्रतिकूल प्राकृतिक वातावरणको प्रभाव कम हुन्छ । 

नेपालमा अनुकुल वातावरण सिर्जना गर्नका लागि कृषकहरूले निम्नानुसारको प्रविधिहरू प्रयोग गर्ने गर्दछन् ।

क) स्थायी उष्ण घर 

यस घरमा शिशा तथा मोटो प्लास्टिकको प्रयोग गरी स्थायी किसिमको संरचना तयार गरी सापेक्षिक आर्द्रता (relative humidity), तापक्रम (temperature), प्रकाश (light), माटोको चिस्यान (soil moisture) आदिलाई आवश्यकता अनुसार नियन्त्रण गरिन्छ । तर यस प्रविधिमा धेरै लागत र विशेष किसिमको प्राविधिक ज्ञानको आवश्यता पर्दछ ।

ख) प्लास्टिकको घर 

यो घर बाँस अथवा फलामको पाइपको संरचनालाई वरिपरिबाट प्लास्टिकले बेरेर तयार गरिन्छ । प्लास्टिकको घर जाडो याममा तापक्रम बढाउनका लागि प्रयोग गरिन्छ भने वर्षा याममा संरचनामा फेरबदल गरी छानामा मात्र प्लास्टिक राखी तरकारीलाई वर्षाबाट जोगाउन प्रयोग गरिन्छ । यस घरको उचाइ ३ देखि ४ मिटरको बनाइने हुनाले कृषकहरू आफै घरभित्र पसी कृषि काम गर्न सकिन्छ ।

ग) प्लास्टिकको टनेल 

यस प्रविधिमा लचिला बाँस वा लट्ठीहरू प्रयोग गरी अर्ध चन्द्राकार आकृति बनाइन्छ र उक्त आकृतिमा प्लास्टिकलाई डोरी वा अन्य सामाग्रीहरूको सहयोगबाट ढाकिन्छ । यसो गर्नाले हिउँदमा टनेलभित्रको तापक्रम बढ्छ भने वर्षायाममा तरकारीहरूलाई वर्षाको पानीबाट जोगाउन सकिन्छ ।

 

सन्दर्भ ग्रन्थ सूची ः 

तरकारी खेती प्रविधि (vegetable farming technology),२०६८ । नेपाल सरकार, कृषि तथा सहकारी मन्त्रालय, कृषि व्यवसाय प्रवर्द्धन तथा तथ्याङ्क महाशाखा, सिंहदरबार, काठमाण्डौ नेपाल ।

माधव धिताल, युवराज सुवेदी, शारदा थापा र यामकुमारी श्रेष्ठ, २०७१ । तरकारी खेती आधारभूत जानकारी । इन्डेभ नेपाल, फरेष्ट एक्सन नेपाल, यू.एम.एन. र फास्टनोप्फर, काठमाण्डौ, नेपाल ।

प्रा.डा. ज्ञानकुमार श्रेष्ठ, २०७५ । बागवानी प्रथम (बागवानी विज्ञानको परिचय र तरकारी उत्पादन) । हेरिटेज पब्लिसर्स एण्ड डिष्टिब्युटर्स प्रा.लि., काठमाण्डौ ।

images
प्रकाशित मिति :पौष ६, २०८० शुक्रवार - २०:४७:३२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend