Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

मुक्तककार गोम बिक्रमसंग मुक्तक वार्ता

मुक्तककार गोम बिक्रमसंग मुक्तक वार्ता

नेप्लिज डायस्पोरा

२१, पौष २०८०
images
मुक्तककार गोम बिक्रमसंग मुक्तक वार्ता
 
 

मुक्तक

 
बेइमानी गर्यो छिमेकीले, सुख-दु:खमा काँध हालेर
डुबान यतै सुख्खा यतै, हाम्रै नदिमा बाँध हालेर
आफ्नै हक जताइरह्यो, जमीन मिची सताइरह्यो
पुराना पिलर आफैं झिकी, मनोमानी साँध हालेर ।
 
नमस्कार !
    करीब ५ वर्षपछि क्यानभासको ४५औं बैठक लिएर यहाँहरूको सामु उपस्थित भएको छु l आजको बैठकमा माथिको गहकिलो मुक्तकका लेखक पाल्पा निवासी चीरपरिचित मुक्तककार श्री गोमविक्रमज्यू हाम्रो अतिथि हुनुहुन्छ l उहाँसँग गरिएको कुराकानी, जस्ताको त्यस्तै -
पाल्पाको बगनासकाली गाउँपालिका खानीगाउँमा बाबु जुद्धबहादुर र आमा रेवताकुमारी क्षेत्रीको सुपुत्रका रुपमा जन्मिएका हुन् गोमविक्रम । गाउँकै खानीगाउँ निमाविबाट आधारभूत तथा वेद मा. वि. बाट मावि स्तरको पढाइ सकेपछि पाल्पाकै त्रिभुवन बहुमुखी क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका हुन् उनले ।
   विद्यार्थीकालदेखि 'लेख्न सिकेका यिनले विद्यालयका अतिरिक्त क्रियाकलापहरूमा प्राय: पुरस्कृत   हुन्थे । स्कुले जीवनमै यिनले कविता, गीत, कथा, नाटक, गजल तयार पारेर साथीहरू माझ फरक पहिचान बनाएका थिए ।
   तानसेनबाट प्रकाशित हुने सत्य समाचार साप्ताहिकमा "भूत" शीर्षकको लघुकथा यिनको पहिलो प्रकाशित रचना हो । देख्दा सरल, कम बोल्ने, आफ्नो स्वाभिमानमा चुक्न नचाहने र निरन्तर लक्ष्यमा लागि रहने   स्वभाव देखिन्छ । बाहिरी आवरण जस्तो भए पनि भित्री रुपमा यिनी कसैसँग पिरिन रुचाउँदैनन् ।
   पत्रकारिता, साहित्य र समाज सेवामा रुचीसँगै यिनको साहित्यप्रति केही लगाव देखिन्छ । कथा, कविता, गीत, गजल, समीक्षा, ल‍ोकसाहित्य, फिचर, संस्कृति, स्वास्थ्य जस्ता विषय र विधाहरूमा कलम चलेको देखिन्छ । पाल्पाबाट प्रकाशित हुने गाउँले देउराली साप्ताहिक, उज्यालो अनलाइन, नेप्लिज डायस्पोरा लगायतका सञ्चार माध्यममा आबद्ध यिनले विभिन्न पालिकाहरूको स्थानीय पाठ्यपुस्तक लेखनमा पनि सहभागिता जनाएका छन् । क्यानभासको अहिलेको बैठक – ४५ मा साहित्य र मुक्तक विधासित नजिक रहेर गरिएको कुराकानी यसप्रकार छ : -
 
साहित्यलाई कसरी बुझाउनु हुन्छ अरूलाई ?
 
साहित्य समाजको दर्पण हो; जुन भोगाइ, कल्पना र कलाको समीश्रणबाट तयार हुन्छ । साहित्य प्रतिष्ठा, पहिचान र स्वान्त सुखायको रुपमा पनि   प्रयोग भएको देखिन्छ ।
 
कुन विधा बढी मनपर्छ किन ?
 
सबैजसो विधा मन पर्छ तर सबैमा साधना छैन र पनि धेरैजसो मुक्तक, कविता, र लघुकथामा अलि भिजेको छु । मुक्तक चार हरफको भएर पनि पूर्ण र सटिक प्रहार गर्न र पाठकमा दीर्घकालिन छाप छोड्न सफल हुन्छ   ।
 
कहिलेदेखि लेख्न थाल्नु भो ? पहिलो रचना कुन थियो ?
 
कक्षा ५ देखि लेख्न थालियो । "शिक्षा" शीर्षकको कविता लेखेको थिएँ । वाचन गर्दा खुब डराएको थिएँ । प्रकाशन चै कलेज पढ्दा लेखेको भूत शीर्षकको लघुकथा थियो । कलेजको पुस्तकालयमा पढ्न जाँदा आफ्नो प्रकाशित रचना देख्दा निकै हौसिएको थिएँ तर कसैलाई सुनाउन देखाउन भने पाइनँ किनकी त्यतिखेर   त्यहाँ मलाई चिन्ने कोही पनि थिएनन् । पछि क्रमश : अन्य पत्रिका रेडियो नेपाल इत्यादिहरूमा आए ।
 
 अहिले के लेख्दै हुनुहुन्छ नि ?
 
म सामाजिक सञ्जालमा मुक्तक लेखेर पोष्ट्याउँछु । लेखनका हिसाबले धेरै कुरामा कलम चलिरहेको हुन्छ । भर्खरै मैले लोकसाहित्यिक अनुसन्धानात्मक कृति 'मगर संस्कृति परम्परा र गरिमा' सार्वजनिक गरेको छु । केही कृति प्रकाशोन्मुख अवस्थामा पनि छन् ।
 
 साहित्यिक क्षेत्रमा आउने प्रेरणा कसरी पाउनु भो ?
 
विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा विजयी भएपछि लेखिँदै गइयो । दशमा पढ्दा दुई जना साथीसित मिलेर कविता सङ्ग्रह निकाल्ने तयारी थियो कारणवश सकिएन । निस्केका भए अहिलेसम्म गज्जबको इतिहास भैसक्ने रहेछ भन्ने लाग्छ । केही न केही लेखिरहुँ भन्ने सानैदेखिको स्वभाव इत्यादिले होला लेखनतिर धकेलिएँ ।
 
मुक्तक बाहेक कुन कुन विधामा कलम चलाउनु हुन्छ ?
 
म मुक्तक बाहेक फुटकर कविता, गजल, लघुकथा, कथा, समीक्षा, लेख इत्यादिहरूमा पनि कलम चलाउँछु । त्यसै गरी स्वास्थ्य र लोकसाहित्यमा   थुप्रै लेखहरू प्रकाशित छन् ।
 
अब मुक्तक विधातिर जाऊँ न । अरूका मुक्तक सङ्ग्रह कत्तिको हेर्नु भएको छ ?
 
आफ्नो पनि रुचीको विषय भएकाले अरुका मुक्तक पनि खोजेर पढ्छु सुन्छु । विशेष सामाजिक सञ्जालहरूमा । सङ्ग्रहका हिसाबले १०/१५ वटा सङ्ग्रह हेरेँ हुँला । राजधानी बाहिर भएकाले पाउन अलि सहज छैन । सङ्ग्रहको नाममा भिम राना जिज्ञासुको 'कुर्सीप्रधान देश' मन परेको थियो । त्यसको एउटा मुक्तक सुनाइ हालूं है त -
 
नेपाली पुलिस
 
पेसै यस्तो छ जसभन्दा बढी अपजस बोक्नुपर्छ
जो सत्तामा आउँछन् उसैको नीतिशास्त्र घोक्नुपर्छ
केके गर्नु पर्छपर्छ भनेर साध्य नै छैन यहाँसम्म कि -
हिजो गोद्नुसम्म गोदेकालाई, आज उल्टै सलाम ठोक्नुपर्छ ।
 
 
मुक्तकको प्रवर्धनमा सामाजिक सञ्जालको भूमिका कस्तो देख्नु हुन्छ ?
 
अहिले धेरैले मुक्तक लेखेर, भिडियो बनाएर, लाइभ सुनाएर सार्वजनिक गरेको देखिन्छ । सामाजिक सञ्जालमा मसित जोडिने धेरै साथीहरू मुक्तककारहरू नै छन् । तर सबैका मुक्तक स्तरिय देखिदैनन् फेरि पनि साधना र सङ्ग्रह प्रकाशनका हिसाबले खुसी लाग्छ । देश विदेशमा रहेका वरिष्ठ साहित्यकारहरूसँग भर्चुअल कार्यक्रम मार्फत कोठैमा बसेर सहभागी हुन पाउँदा गौरव लाग्छ । 
   मुक्तकको प्रवर्धनका लागि आधिकारिक हिसाबले गठन भएका संस्था जस्तै नेपाल मुक्तक प्रतिष्ठानले प्रमुख भूमिका खेलिदिनु पर्छ जस्तो लाग्छ । बहस, सैद्धान्तिक छलफल, कार्यपत्र, जारी गरेका घोषणा पत्रको कार्यान्वयन आदि । विभिन्न एफ एमहरूले मुक्तक विधालाई प्रमुख विषय बनाएर कार्यक्रम प्रसारण गरिरहेका सुन्दा खुसी लाग्छ जस्तै मुक्तक संसार, बहकिने मन, मुक्तक लहर, मुक्तक माधुरी इत्यादि ।
 
मुक्तकको आन्तरिक तथा बाह्य संरचनाबारे बुझिने गरी बताइदिनुस् न ।
 
मुक्तक खासमा गागरमा सागर अटाउने संरचना हो । मात्र चार हरफमा लेखिने, स्वयममा पूर्ण र सघन भाव बोकेको नै मुक्तक हो । भनिन्छ एउटै संरचना खण्डकाव्य वा महाकाव्य बराबर हुन्छ ।
 
मुक्तकमा प्रयोग हुने शब्द अलङ्कार अनुप्रास हो या तुक ? यी दुईको परिभाषा वा भिन्नताबारे बताइदिनुस् ।
 
अनुप्रास भन्नाले समान ध्वनि भएका व्यञ्जन वर्णको दोहोर्याइने प्रवृति जस्तै खरायो, हरायो । यसले कविता वा काव्यमा एउटा लयात्मक मिठास ल्याउँछ । जस्तो कि -:
मेरो सानो खरायो
आज कता हरायो ।
 
मेरो सानो खरायो कता हराएछ भन्ने भावलाई अनुप्रास मिलाउँदा लयात्मक मिठास आएको छ । तुक पनि त्यही हो । जस्तो : भैरब अर्यालको 'महापुरुषको संगत' भन्ने निबन्धको एउटा वाक्य हेरौं -
 
"अस्तीसम्म नालुको जुत्ता लगाएर आलु बेच्न जाने तालु खुइलिएका कालु साहुलाई अहिले ठालु भयो भन्दैमा महापुरुष कसरी भन्नु ? "
 
यसमा प्रयोग भएको नालु, आलु, तालु, कालू सबै तुक मिलेका शब्द हुन् । काव्य वा कविताको हरफमा अन्तिममा प्रयोग हुने भएकाले अन्त्यानुप्रास भनियो । गजल वा मुक्तकमा यस्ता अनुप्रास मिलेका शब्दपछि पनि केही शब्दहरू आउन सक्ने हुँदा त्यसलाई (गजलमा रदिफ भने झैं) के भन्ने विषयमा छलफल हुनु जरुरी छ जस्तो : -
 
बिर्सिदैन कसै गरी, आफूलाई 'दुःखमा टार्ने'लाई
गाह्रै छ सायद भुल्न, आफूलाई 'दुःखमा पार्ने'लाई
घुम्छ जीवन चर्खासरी, बाँचे देखिन्छ घरीघरी
मनमै राख्नू सधैभरी, आफूलाई 'दुःखमा तार्ने'लाई ।
 
यस मुक्तकमा टार्ने, पार्ने र तार्ने अनुप्रास र 'लाई' रदिफ (गजलको भाषामा) हुन् भने 'दु:खमा' लाई के भन्ने सोचनीय हुन सक्छ ।
 
   यसरी मुक्तकमा तुक वा अनुप्रास प्रयोग गर्नका लागि खास किसिमको नियम वा अनुशासन भने हुनु जरुरी हुन्छ । कवितामा जस्तो खुकुलो हुनु उपयुक्त हुँदैन ।
 
मुक्तकमा आक्षरिक मात्रा न्युनतम/अधिकतम जरूरी छ कि छैन ? छ भने कतिकति ?
 
मुक्तकमा वाचन गर्दा लयात्मकता एकरुपताका लागि आक्षरिक मात्रा बराबरी हुनु जरुरी लाग्छ । चार हरफको मुक्तकमा पहिलो हरफमा १० अक्षर दोश्रोमा १५ तेस्रोमा २० अक्षर भयो भने लयात्मक एकरुपता हुँदैन । कतिपय वरिष्ठहरूले १८ देखि २२ अक्षर ठिक्क हुने बताएका छन् । कतिले एकै सासमा पढिसकिने छोटो हुनुपर्छ भनेका छन् । छोटो वा लामो जे भए पनि वाचन गर्दा सहज र बराबरी त हुनैपर्छ । गीतमा ताल बाजाले यसको निर्धारण गरिदिन्छ मुक्तकमा छन्द वा बहरले । नत्र बराबरी नभए वाचनमा समस्या हुन्छ मिठास आउँदैन ।
 
अनुप्रासको पछाडि हरेक हरफमा दोहोरिएर आउने शब्द समुहलाई के भन्ने ?
 
मुक्तक र गजलको संरचना उस्तैउस्तै हुन्छ । गजलको दुइटा शेर (उही विषयका भए मात्र) र मुक्तकका चार हरफको संरचना उस्तै हुन्छ । गजलमा   जसलाई काफिया भनिन्छ मुक्तकमा अनुप्रास र गजलमा जस्लाई रदिफ भनिन्छ मुक्तकमा नामाकरण गरिएको जस्तो लाग्दैन । मुक्तकमा काफिया वा अनुप्रास अगाडि दोहोरिने शब्दको पनि नामाकरण भए जस्तो लाग्दैन जस्तै : -
 
माया पवित्र छँदै थियो, आफै तरक्क तर्क्यौ गाँठे
नहुन रैछ बीच बाटोमा, ल्याई फरक्क फर्क्यौ गाँठे
कति सम्झाएँ भएन भो, मनको धोको गएन भो
साथ छुटेसी फिर्यो बुद्धि, छातीमा चरक्क चर्क्यौ गाँठे !
 
खास विधाका यस्ता प्राविधिक शब्दलाई नामाकरण गरिनुपर्छ र तिनको खास नियम बनाइनुपर्छ । यसो गर्दा मुक्तक लेखनमा एकरुपता आउँछ । पहिलेको मुक्तकमा जस्तो तवरले सिर्जना गरिए पनि तिनैमा टेकेर वर्तमान अवस्थामा आइपुगियो भने तिनलाई गलत भनिनु हुँदैन अबका मुक्तकमा एकरुपता हुनु जरुरी हुन्छ ।
 
अनुप्रास दोहोर्याउन पाइन्न, तर कनिष्ठदेखि वरिष्ठसम्मका धेरैले दोहोर्याएका छन् । यदि दोहोर्यौउन पाइन्छ भने तेहेर्याउन किन नपाइने ?
 
अनुप्रास दोहोर्याउनु उचित होइन तर कतिपयले आलङ्कारिक बनाउनका लागि दोहोर्याउने गरेको देखिन्छ । शब्द उही भए पनि भाव फरक हुन्छ भने दोहोर्याउँदा केही हुँदैन भन्ने तर्क गरिएको हुन्छ यसबारे बहस हुनु जरुरी हुन्छ ।
 
पुराना कतिपय मुक्तककारहरूले तुक/अनुप्रासको सन्दर्भमा वर्ण होइन, स्वरमा ध्यान दिनुपर्छ भन्नुहुन्छ । यदि स्वरमा ध्यान दिने हो भने प्रयोग, वियोग, आयोग वा खुट्टा, बट्टा, जुत्ता वा खायो, लेख्यो, बोल्यो आदि अनुप्रासमा पनि मुक्तक लेख्न पाइन्छ ? के यो सही हो त ?
 
मुक्तकमा चाहिने खासमा ३ वटा अनुप्रास हो । तीनवटा गज्जबका अनुप्रास छाडेर किन यस्ता प्रयोग, आयोग र वियोग जस्ता अनुप्रासमा किन अल्मलिने ? यस्ता अनुप्रासका मुक्तकको भाव पनि सहज हुँदैन जस्तो लाग्छ । मुक्तक त यस्तो होस कि सामान्यले सुने पनि चटक्क मनमा बसोस् न ।
 
अचेल मुक्तक सङ्ग्रह निकाल्न एकप्रकारले होडबाजी नै चलेको देखिन्छ; यसले मुक्तक विधालाई कति फाइदा वा बेफाइदा गरेको छ त ?
 
मुक्तक सङ्ग्रह निकाल्नेहरूको सङ्ख्या बढ्नु खुसीको कुरा हो तर सङ्ग्रहका लागि मात्र सङ्ग्रह हुनु भन्दा स्तरिय मुक्तक होस् एउटै मुक्तकले पनि मनमा तरङ्ग ल्याओस् त्यो मजा हुन्छ । १०/१५ वटा मुक्तक पढ्दा पनि मनमा छुन सकेन भने के गर्ने ? पुरै सङ्ग्रह पढ्न पनि सकिँदैन । त्यस्ता मुक्तकहौ भएको सङ्ग्रहलाई पुरस्कृत गरियो भने विकृति भएन र ?
 
मुक्तकको लोकप्रियता त बढ्दो छ तर गजल, कविता तथा अन्य विधाहरूले पाएको जति सम्मान मुक्तकले नपाएको अनुभूति हुन्छ ? यदि हुन्छ भने यसको दोषी को हो ?
 
मुक्तकको लोकप्रियता बढ्दो छ तर यसलाई अन्य विधामा जस्तो व्यवस्थित, चर्चा, स्तरिय र सबैतिर पुर्याउन सकिएको छैन । मुक्तकलाई अझ प्रबर्द्धन गरिनु जरुरी छ । अहिले धेरैले सामाजिक सञ्जालमा सिरानमा मुक्तक लेखेर पोष्ट गर्दैमा त्यो मुक्तकै हो भनिहाल्न सकिँदैन । यस्तो परिपाटीले गुणस्तरियतामा ह्रास आउन सक्छ ।
 
मुक्तक विधाको समुचित उत्थानको निम्ति के कस्ता कामहरू गर्नुपर्ने देख्नुहुन्छ ?
 
मुक्तकको विधाको समुचित विकासका निमित्त धेरै कुरा गर्न सकिन्छ जस्तो प्रतियोगिता सञ्चालन, मुक्तक विषयका कार्यक्रम, पत्रिका प्रकाशन, पुरस्कार स्थापना, अभियन्ता घोषणा गरेर प्रबर्द्धन, उत्कृष्ट सङ्ग्रह वा सर्जकलाई उच्च प्राथमिकता दिने, साहित्यिक संस्था वा मुक्तक अभियन्ताहरूद्वारा मुक्तक महोत्सव वा अन्य तिनले देखेका अभियान चलाइदिने जे पनि गर्न सकिन्छ ।
 
मुक्तकको बारेमा आफ्नो छोटो तथा प्रष्ट विचार राखिदिनु भएकोमा हार्दिक धन्यवाद छ, यहाँलाई l तपाईंको साहित्यिक यात्रा अझै फराकिलो बनोस् l
गोमविक्रमजीका केही मुक्तकहरू छोडेर क्यानभासको यो ४५औं बैठकबाट विदा चाहन्छु l आगामी बैठकमा एकजना महिला मुक्तककारसँगको कुराकानी लिएर पुन: उपस्थित हुनेछु l  
  यहाँहरूको समूचित प्रतिक्रियाको व्यग्रताका साथ् प्रतीक्षा छ; जय साहित्य !!
 
मुक्तक
नक्कलीको होटलभित्र, बर्बादीको पासो हजुर
खल्ती हलुकै पारे पनि, सबको त्यतै चासो हजुर
साढे सातको दशा जस्तो, मोहनी त्यो नशा कस्तो ?
सबैभन्दा घातक  अझ, त्यही मोरीको हाँसो हजुर ।
 
 
मुक्तक
राजनीति हो  नेपालको, अर्कै देशमा चावी हुन्छ
यो बनाउँछु त्यो बनाउँछु, अनेकानेक दावी हुन्छ
आदर्शका कुरा  हुन्छन्, तर सधै अधुरा हुन्छन्
सिद्धान्तलाई गोली मारी, जहिले 'स्वार्थ' हावी हुन्छ ।
 
मुक्तक
सुनको थालमा  हिरा पस्की, तिमीले पनि खान्नौ होला
कमाएको सम्पत्ति सब, जाँदा कुम्ल्याइ लान्नौ होला
बन्छौ अझ न्यायको मूर्ति, देखाएर धनको फूर्ति
धनमै कसूर लुकाएर, जिउँदै स्वर्ग जान्नौ होला ।
 
 
मुक्तक
शहर पसी साइलीहरू, गाउँबेसी नै भुल्न सक्छन्
साइला पनि विदेशमा, अर्कै रङ्गमा घुल्न सक्छन्
बाआमाको गुन सम्झी, आफ्नै देशको नून सम्झी
गाउँमै माया लाउने कि त, सारा सपना फुल्न सक्छन् ।
 
 
मुक्तक
त्यतिका यात्रु निले पनि, उत्तिकै बली माग्छ अझै
घटना हुँदा थैया कठै, उत्तिकै करुणा जाग्छ अझै
कतिको काल बनिसक्यो, कतिको गाल बनिसक्यो
सिद्धबाबा सडक-खण्ड, एम्बुस जस्तै लाग्छ अझै ।
 
 
मुक्तक
धन्सारमा भएदेखि, नून चलाउन गाह्रो छैन
संसारमा 'नून'ले चले, गुन फलाउन गाह्रो छैन
'गुन'लगाइ चल्न जाने, नीतिनियम छल्न जाने
भन्सारमा जोसुकै हुन, सुन छलाउन गाह्रो छैन ।
 
 
मुक्तक
जबदेखि दुइटा मन,   छुट्टिएर फ्याक्क भयो
यौटा पूर्व अर्को पश्चिम, हरहिसाबै ठ्याक्क भयो
बाटा पनि अलग भए, आशा पनि अलग भए
त्यसपछि त मनको गाँठो, फुकेर झन छ्याक्क भयो ।
 
 
मुक्तक
वनमारा र धँयेरीले,  खेतबारी सब गाँजिँदैछन्
मरे गाउँ फर्किन्न भन्दै,  कतै दुश्मनी साँधिँदैछन्
चर्किन्छ छाती चर्किन नि,बाहना चाहिन्छ फर्किन नि
गाउँबेसीका सुन फल्ने, पाखा सबै बाँझिँदैछन् ।
 
 
मुक्तक
 
पाखे भन्छन् देखाए नि, चिउरा मकै भट्ट अचेल
केटा र केटी चिनिदैन, भेषभुषाले झट्ट अचेल
स्वपहिचान मेटिएला, सङ्ग्रहालयमा नभेटिएला
हराइसके ढिकी जाँतो, ओखल र घट्ट अचेल ।
 
धन्यवाद !
 
(२०८० साल श्रावण १ गते सोमबारको क्यानभास – ४५औं बैठकबाट साभार । 'क्यानभास बैठक' फेसबुकमा प्राकाशन हुनेगरेको थियो । सम्पादक ।)
**********************

images
प्रकाशित मिति :पौष २१, २०८० शनिवार - ०७:४३:०८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend