Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

यस्तो पो रहेछ विदेश ॥ ✍🏻 स्पन्दन विनोद

यस्तो पो रहेछ विदेश ॥ ✍🏻 स्पन्दन विनोद

images
यस्तो पो रहेछ विदेश ॥  ✍🏻 स्पन्दन विनोद

बा’ले तेत्रो विदेश हराउलास् भन्नुभयो। छिमेकीले युरोप अमेरिका पसेपछि हामीलाई बिर्सन्छस् भनेर लख काटे। म ठेट्नोलाई विदेश त्यै चोभारको डाँडापारि त हो जस्तो लाग्थ्यो । हुन पनि थानकोट नकाटेको मलाई प्लेनको बाटो विदेश जाने कुरा कथा नै थियो। धेरैले धेरैथरि कुरा गरे।

विदेश यस्तो विदेश त्यस्तो । सायद जापान, कतार , मलेसिया , कुवेत, इराक, इजरायल, कोरिया, जापान, अष्ट्रेलिया,  युरोप , अमेरिका, अफ्रिका गए जस्तो भारत, चीन, सिंगापुर , थाईलेण्ड या श्रीलंका, बंगलादेश , भुटान, मालदिभ्स गए जस्तो नहुँदो हो ।

त्यसैले कहाँ तिमी कहाँ त्यो तल्लाघरे विर्खेको छोरो भन्थिन् काकी। भर्खरै पोहोर साल विर्खेको छोरो चिजकुमार हवाइजहाज चढेर भारत गएको खुब कथा सुनिन्थ्यो। म युरोप उड्ने भएपछि पुरै गाउँमा दिपावली थियो।

चिनेजानेका जत्ति सबैले मेरो फलानोलाई फोन गर, मेरो फलानोले सहयोग गर्छ, मेरो फलानोलाई यो लग्दे, मेरो फलानोको घर छ त्यही बस्नु, मेरो फलानोले सहयोग गर्छ नडराउनु भन्थे। सबैका कुरा हाल्दै हाल्दा मेरो विदेश जाने लगेज जस्तै मनको झोला फुट्न मात्र बाँकी थियो । 

एकतमासको अनौठोपनको सिरोटो ओडेर दुइ दर्जन आफन्त बोकेर म एयरपोर्ट पुगेँ। आफूलाई कति बेला हवाई जहाज चढ्नु भएको थियो, यता आफन्तलाई नगईदिए हुन्थ्यो जस्तो । हातले जा जा भन्दै आँखाबाट झरना बगाईरहेका थिए।

म उत्तेजित हुँदै अगाडि बढेँ पछाडि फर्केर हेर्दा आँसुका ढिक्का झरेको देख्दा यो बार तोडेर फर्किऊँ जस्तो एकमन नभएको पनि कहाँ हो र ? तर मेरो सपना भर्खरै त टुसाएको थियो। त्यसैले मुटु दह्रो पारेर आफू हल्का भएर हवाई जहाज चढेँ। कता कता डर कता कता उत्तेजना कता कता हर्ष ।

यतिबेला सबै खाले अनुभूतिको समिश्रण थियो। पहिलो पल्ट गणेश हिमाल नाध्न पाएको थिएँ। पहिलो पल्ट राजधानीलाई धरहराभन्दा माथिबाट हेर्न पाएको थिएँ, पहिलो पल्ट चोभारको डाँडा काटेको थिएँ, हेर्दा हेर्दै बादलको कुहिरोमा पौडिएर परदेशको आँगनको पिलपिल बत्ति दृश्यावलोकन गर्न थालेँ।

थोरै डर धेरै रहस्यमयखुसी बोकेर गर्लम्म लण्डनको हिथ्रो विमानस्थल ओर्लिएँ। “आत्था” कति चिसो । उता घाम अस्ताउँदा जहाज चढेको यता पनि अस्ताउँदैछ । अचम्म मानेँ बाँकी समय खै कता हरायो ? तर पनि हावापानीले अँकमाल गरेर स्वागत गरिहाल्यो ।

गाउँकै बलराम अँकलको छोरो यतै आएको थियो, अंकलले फोन गरेर भनेको छु भन्नु भएको थियो। त्यसैले म ढुक्क थिएँ। विमानस्थल बाहिरिने ढोकामै उसले देखेर बोलाईहाल्यो।

 “बिने बिने “ मैले पनि तेत्रो भीडमा रमनलाई देखिहालेँ। उसले एक झुप्पा फूल दिएर झ्याप्पै अँगालो हालेपछि “वाह विदेश आइएछ” भनेजस्तो लाग्यो ।  

नेपालबाट देखेको विदेश, हवाइजहाजबाट कल्पना गरेको विदेश अनि पिलपिल जुनझैँ बत्तिमा चम्किएको विदेश यसरी चिसो विमानस्थालमा आएर रहश्य पर्दार्पण गरिरहेको थियो।

“दाई जाऊँ, यता क्याब पाउँछ ।" भनेर रमनले क्याब भनेर उही हाम्रातिरको ट्याक्सीलाई भनेको रहेछ। क्याबमा चढेपछि बल्ल लण्डन देखियो। पछाडि फर्केर हेरेँ विमानस्थल पनि त खासै फरक रहेनछ। भाईले अगाडि देखायो “यो हाम्रो लण्डन सहर” । म मख्ख परेँ, “वाह कति सुन्दर गगनचुम्बी घरहरू, कति सुन्दर कलात्मक पुल, कति सफा र चिल्ला बाटो ।”

फेरि भाईले भन्यो “दाई यो हाम्रो गाऊँ इस्टहाम।” म मौन भएर एकतमासले बाहिर हेरिरहेँ। एकैक्षणमा क्याब रोकियो भाईले पैसा तिर्यो।

“दाई ओर्लनु यो हाम्रो घर” भन्यो। “ओहो ५०/६० तलाको घर !” मेरो सपनाले ढ्यांग्रो ठोकेको थियो, विपनाको विश्वास नगरेर। भाईले लगेज घिसार्दै ढोकाको कोड थिच्यो र ढोका उघारेर भित्र लग्यो, म पनि पछिपछि लागेँ। त्यत्रो घरको यत्रो लिफ्ट म छक्क परेँ। सायद पहिलो पटक थियो। २ लगेज र २ जना दोस्रो तल्ला बल्ल पुगियो।

“यो हाम्रो फ्ल्याट ।” अलिक कस्तो कस्तो भयो। भित्र गएँ। भाईले भन्यो “दाई यो हाम्रो कोठा ।” यत्रो बिल्डिंगमा यत्रो सुविधा लिएर पनि यत्ति सानो अध्यारो कोठा ? मन बुझाउँदै थिएँ । टुसुक्क बस्न लागेको भाईले भन्यो “दाई वासरुम बाहिर छ, उतै खुट्टा धोएर आउनु ल ? “ मैले वासरुमबाट खुट्टा पखालेर आएँ।

नेपालका घरमा गल्ली पनि यत्ति साँघुरा हुन्नन् होला यता वासरुम रहेछ। छेउमै देखियो किचेन। वारी फ्रिज, टेबल पारी माईक्रो वोभन, चुलो , वासिंग मेसिन लामवद्ध रहेछन्। विचमा सानो गल्ली । “यता दालभात हुन्न दाई दुध र विष्कोट खाने सुत्ने । हामी नेपाली एकछाक भात बेलुका खानुपर्छ दाई। अहिले दुध बिस्कोट खाऊँ बेलुका गुन्द्रुक भात खाउँला है" उसको कुरा म के नकार्न सक्थेँ । हवस् भनेर दुध विस्कोट खाएँ।

'ओहो लण्डन !' भन्दै म कोठातिर लागेँ । 

 

झण्डै भुलेको कोठा त कुनाको पो हाम्रो हो त ! भित्र छिरेँ। वारी २ पारी दुइ तलमाथि दुइतले बेड । यहाँ त बस जस्तै बेड पनि दुइ तले हुने रहेछ । भ-याङ चढेरै जानुपर्ने ।

भाईले भन्यो “दाई ऊ त्यो माथिको हाम्रो बेड। जाऊँ एकछिन आराम गरौँ। “ म माथि चढेँ। ऊ पनि आयो । “दाई अलि पर सर भित्तामा तेरो ठाउँ छेउमा मेरो ।“

जता स-यो उतै उस्तै हुनुपर्ने, साँझ जसरी लड्यो विहान उस्तै उठिने, न फर्किने झंझट न कोल्टो फर्कने चिन्ता न वार न पार बरू बेला बेला तल माथिका वासरुम निस्कदाँ आउँदा हल्लिरहने बेड।

यत्रो विदेशको यत्रो यात्राबाट आएर यत्रो घरको यत्रो बेडमा यत्रो आराम गर्ने ठाउँ त रहेछ विदेश । त्यो नेपालबाट देखेको विदेश र यो भेटेको विदेश । म सोच्दा सोच्दै निदाएछु।

images
प्रकाशित मिति :माघ १, २०८० सोमवार - ०२:५३:१५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend