Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

बिन्दास सरिता ( "विशृङ्खलित सपना" कथासङ्ग्रहबाट )

बिन्दास सरिता ( "विशृङ्खलित सपना" कथासङ्ग्रहबाट )

नेप्लिज डायस्पोरा

१२, पौष २०८१
images
बिन्दास सरिता ( "विशृङ्खलित सपना" कथासङ्ग्रहबाट )

कान्छी श्रीमती भएर पनि सरिता कान्छी बन्ने प्रयासमा थिइनन् । त्यसो त उनी अर्की श्रीमती र भाइ बहिनी भन्न सुहाउने छोराछोरीकी आमाको सौता बन्न गएकी थिइन् । पढलेखा थिइन्, सामान्य खान लाउन पुुग्ने परिवारकी छोरी । शङ्कर र हुमा कि रहर कि छोरी । बुवा, आमा, दाजु सबैले पुल्पुल्याएर हुर्केकी । त्यो पुल्पुल्याइले सानैदेखि सरिता दवङ्ग र हठी थिइन् । मन लागेको कुरा गरेरै छाड्ने, कसैसँग अलिकति पनि नदब्ने स्वभावकी । 

‘मेरी छोरी साक्षात् देवी, स्वर्गकी उर्वशीजस्ती’ । काखमा राखेर शङ्कर सरितालाई सर्लक्कै निलौँला जस्तो माया गर्थे । छोराछोरी आफ्ना राम्रो श्रीमती अरूको भन्ने कहावत । सरिता साँच्चै राम्री थिइन् । सरिताजस्तै कञ्चन पनि । उनको चेहरामा एक प्रकारको चहक थियो । सबैले सरितालाई बेग्लै ठान्थे ।

छिमेकीहरूउनलाई चुलबुले सरिता भन्न रुचाउँथे । उनको चेहरामा चञ्चलता देखिन्थ्यो । उनको स्वभाव र चञ्चलतालाई स्कुले साथीहरू, छरछिमेक, शिक्षक सबैले आआफ्नै तवरले उपयोग गरेका थिए । उनी केटीभन्दा केटा साथीहरूसँग उठबसमा रमाउँथिन् । केटा साथीसँग हात मिलाउने, अँगालो मार्ने, कुस्ती खेल्ने, मुक्का हान्ने, ख्यालठट्टा गर्ने बेग्लै बानी थियो । यसलाई विपरीत लिङ्गीय आकर्षण मात्र भन्न सकिने अवस्था थिएन । म केटोभन्दा के कम भन्ने मनोविज्ञान पनि थियो । केटाहरूबाट हेपिनुहुन्न, पछिल्तिर छुपे रुस्तम हुने केटी साथीहरूजस्तो मुसुमुन्द्रे हुनुहन्न भन्ने भावनाले पनि उनलाई डो¥याएको थियो । पछिल्तिर कुरा काट्नुहुन्न, फ्र्याङ्क हुनुपर्छ भन्ने मनोआग्रह थियो । बेग्लै बन्ने हुटहुटी पनि थियो । 

गृहकार्य गर्दा पनि केटा साथीहरू छलफल गर्ने, टिफिन खान प¥यो भने पनि केटाहरूकै समूहमा रहने सरिताको स्वभाव रञ्जना, जीवना, सरु, विजया, खुनाहरूलाई राम्रो लागेको थिएन । केटी साथीहरूलाई हाइ हलो भनेर केटाहरूसँगै नै नारिएर बस्ने, आफूहरूलाई त्यति महत्त्व नदिएकोमा रञ्जनाहरू भित्रभित्रै मुर्मुरिएका थिए । सायद उनीहरूमा आरिस पनि थियो, ईष्र्या पनि थियो । स्कुलभरिकी रानो थिइन् सरिता । 

एकदिन विजयाले सरितालाई आफूतिर बोलाएर भनिन् – सरिता तँ किन हामीसँग पर पर छस् ?

सरिताको हाजिरी जवाफ थियो– पर कहाँ छु र ? बरु तिमीहरू नै पो पर छौ । पर र वर त मन र व्यवहारले हुने होइन र ?

विजया सम्झाउन थालिन्–ती केटाहरूसंँग मन, पेट खोलेर कुरा गर्नुहुन्न हामी केटीहरूले । मौका पायो कि कमजोरीको फाइदा उठाइहाल्छन् । 

होइन विजया तँ नै भन् न साथीहरूसँग मन पेट नखोलेर के खोलेर कुरा गर्ने ? सबै खोलेपछि न साथी हुन्छ, अनि साथीले कमजोरीको फाइदा उठाउँछन् जस्तो पनि लाग्दैन । साथीलाई सन्देह किन गर्ने ?

हेर्लिस्निएक दिन । अहिले नै सरिता बाइफाले भै भन्ने गाउँटोल फैलिसक्यो । यति राम्रो पढ्छेस् । सबैको माया पाएकी छस् । निकै राम्री छस् । आफूलाई संहालेर राखे हुन्न ? अलि सभ्य र संयमित भए हुन्न र ? हामी अरूको घर जाने जात । बुुझेकी होलिस् नि !

भन्नेले जेसुकै भनून् विजया, त्यो उनीहरूको कुरा हो । तैँले देखेकी छस्, मैले न बाइफाले काम गरेकी छु, न त्यस्तो गर्न नहुने कुनै काम नै गरेकी छुु । समाजमा केटीप्रति हेर्ने नजर, गर्ने व्यवहार नै दोषी छ । केटाहरूभन्दा हामी के कम ? किन हामी केटीहरू मात्र साँघुुरिनु ?

ल उसो भए फैली । कुनै दिन थाहा पाउलिस् । तेरो विवाहसम्म हुन नसक्ला कि भन्ने चिन्ता छ हामीहरूमा । 

ए विवाह ! विवाहका लागि अहिलेदेखि बेहुली बन्नुपर्ने ? शालीन बन्नुपर्ने ? अहिलेदेखि इच्छाको बन्दी हुनुपर्ने ? लागेका कुरा गर्न नहुने ? केटाहरूसँग कुस्ती खेल्न नहुने ? लजाएर, साँघुरिएर बस्नुपर्ने ? जसले जे भनेपनि पचाएर बस्नुपर्ने ? तिमीहरूले खुवै पढेछौ । कसले सिकाउँछ हो तिमीहरूलाई यस्ता कुरा ? पढेपछि अक्षरले थिच्न थालेछ तिमीहरूलाई । पढ्नु, ज्ञान आर्जन गर्नु भनेको फैलिनु हो, पढाइले स्वतन्त्र बन्ने सामथ्र्य र स्वभाव दिनुुपर्छ । निजत्वको आनन्द नपाए किन पढ्नु ? जीवन चिन, बुुझ । विवाह त्यस्तैसँग गर्ने त होला नि !अरूलाई मान्न, श्रीमती बन्न मात्र विवाह गर्ने हो ? तँ आफै सोच । म मस्तीमा छु । मस्तीसँग जिउँछु । नसके बितौला, अजम्मरी को छ र ? जीवनको स्वाद लिन सिक विजया ....। 

सरिता मनमा आए जति फर्रर...र बताउँदै गइन् । सरिताजस्तै सलल्ल्ल बग्दै गइन् । न उनमा ती भनाइप्रति सङ्कोच थियो, न प्रायश्चित्त, न अरूले के भन्लान् भन्ने चिन्ता । बताउँदा बताउँदै कति बताइन् कति । विजयालाई विद्वत्ताको विस्फोटजस्तो लाग्यो होला तर सरिता यथार्थ बताउँदै थिइन्, आफैलाई बताउँदै थिइन् । अरूका लागि ठीक लाग्नु र नलाग्नुले त्यति अर्थ उनलाई राख्दैनथे । आफ्नै स्वभावमा बग्नु सरिताको स्वभाव थियो । उनी निरन्तर बग्दै गइन् । आफूलाई बताउन पाउँदा पनि मानिस बहकिएर बतास बन्छ,आनन्द मान्छ । 

पुलपुलिएकी सरिता अब सानी थिइनन् । सोह्रवर्षे उमेर पार गरेर मनमा वासनाका उत्कण्ठाहरूउम्रने वयमा पुगिसकेकी थिइन् । उनले जे भने पनि, जे गरे पनि जवानीका तरङ्गहरूले उनका ओठ–इन्द्रियहरूमा कब्जा जमाउन थालिसकेका थिए । जैविक प्रक्रियाले स्वाभाविक गति पक्डिने विषयमा उनी जत्तिको बुुझक्कडले नबुुझेको कुरा थिएन । 

जवानीले नारी व्यवहार, पहिरन, सौन्दर्य, सोच सबैमा स्वाभाविक परिवर्तन ल्याउनुपर्ने तर सरिता उस्तै थिइन् । मानौं जैविक संरचना र मनोवैज्ञानिक स्वभावमा कुनै सन्तुलन छैन । 

कलेजमा पुुगेपछिको माहौल बेग्लै देखिन्थ्यो । रञ्जना, विजया, सरुहरू पनि त्यही कलेजमा छन् । फेरि पनि सरिताको पहिरन, साजसज्जा, उमेर अनुरूपको व्यवहारमा परिवर्तन थिएन । स्कर्टको स्थानमात्रसारीले लिएको थियो । सारीमा अग्लिएकी सरितामा सौन्दर्य पनि अग्लिएको थियो ।

साथीहरूका जिस्क्याइमा झनक्क रिसाउने र तत्काल खुसाउने सरिताको बानीले साथीहरू रम्मिन्थे पनि रिसिन्थे पनि । केटाहरूलाई एकको बदला दुुई दिने, प्याच्च पुुच्च भनिरहने सरिताको स्वभाव । उनको उदारपनलाई अर्कै अर्थमा लिएर अर्को कक्षाका जगध्वजले शरीरमा के हात लगाएको मात्र थियो भकाभक मुक्का प्रहार गरेर ढालेकी थिइन् । पछि हात जोडेर माफ मागेपछि भने सबैलाई असल नजरियाले हेर्नुु, नराम्रो व्यवहार नगर्नु भनेर छाडेकी थिइन् । त्यस दिनदेखि सरिता लडाकु पनि छन् भन्ने सन्देश कलेजभरि फैलियो । केटाहरू हम्मेसी जिस्क्यान डराउन थाले । 

फन्किने, ईख लिने, दागा धर्ने स्वभाव नभएकैले सरिता कलेजभरिकै वाहवाहीमा थिइन् । पढाइ भने मध्यममात्र । पढाइमा उम्दा बन्ने उनको प्रयत्न थियो न परिवेश नै । कक्षामा सबै केटाकेटीकी रानो, मौका पायो कि सबैले घेरा हालिहाल्थे । घरकी कान्छी छोरी, लाडप्यारको पउलले जति पढे त्यति पर्याप्त थियो । छरछिमेक सबैको आँखा उनीतिरै जानी नजानी तेर्सिन्थे । फरासिली, मनका कुरा ह्वात्तै बोल्ने, सङ्गतमा सीमा नराख्ने भएकीले काम बेकाममा उनीसँग बोल्नेहरू भइरहन्थे । गाउँ–टोलका दाइ भनाउँदाहरू, साथीहरूअव्यक्त आशयका व्यवहार गर्थे । गाला, नाक, मुख, छाती, पिठ्यूँ, कपाल छोएर कुरा गर्थे । सरिता बेपर्वाह थिएन । कुन आशयले हे¥यो, छोयो भन्ने बुुझ्ने भइसकेकी थिइन्, तर उनी लापर्वाह थिइन् । 

एक दिन हुमा तीजमा कुन सारी लाऊँ भनेर सारी हेर्दै गम्दै थिइन् । मम्मी कहाँ हो  ? अगिनैदेखि खोजिरहेकी, आफूलाई चिया खान कति मन लागको छ । सरिता अलि ठूलो स्वरमा चिच्याउन पुगिन् । 

म यहीँ छु सरु । के भो र ? बेडरुमतिर छु । 

सरिता बेडरुमा गएर आमाको रातो साडी लाउन थालिन् । ‘कति बलेको देखिएकी बाबा तिमी । तिमीलाई रातो सारी कति सुहाएको ?’ 

आमाले त्यति भनेपछि सरितालाई के चाहियो ? सारी लगाएरै बसिन्, कलेज पनि त्यही सारीमा जाने विचार गरिन् । ‘ममी म आज यही सारी लगाएर कलेज जान्छु’ । 

‘रातो सारी पर्वमा लगाउने हो बाबा, विवाह भएकाले लगाउने हो, फेरि तिम्रो कलेजमा त युनिफर्म पनि त छ’ ? हुमाले सम्झाउन त सम्झाइन् तर छोरीको जिद्दी अगि उनी कहाँ टिक्न सक्थिन् । 

रातो सारीमा सजिएकी सरितालाई लक्षण, हरि, माधव, बृषभ, रोचकहरूले घेरा हालिहाले तर खुलेर बोल्न सकेनन्, उनीहरूको बोली लरबराएको थियो । यति मात्र भने ‘हाउ स्वीट सरिता’ । भानुले साहसले नै भन्यो –‘क्या च्वाँख देखिएकी’ । 

केटा साथीहरूएक्लैमा कुरा गर्न चाहन्थे, बोल्न अघि सर्थे तर उनीहरूको बोली लर्खराउँथ्यो । थुक सुक्थ्यो । सरिताले बल्ल थाहा पाइन्, यी केटाहरूको मन सोचेजति सफा रहेनछ । फरर...र्र बोले भइहाल्थ्यो नि ! किन शङ्कालु बनेका ? के लुकाएर बोल्न चाहेका ? मनमा आएका कुरा बोल्न हुँदैन ?

विष्णु सरको आँखा पनि सरितामा निकैबेर रोकिए । मन थामिन सकेन छ क्यार भनिहाले – ‘सरिता तिमी साँच्चै राम्री देखियौ’ ।

के सरले राम्री भन्नुहुन्छ ? म कहिले नराम्री थिएँ र आज राम्री भन्नुभएको ? कपडा र पहिरनले राम्रो बनाएको हो र ? सरिताको मनमा तरङ्गहरूउठ्न थाले । 

अङ्ग्रेजी पढाउने खनाल सरले मन थाम्न सकेन छन् क्यार, भनिहाले – तिम्रो होम टास्कको कपि लिन मलाई भेट है ! चेक गरिसेको छु । केही सजेसन गर्नु छ । 

कक्षा सकिएपछि सरिताका पाइलाहरू खनाल सरको कार्यकक्षतिर अघि बढे । कपि परीक्षण गरिरहेका खनाल सरका आँखाहरू सरिताको आँखा हुँदै छातीमा निकैबेर टाँसिए । सरले बोलाएको आशय सरितालाई झनै प्रष्ट भयो । खनाल सरको मुखबाट शब्द छुटिहाल्यो–‘हाऊ भलप्चिएस, कर्भी एण्ड स्वीट सरिता १’उनी अङ्ग्रेजी पढाउने सर, अङ्ग्रेजीमै भन्न भ्याए । कसो किट्, शेलीका कविता मिसाएनन् । 

कपि लिएर सरिता बाहिरिइन् तर मन अमिलो भयो र वाफले भरियो । मनमनै गम्दै गइन्, यो रातो सारीले मेरा साथी र सरहरूलाई के सेन्सेसन दियो आज ? म भलप्चिएस भएँ ? रङ्ग र सौन्दर्यमा के सम्बन्ध छ ? यो त एउटा बहाना मात्र हो, यी पुरुषहरू अलि राम्री केटी देखेपछि धरातल भुलिहाल्छन्, आफैलाई सम्हाल्न सक्दैनन् । आफ्ना श्रीमती, बहिनी, छोरी छन् भन्ने चाहिँ किन सोच्दैनन् । ती तिखा नजरले कहाँ हेरेका हुन्, कुन कुन अङ्गभित्र पसेका हुन् ? कति पटक दृश्यको स्वाद लिएर घुटुघुटु भए?....

पुरुषहरू जुन उमेर, पेसा र सम्बन्धमा भएपनि हामी केटीलाई हेर्ने नजरमा भने फरक आउँदो रहेनछ । 

म स्वीट, कर्भी र भलप्चियस भएर खनाल सरलाई के फरक ? म राम्री भएर विष्णु सरलाई के फरक ? छोरी समानकी छात्रा । पढाइ र अनुशासन राम्रो भए पुुग्नुपर्ने होइन र ? विद्यार्थीलाई सौन्दर्य वासना हेर्नु, दृश्यको स्वाद लिनुुहुन्छ ? शिक्षक त महान् हुनुुपर्ने १ 

लक्ष्मण, रोचक, माधव, बृषभहरू त सधैँ प्याच्चपुच्च भनिरहन्थे । उनीहरू त बालसखा ।  सरहरूले मादक नजरले मलाई चिथर्नुहुन्नथ्यो । दूषित सोच पनि हिंसा हो ।  

मनमा यस्तै कुरा मडार्दै, उद्वेलित हुँदै, झर्दै सरिता घर पुगिन् । चौबाटोसम्म सधैँसँगै आउने साथीहरू अगिनै गैसेकेका थिए । साथी र सरहरूले भनेका कर्भी, स्वीट र भलप्चिएसको अर्थ खोज्दै सरिता दिक्दार र लखतरान थिइन् । घरसम्मका पाइलाहरू ढिला, उत्साहहीन र जाँगर निख्रिएका थिए । 

घरमा पुुगेपछि पनि मनले नानाथरि सोच्न छाडेन । विज्ञानले कसले कुन आशयले हेरेको छ बताउने प्रविधि दिएको भए कलुषित मनहरूलाई सडकमा पछार्न सकिन्थ्यो । केटाले केटीलाई केटीले केटालाई कसरी हेर्दा रहेछन् नियाल्न सकिन्थ्यो भने समाज कति सुुन्दर, स्वच्छ हुने थियो होला । अरूले बुुझिहाल्छन् भन्ने डरले पनि मानिस संयमित हुनेथिए । स्वयम् अनुशासित हुने थिए । होइन, त्यस्तो प्रविधि विकास भयो भने मानव रहस्य पनि त सकिन्छ नि ! विज्ञान जहाँ छ, ठीक छ । कम्तीमा  नवमानवीकृत हुन त हामीलाई रोकेको छ । आखिर केटाको आशय, नजर हामी त्यत्तिकै बुझिहाल्र्छौ, केटाहरू पनि थोर बहुत हामीलाई बुझिहाल्लान् ।

‘छोरी आज अलि ढिला भएन’ ? हुमा भोकाएकी छोरीलाई खाजा ल्याउन भान्छातिर लाग्छिन् । शङ्कर छोरीलाई सुममुम्याउँदै बालसुलभ माया गर्छन् । सधैँ मायालु र निश्छल हुने सरिता आज भने बुुवासँग पनि शङ्कालु छन् । उनको मनले एउटै निष्कर्ष निकालेको छ, सबै केटा मानिस उस्तै हुन् । सबैको मन र व्यवहार फरक हुने गर्दछ । 

तर आफ्नै मनका तर्कलाई फेरि एकसय असी डिग्री उल्टाउन पुग्छिन्–किन नराम्रो सोच्नु ? राम्रो नराम्रो त सब दृष्टि न हो । आमाबुवालाई पनि त्यही दृष्टिले हेर्नुहन्छ ? मन पनि कति पापी छ्या १

‘सरु, खाजा खाऊ बाबा’ । टेवलमा फापरको रोटी, मेटरको अचार र पानी राखेर हुमा फेरि भान्सातिर लागिन् । घाम डुविसक्यो, विचरालाई बेलुकाको चटारो होला । 

अब सरिता अक्सर रातो साडीमा सजिएर हिँड्न थालिन् । रातो सारीका कारण उनलाई हेर्ने दृष्टिकोण बदलिएको उनलाई थाहा छ । रातो साडी विवाहित नारीको पहिरन हो, सौभाग्यसँग पनि यसको नाता छ । यो थाहा भएर पनि सरिता रातो सारीमा सजिन थालिन् । यही रातो साडीले कर्भी, भलप्चिएस, स्वटीको दर्जा पाएकीले पनि रातोमा सजिन मन जागेको छ । कक्षामा पनि धेरैजसो रातो सारीमै जान थालिन् । युनिफर्म नलाउँदा पनि उनलाई प्रशासन र मनिटरले केही भन्न सकेनन् । रातो सारीले सबैलाई लठ्याएको थियो । 

रातो साडी, लामो कपाल, गहिरा आँखा र सफेद चेहरा, ओठको बायाँतिर सानो सिताराजस्तो कैलो कोठी, छिनेको कम्मर, फुकेको नितम्बको संयोजनले सरिता निकै मादक थिइन् । अरू नजरहरूले उनलाई मादक बनाएको छ, उनको मादकताले कतिलाई मूर्छा बनाएको छ । हेर्नेले हेरून्, च्याउनेले च्याऊन्, हिम्मत गर्नेले कुरा गरून्उनलाई कत्ति पनि फिक्री छैन, तर उनको ढिठता भने उर्लिदै गयो । कक्षा, कलेज परिवेशमा जानी नजानी सरिताको रातो साडी, लामो कपाल र बिन्दासबेपर्वाह व्यवहार वरिपरि घुम्न थाल्यो । उनका केटी साथीहरू सरिताको रूप, राप र व्यवहारको आरिस गर्न, आलोचना गर्न थालेका थिए । नारी मनोविज्ञानले अर्की नारीको चरित्रमाथि आलोचना गर्न सजिलो मान्छ, अर्काको सुन्दरतामा ईख राख्छ । अरूको प्रेमलाई आफ्नो मानसिक तुष्टिसँग साँध्न पुुग्छ । विजयाहरूको व्यवहारमा त्यही झल्को पाइन्थ्यो । सरिताको प्रशंसा वरिपरि झुम्मिने केटाहरू, सरितातिर तेर्सिएका नजरहरूले पनि विजयाहरूको मनमा उथलपुुथल ल्याउँथ्यो  र ईष्र्या र आरिसले किन ‘चाउरिस् मरिच आफ्नो पीरले’मा पुुग्थिन् ।     

केटा साथीहरू भने सरितालाई आफूप्रति आकर्षित गर्न तम्सिन्थे । सरिता अर्कोतिर नजिक भएको आशङ्कमा पछिल्तिर आलोचना गरी मनोतुष्टि लिन्थे । सके सरितालाई आफ्नै बनाऊँ, नसके अर्कोको हुन नदिऊँ भन्ने मनोप्रतिस्पर्धामा हुन्थे केटाहरू। 

शिक्षकहरू न सिरतालाई आफ्नो बनाउन सक्थे, न उपयोग गर्न । गेली आर्टको रूपमा मनमा सजाएर दृश्य स्वाद पिउँदै चित्त बुुझाउँथे । उनको होम टास्कका अक्षरमा पनि मादकताको स्वाद पिउँथे । 

सरिताको कारण कलेजको मनोविज्ञान त्रिकोणात्मक भुतभुुतीमा थियो । सरिताको रातो सारीमा छोपिएर एकसाथ तीनै कोणमा धावा बोलिरहेकी थिइन् । सरिता नै कलेजकी पर्याय बनेकी थिइन् । 

हुमा र शङ्कर भने छोरी सरिताका लागि सुहाउँदो केटो खोज्ने तरखरमा थिए । छोरीको अगि खासै कुरा राख्न सकेका थिएनन् । दाजुको नजरमा बहिनी आँखाकी नानी थिइन्, बालखै थिइन्, नराम्रो नजरमा हेरेको थाहा पाए मात्र मुख भत्काइदिन्थे । 

एकदिन कलेज जाने क्रममा सरिताका आँखा वकिल सापसँग जुध्न पुुग्छ । कैयनपटक देखे पनि वकिल सापको आँखा सरितासँग ठ्याम्म ठोकिएका थिएनन्, न सरिताले त्यसरी नै याद गरेकी थिइन् । झन्डै आफ्ना बुुवा समानका वकिल सापलाई याद गर्नु जरुरी पनि थिएन ।  

अर्घाखाँचीमा वकिल सापको फर्म राम्रै चलेको थियो । दुुई बच्चाका पिता मेनकाका पति वकिल साप सान–सम्पत्तिमा पनि राम्रै हैसियत राख्थे । आँखा जुध्नु सरिताका लागि सामान्य थियो । दिनदिनै दर्जर्नौ आँखाले उनलाई बाटो छेक्ने गर्थे । चोक, चौबाटो, कलेज, घर आँगन जतासुकै सरिताका लागि आँखा छ्यापछ्याप्ती बिछिन्थे । बाटो छेक्ने एकजोडी आँखा थपिँदा सरितालाई के असर पथ्र्यो र ? तर वकिल सापको मनमा भने कडा विद्युतीय झड्का पैदा गरेको थियो । सरिताले पनि जुधेका आँखा केहीबेर झारेकी थिइनन्, वकिल सापका आँखा त्यत्तिकै लठ्ठिन पुुगेका थिए । यो बूढोले किन छा्ेड्दै नछोडेर हे¥यो भन्ने प्रश्न सरितामा उठको थियो । कुनै भाउ भने उनले दिएकी होइनन् ।

कलेज आउजाउ गर्ने बाटोमा अब दैनिक आँखा चार हुन थाले । दोहोरिएका दृश्यहरू सरिताको मनमा केही गड्न थाले । मनमनै सोच्न थालिन्–छिप्पिएको उमेर भएपनि वकिल सापको शरीर र व्यक्तित्व बलियो छ । उनी जिल्लाभरिका सेलिब्रेटी हुन् ।

माया र सम्मोहनको उमेर हुँदैन । मादक र भलप्चियस सरितालाई दिनहुुँजस्तो जुध्ने आँखाले अव्यक्त सम्मोहनतर्फ तान्दै थियो । एक दिन वकिल सापले बोल्ने हिम्मत गरिहाले – सरिता किन हतार गरेको ? बाइकमा कलेज पुु¥याइदिन्छु नि, बस । 

हैन, हतारिएकी छैन । किन त्यस्तो लाग्यो । 

वकिल सापलाई बोल्ने बहानाको खाँचो थियो, जुन कुरा सरितालाई राम्ररी थाहा थियो । वकिल सापको दैनिकी बदलिएको अनुमान पनि उनले गरेकी थिइन् । सरिताको बिन्दास बेपर्वाह व्यवहारबाट वकिल साप पनि पूरै जानकार भइसकेका थिए । 

वकिल सापको मनमा एउट द्वन्द्व, अतिरेक र आसक्ति मडारिरहेको थियो । यति सुन्दर, मादक र वासनावेगलाई छोड्नुहुन्न । सरिताको मादकताको आगोले आफैलाई त खाँदैन ? सुन्दर घरजम र मेनकाको मायाको अवस्था के होला ? तर उनी आफै निष्कर्षमा थिएनन् कि यो आकर्षण हो कि प्रेम ?

कलेजबाट फर्किने क्रममा सरितालाई एक्लै मौका पारी वकिल सापले प्रस्ताव गरे – सँगै कफी खाऊँ न सरिता । 

किन ? मेरा बाबा ममी कतिखेर छोरी आउली भनेर आँखा तानेर बाटोभरि दृष्टि बिछ्याउँदै हुुनुहोला, मैले तपाईंसँग किन कफी खाने ?

हैन मैले कफीको प्रस्ताव गरेर अपराध नै गरेँ र ?

अपराध कसले भनेको छ ? फुर्सद पनि छैन, मन पनि छैन...। तपाईं वकिल सापहरूसबै कुरालाई अपराधकै दफाबाट हेर्नुहन्छ । मन नै त्यस्तै भएपछि....।

बाइक स्टार्ट गरेका वकिल सापको आग्रह सरिताले टार्न सकिनन् कि के भो? पत्तै नपाई बाइकमा बस्न पुगिन् । आफ्नो ल फर्ममा पुु¥याएर वकिल सापले कफी, बिस्कुट खुुवाएरै छाडे । के कफी खानु ? यो त एउटा बहाना थियो । उनले सरितालाई बुुझे, पिए र प्रभाव पार्ने काम गरे । सरिताको मन पेट पाएपछि एक्कासि अँगालोमा कस्दै मायाको प्रस्ताव राखे । निकै अधीर भएर प्रस्ताव राखे । त्यो आलिङ्गन र अनुरोधमा न स्वीकृति थियो न प्रतिरोध । 

अब सरिता केही गम्भीर बनिन् । वकिल सापका विषयमा नानाथरी कुरा खेलाउन थालिन् । ‘वकिल साप राम्रै मानिस हो नि ! धनी छन्, मौजा छ, समाजमा इज्जत पनि छ । उनको मायाको प्रस्ताव स्विकार्दा के फरक पर्ला ? बाबा ममीलाई सोधूँ ? आ सोधेर केही फाइदा छैन । सोधेपछि उहाँहरूले भनेको मान्नुपर्छ, केही दिन हेरौँ न !’

‘जे मन चढ्यो, त्यो गर्नुपर्छ । प्रत्येक अवसरहरूएकदमै छोटो समयका लागि आउँछन्, समय र गति पक्डिएन भने त्यत्तिकै त्यसले छोडेर जान्छ र कहिल्यै भेट्टाउन सकिँदैन । खुसी हुनु, रमाउनु, मनमा लागेको कुरा गर्नु नै जीवन हो । अमूल्य जीवन खुम्चिएर, सोचेर, तौलेर, बुुझेर मोज गर्ने होइन । खुसी नै जीवन हो । खुसी नै सबै रोगको औषधि हो । ससाना खुसीमा रमाएर अरू खुसी लिन जान्नुपर्छ । म जे गर्छु ठीकै गर्छु ।’ सरिता मनमनै उराल्लिएकी छन् । 

वकिल सापले कान्छी बनाएपछि पनि शिरफूलजस्तै शिरमा स्यूरेर हिँडे हुने नि! जेठी र कान्छीको मामिलामा हामी सबैको दैनिकी बबाल भयो भने ? मेनकाले स्विकार्लिन्? नारी मनोविज्ञानले कान्छी हुन आएकी सौतालाई पक्कै स्विकार्दैन । नस्विकारे के फरक ? वकिल साप जस्तो स्मार्ट, वलिष्ठ, परिपक्व, इज्जतिलो व्यक्तिले मलाई काखमा राखेर, बाइकमा हुुँइक्याएर, भनेजस्तै माया दिएर आलिङ्गनमा राखिहाल्लान् । त्योभन्दा बढी के चाहियो ? त्यसो भनेर हुन्छ ? आफ्नै उमेरका मानिससँग पो माया, व्यवहारको समान अनुुभूति पाइन्छ । पन्ध्रौँवर्षउमेर नमिल्नेसँग जीवन मिल्छ ? टाउको जुरुङ्ग हल्लाउँदै छाँगाबाट खसेजस्तै ट्वाल्ल परिन् । 

सरिताको भावातिरेक दिन प्रतिदिन बढ्दै छ । कक्षामा उपस्थिति नियमित छ तर शरीरमात्रको । साथीहरूसँग गफिने र रम्मिने क्रममा पनि कमी छ । साथीहरू परीक्षाका तयारीमा जुटेका छन्, सरिता निरुद्देश्यमा छिन् ।

चोक, कलेज जतासुुकै हल्ला फैलियो सरिता वकिल सापसँग भागिछन् । परीक्षाका मुखैमा भागिछन् । महिनाजति पर्खेकी भए पनि परीक्षा त सकिन्थ्यो । वकिल सापले आफ्नै बाइकमा उनलाई सुपादेउरालीमा पुु¥याएर सिउँदो रङ्गाइदिएछन् । अब सरिता वकिल सापकी कान्छी बनिन् । 

सरिता घर त भित्रिइन् तर न सियाली छ, न स्वागत । न रौनक न चहल पहल । विवाहका दिन सबै महिलाका लागि विशेष हुन्छ । छुट्टै रहस्य हुन्छतर मुर्दा शान्तिको चकमन्नता । पहिलो रात पतिदेवसँग अविस्मरणीय बनाउने सपना पनि पूरा भएन । मादकता र जवानीले भर्भराउँदी सरिता पतिको काखभरि सजिएर मायाको निख्खर स्वाद लिन चाहन्थिन् । आलिङ्गनमा बाँधिएर पुुरुषत्वबाट चेपिन चाहन्थिन् । मनको उभारमा आगोको लप्का थप्न चाहन्थिन् । विचरा वकिल सापका गहना, सारी, चुुरा, पोतेको बाक्साले सरिताको मनको उभारलाई कुनै अर्थ राखेन । 

‘मनको बाँध सम्याउन, आगो छोप्न मलाई वकिल सापको वलिष्ठ अँगालो चाहिन्छ । उहाँको पुरुषले सम्हाल्न, निल्न र चिथोरचाथर गर्नुुपर्छ । यो पहिलो रात .....। सरिता तैँले ठीक गरिनस् ।आफैलाई बर्बाद गरिस् ।’ 

निदाइसकेका वकिल सापको चेहरा नियाल्दै सरिता कता कता पुगिन् । मन बाँध भत्किएको खोला झैँ अनियन्त्रित थियो । 

सरितालाई सौताको चिन्ता छैन । आफ्नै इच्छाहरू अस्रल्ल भएकोमा चिन्ता छ । इच्छाहरू सेलाएका छैनन्, ओइरिएर र उर्लिएर आइरहेका छन् । फक्रक्क फक्रेको फूलमा पनि रसास्वादन गर्न आउने मौरीलाई आफैमा कारापकुुरूप पार्ने साहस रहन्छ, तर सरिता आफैमा रन्फनिएकी छन् । रातो सारीभित्र छोपिएको गर्विलो मन, निस्सार परिवेश र अगिल्तिरको वकिल साप ...। सरिताको जीवनले अर्को मोड खोज्न जरुरी मान्यो । 

भावनाको मायाले मात्र वकिल सापको कर्तव्य पूरा भयो र ? राम्रा कपडा, मीठो खाना र मीठो मायामात्र मजस्ता विवाहित यौवनालाई पर्याप्त छन् ? के उद्देश्यले मलाई कान्छी बनाएर भित्र्याउनुभएको होला ? अँगालोभरिकी श्रीमती त मेनका नै थिइन् । मलाई जस्तै मेनका दिदीलाई पनि मनको मायामात्र दिनुुभएको थियो ? के पुरुषत्व निख्रे्रर मलाई यसो गर्नुभएको हो ? मभित्रको आगो ताप्नसक्ने हिम्मत त हुनुुपथ्र्यो नि ? मेरो सिँउदो किन रङ्गाउनुभएको ?

सरिता मन उर्लिएको छ, बतासिएको छ र बेस्सरी वाफिएको छ तर बताउने साथी पनि कोही छैन । बताएर फाइदा पनि छैन । आमाबुुवा दाजुलाई बताऊँ ? के फाइदा, उहाँहरूको सल्लाहमा वकिल सापसँग भागेकी हो र ? आफ्नो निर्णयको भार अरूलाई किन दिनुु ? आफ्नो पीडा आफन्तलाई किन दिनुु ? आफैले आफूलाई सम्हाल्नुपर्छ । 

वकिल साप सदरमुकाम गएपछि सरिता पनि कान्छी बनेर सँगै गइन् । ल फर्मको माथि साना दुुई कोठा र भान्छासहितको फ्ल्याट । दराज, टिभी, फूलदान, बुकसेल्फ, मुलायाम बिछ्यौना सबै निस्सार, खोक्रा, निरस । दृश्यहरू मनसापेक्ष्य हुन्छन् । सरिता रमाउन सकेकी छैनन्, तर वकिल सापलाई कुनै चिन्ता छैन । उनकै दैनिकीमा खासै परिवर्तन छैन । सायद जवान, मादक, सुन्दर कान्छी पाएकोमा रड्ड छन् । रातो साडीमा सजिएकी सरिता हेर्दैमा मख्ख छन् । 

सरिता मनमनै गम्छिन् –सबै पुरुषहरू यस्तै लाछी, निर्दयी र फोस्रा हुन्छन् ?अरूको जीवन बर्बाद पार्न अधिकार उनीहरूलाई कसले दिएको होला ? मैले के भन्ने, बुुझ्न त उहाँले पर्ने हो । ..बताएर पनि के फाइदा ?

सडकमा सुटमा सजिएर कालो लेदर ब्याग समाउँदै गफिएका वकिल सापलाई मानसचित्रमा ल्याएर करापकुरूप पार्न खोज्छिन् । टोक्न, चपाउन खोज्छिन् । फेरि यथार्थमा झर्छिन्–यो कल्पना, विम्बको आसक्ति के काम । वकिल सापका मायालु शब्द, मीठा खाना, मुलायाम बिछ्यौना, मधुर सङ््गीतले सरिताको मनलाई कत्ति पनि छुँदैन । बजारमा खासखुस सुनिएका बूढो पोइकी कान्छी शब्दहरूले मुटुसम्म घोच्न थाल्छ । 

बजारमा खनाल सरले भनिहाले–‘कन्ग्राचुलेसन सरिता । आर यु ह्याप्पी ?’

सर सबैथोक राम्रो छ । सरहरू आरामै हो नि ? त्यहाँभन्दा बढी बोल्ने न सरितासँग शब्द थिए, न चाहना । 

सरिता खनाल सरको शब्दभित्र पस्न थाल्छिन् । उनका कन्ग्राचुलेसनमा पनि साँचै कन्ग्राचुलेसन छैन । त्यो मनदेखिको कन्ग्राचुलेसन होइन, बधाई त मनबाट दिनुुपर्छ । खनाल सरको कन्ग्राचुलेसनमा मनदेखिको ईष्र्या छ । ‘आर यूह्याप्पी’ ईष्र्या मिश्रित व्यङ्ग्य हो । श्रीमान्सँग असन्तोष भएका श्रीमतीसँग लहसिएर आफ्नो र अरूको जिन्दगी बर्बाद गर्न पुरुषहरू खप्पिस हुन्छन् । आखिर उनैसँग आउजाउ लम्याएको भए पनि पाउने वकिल सापभन्दा बढी के हुुने थियो र ? ...उमेर र जवानी निख्रिएका कक्षा ......कक्षामा पढाउँदा आफ्नै शिष्यप्रति विकृत भावना राख्दै आफैमा चाउरिएका खनाल सर । छि नारी सौन्दर्य र भावनालाई सम्मान गर्न, बुुझ्न नसक्ने पुरुषहरू । 

सरिता नारी सत्ताप्रति पनि दिक्दार छिन् । आफ्नै सौन्दर्य र जवानीलाई पजुल्याउन नसक्ने नारीहरू पनि कमजोर छन् । पुरुषलाई मात्र दोष दिएर हुन्छ ?

आफ्नो रहन सहन, हिडाइ बोलाइमा कत्ति पनि फरक नदेखाउने सिद्धान्तमा सरिता अडिग छन् । मृत्युसम्म हाँस्दै रहनुपर्छ भन्ने सिद्धान्तबाट उनी डगमग छैनन् । अदम्य साहस छ । पहिरन, शृङ्गार बदलिएका छैनन्, बढेका छन् । धपक्कै बलेकिछन् । बजारमा उनलाई देख्दा पुरुष आँखाहरूले बाटो छेकेकै छन्, पुरुष स्वरहरू लरबराएका छन् । कसले कुन आशय बोले–हेरेको छ उनलाई राम्ररी थाहा छ । यसले पनि उनको जीवनको सिद्धान्तलाई ऊर्जा दिएको छ ।

एक दिन श्रीमान्सँग सरिताले सल्लाह गरिन्–हजूर दिनभरि अड्डा अदालत । दिन बिताउने पनि कसरी ? खाएर मात्र के दिन बिताऊँ ? स्थानीय विकास मन्त्रालको आयोजनाले खरिदार मागेको रहेछ । आवेदन दिन्छु । छानिए जागिर खान्छु, नभए पढेर महिला विकास वा निजामती सेवामा तयारी गर्छु । ढिलो चाँडो पास कसो नभइएला ?

वकिल सापलाई यो सल्लाहभन्दा पनि जानकारी जस्तो लाग्यो । सरिताको कुरा मन परेको छैन । उनको जिद्दीको अगि टिक्ने आँट पनि छैन । मात्र यति भने –हुन्छ त म के भनूँ । 

केही समयपछि अस्थाई जागिर पनि भयो । स्थानीय विकास मन्त्रालयको विकासे खरिदार । 

अब सरिताको जीवनको अर्को मोड सुरु हुन्छ । अर्घाखाँची, कपिलवस्तु अर्घाखाँची हुँदै अबको दिनचर्या काठमाडौं श्रीमहलतिर पुुग्छ । 

जागिरको क्रममा स्थानीय विकास मन्त्रालयमा प्रवेश गर्छिन् । श्रीमहलको पुरानो घर । ठूला ढुुङु्गे बरण्डा, पिपल उम्रिएका कौसी, वडेमाका पिलरहरू, ओसिलो सिलिङ र भुुइँ, जीर्ण झ्यालमा दर्जनौं परेवा जोडीहरूको घुुर्रर्र, घुर्रर्र । यो अजङ्गको घरसँग वकिल सापको विम्ब ल्याउन पुग्छिन्, ‘बाहिरबाट हेर्दा भव्य तर भित्रभित्रै धोत्रिएको’ ।

बलराम सरको सहायकका रूपमा जिम्मेवारी पाइन् । आफ्ना पिता शङ्करजस्तै सरल स्वभावका धनी बलराम सर । उमेर पनि उस्तै, व्यवहार पनि उस्तै । माया गर्ने, काम सिकाउने । लामो समय सिडियो बनेर जिल्ला चलाएका बलराम सर सबैका प्रिय । कसैलाई भनी नबिजाउने उनको खारिएको व्यवहारबाट पूरै मन्त्रालय परिचित थियो । जिल्ला जिल्लामा तालिम र क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने बलराम सरको जिम्मेवारी थियो । मुलुकमा भर्खरै लोकतन्त्र आएकोले जनप्रतिनिधि र कर्मचारीलाई तालिमको दर्कार थियो । 

सरिता काममा अलमलिन थालिन् । काममा व्यस्त रहँदा आफैलाई भुल्न थालिन्, कामले केही रमाइलो पनि दिएको छ । खुसी भनेको आफू भुल्नु त र छ नि ! दुुई चार चिठी चलानी, दर्ता, पत्र मस्यौदा, टाइप, फाइलिङले मात्र उनलाई के काम पुुग्थ्यो ?

सरिता शाखामा आएपछि बलराम सरको कोठामा आउजाउको चहलपहल बढ्न थाल्यो । त्यो चहलपहलको कारण कामभन्दा पनि सरिताको आकर्षणले थियो । चिया, खाजा, मिटिङ्हरू बढ्दै थिए । वकिल सापजस्तै अधबैंसेै हाकिमहरू कुनै बहानामा सरितासँग झ्याम्मिन्थे । सरिता रमाउँथिन्, बूढाहरूको मनोविज्ञानको केस्राकेस्रा कलाउँथिन् । उनलाई थाहा थियो दृश्यको स्वाद लिन उनीहरू माहिर छन् । बुुढाहरूको काम दृश्यको स्वाद पिउनु हो, अरू के पो गर्न सक्थे र ?

मन्त्रालयको उठबस, परिवेश, चिया, खानपिन र डेरा–अफिसको यात्राले सरितालाई व्यस्त बनाएको थियो । घर, माइती, साथीहरू सबैलाई भुलेकी थिइन् । भनौं आफैलाई भुल्दै थिइन् । उनको सिद्धान्त अनुसार जीवन नबिते पनि ससाना खुसीबाट जीवन अघि बढ्न थाल्यो । जुन परिवेशमा पनि रमाउने बेपर्वाह बिन्दास शैलीले पनि खुसी हुन सिकाएको छ ।

क्षमता विकासको तालिम पाँच विकास क्षेत्रमा गर्ने मन्त्रालयको निर्णयपछि बलराम सरको नेतृत्वको टोली पहिला धनुुषा पुुग्यो । त्यसपछि कलवलगुडी, धनकुटा, पोखरा र सुर्खेतका कार्यक्रमहरू छन् । सरिता पनि बलराम सरको लजिष्टिक सहयोगी भएर धनुुषा पुगिन् । 

धनुुषा त्यसै उधुम गर्मी ठाउँ । भदौको उखरमाउलो गर्मीमा मुुझेलियाको तालिम केन्द्रमा रहनुपर्ने । दिनभरिको रापिलो घाम, रातपरेपछि बत्ती गइरहन्छ, बत्ती गएपछि पङ््खा पनि चल्दैन । लामखुट्टेको बिगबिगी त्यत्तिकै छ । सरितालाई भने यसको पर्वाह थिएन । नयाँ ठाउँ, नयाँ सङ्गत । स्थानीय निकायका पदाधिकारीको भीड । त्यस भीडमा रातो साडीमा सजिएकी सरितामा गएर सबैका आँखा ठोक्किन्थे । पुरुष सहभागीहरूउनका वरिपरि हुन्थे, उनी पनि पुरुषलाई नै प्राथमिकतामा राख्थिन् । 

राती मनोरञ्जनका लागि सिनेमा हेर्ने कार्यक्रम तय भयो । सहभागीहरूले दरीमा बसेर हिन्दी सिनेमाको भिडियो हेर्नुपर्ने । विकासे अन्तर्राष्ट्रिय संस्थाबाट सेसन लिन आएका विनोद र सरितासँगै परेछन् । सिनेमा आधाआधी भएपछि सरिता र विनोद अचानक गायव भए । कसैलाई के वास्ता ? सबै फिल्ममा मुुग्ध थिए ।

विनोद र सरिता सत्कार होटेलतिर पुुगेछन् । विनोदले सरिताको मनको आगो निभाउने काम गरेछन् । त्यसपछिका लगातार तीन दिन सरिता विनोदसँग खुवै रमाउन पुगिन्, शिव मिष्ठान्न भण्डारको मलाइदार लस्सी, जानकी मन्दिर, विवाह मण्डप, ढल्केवरको सेकुवा पसल, जलेश्वरको समोसा चाट, ज्ञानकूप मन्दिरको फूलमयवातावरणले यो जोडीलाई आआफ्नै तवरले स्वागत ग¥यो । वेलाबखत बलराम सर सरिताको खोजी त गर्थे तर उनीसँगै सोधेर घुम्न गएको सम्झिहाल्थे । 

आखिर विनोद पनि वकिल सापकै उमेरको । उसमा चाँहि साहस कसरी आएको होला ? सरिता आफ्नै स्मृतिलाई तानेर उमेर र इच्छाको सम्बन्ध खोज्न थालिन् । सबै पुरुष उस्ता हुुँदा रहेनछन् भन्ने निष्कर्ष निकाल्न थालिन् । 

तालिम कार्यक्रम सकियो । सरिता फर्किने इरादामा थिइनन् । विनोद काठमाडौं फर्किसकेका थिए । बलराम सर पनि अर्को दिन फर्किने क्रममा थिए । सरिता जिल्ला विकास सूर्ती विकास, चुुरोट कारखाना, खानेपानी, कर कार्यालयहरूमा चिनेजानेका सहभागी भेट्ने रुटिनमा रहिन् । माइती, बलराम सर, वकिल साप कसैले पनि उनलाई खोजी गरेनन् । उनको दिमागमा केवल विनोदको आकृति घुमिरहन्थ्यो, मनमा उनैसँगका अनुुभूूति थिए । यस्तै जोदाहा बलिया पुुरुषहरूले नारीलाई संरक्षण गरेका हुन् । विवाह मण्डपको रामकथा मनभरि ल्याइन् । सीताले रामलाई त्यसै अपनाएकी हुन् र ?

अर्को हप्ता कलबल गुढीमा कार्यक्रम थियो । सरिता पनि बस चढेर ढल्के, गोलजार, रूपनी, इटहरी, दमक हुँदै कलबलगुडी पुगिन् । उनका आँखा भने विनोदलाई खोजिरहेका थिए । उनलाई थाहा छ विकास साझेदारका तर्फबाट विनोद सेसन सञ्चालन गर्न सबै क्षेत्रमा जान्छन् । यहाँ पनि पक्कै आउँछन् । 

केही महिनापछि एकदिन श्रीमहल क्यान्टिनमा एउटा अस्पष्ट खवर फैलियो–विचरा सरिता बितिन् रे ! क्यान्टिन सञ्चालकलाई थाहा थियो ।उनकै कारण खाजा खानेको ओरियो लाग्थ्यो । उनको फरासिलो स्वभावलाई अन्तर्राष्ट्रिय गैससले पनि फ्रण्ट डेस्कको जिम्मेवारीमा उपयोग गर्ने प्रस्ताव गरेको थियो तर आफूलाई आशा र आश्रय दिने श्रीमहलको पुरानो घरलाई उनले धोका दिन मानिन् । 

क्यान्टिनमा कुरा चल्दैथियो जीवनको पूरै स्वाद लिएर, बिन्दास बेपर्वाहमा जीवन बिताएर उनी अस्ताइन् । 

एउटा दह्रिलो पुुरुष संरक्षक पाएको भए सरिताको जीवन कति सुन्दर र स्वादिलो हुुने थियो । वकिल सापले सरितालाई बर्वाद पारे, अपराध गरे । 

बलराम सर पनि सोध्दै थिए–आत्महत्या गर्लिन् जस्ती त थिइनन् । सुुसाइडल नोटहरू केही रहेछ ? मलाई त आफ्नै छोरी बितेजस्तो भो । 

अच्युत सर भन्दै थिए–महिलालाई चाहिने संरक्षण र सहयोग हो । श्रीमान्ले आफ्नो दृष्टिबाट नियन्त्रणबाट फुक्कमफाल छोड्नुुहुन्थ्यो ? भर्भराउँदो जीवन बर्बाद भो ।

वकिल सापले उनको मृत्युमा खासै चासो राखेनन् रे !

श्रीमहल शोकमा छ । सबैका अनुहार निन्याउरा छन् । बुढो श्रीमहल ह्याँ गरेर ठिङ्ग उभिएको छ 

 

-गोपी मैनाली  

 

images
प्रकाशित मिति :पौष १२, २०८१ शुक्रवार - २०:२३:०१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend