Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

एलिना र बिष्णु ‘बी स्ट्रङ्ग बोथ !‘ -लक्ष्मी के.सी महर्जन

एलिना र बिष्णु ‘बी स्ट्रङ्ग बोथ !‘ -लक्ष्मी के.सी महर्जन

नेप्लिज डायस्पोरा

२, फाल्गुण २०८१
images
एलिना र बिष्णु  ‘बी स्ट्रङ्ग बोथ !‘ -लक्ष्मी के.सी महर्जन

छोरी मान्छेहरु मानसिक, भावनात्मक र आर्थिक रुपमा बलियो हुन सकेसम्म जरुरी रहन्छ। तर कहिलेकाही जति बलियो हुन्छु भन्दापनि टुटिन्छ, फुटिन्छ, च्यातिन्छ। समालिन सक्नुपर्छ। आज एलिनाको जीवनमा पनि यस्तै यस्तै भएको छ। सामाजिक सञ्जाल स्क्रोल गर्नासाथ यत्र तत्र सर्वत्र उनकै समाचारहरु देखिएको छ।

जो कसैले तपाई हाम्रो लागि ढोका बन्द गर्छ भने उसलाई पनि महसुस गराउन सक्नुपर्छ ताकि चुकुल दुवैतर्फ हुन्छ भनेर। "तिमी कसैको लागि इम्पोर्टेन्ट हैनौं भने तिम्रो लागि पनि ऊ इम्पोर्टेन्ट हैन" भन्ने सकेसम्म स्वयम् व्यक्तिलाई महसुस हुदैन तबसम्म सहने नाउँमा नतिजा यदाकदा बाहेक दुःखदायी नै रहिरहेका घटना विदितै छन्। कसैको पनि भाग्य गलत हुदैन। कहिलेकाही भरोसा गलत मान्छे, गलत समयसंग भयो भन्ने थाहा पाउनासाथ मुभ अन हुनसक्यो भने अरु थप कुनै पनि कुरा गुमाउनु पर्दैन। तर आफूमा दृढता राख्न चुक्नु हुँदैन।

 

फलाम काट्न फलाम नै चाहिन्छ। तिमीले जस्तो निर्णय गर्ने छोरी मान्छे निकै कम हुनुहुन्छ। बरु बन्धक बन्ने बाध्यताको पगरीको घुम्टो निकाल्ने जोखिम उठाउन कुनै पनि हालतमा सक्नुहुन्न। तर तिमीहरुको छुट्टिने निर्णय पीडक अथवा पीडित, आवेग अथवा बाध्यता अथवा अपरिपक्वता तिमीहरुलाई नै थाहा होला। कहिल्यै पनि कमी कमजोरी र बादबिवाद एकजनाको मात्र हुँदैन। दुवैतर्फ धेरै कसको थोरै कसको गल्ती भन्ने हुन्छ नै। त्यसको साक्षी तिमीहरु आफै हौ।

 

कतिपय व्यक्तिहरुको आनीबानी यतिसम्म हुन्छ कि आफूले सहनै नसक्ने अनि अरुले चाहि सहनुपर्छ, झेल्नुपर्छ भन्ने तर आफू एक प्रतिशत पनि सहनशीलता नराख्ने। यस्तो मानसिकता बोकेका महिला होस् या पुरुष समयमै पहिचान गर्नु आफ्नो लागि न्यायपूर्ण हुन्छ।

हेर तिमी पनि सहन सक्ने जति सहयौ। अब सहन सक्दिनँ, म बोल्छु भनेर जब हिम्मत गर्यौ त्यसको म प्रशंसक हुँ। यहाँ धेरै छोरी मान्छे सहनै नसक्ने अन्तिम अवस्थामा जब बोल्न थाल्छन् तब मारिने कन्डिसनमा पुगेका धेरै केसेसहरु छन्। जोखिम उठाउँदै जाँदा कतै तिमी अथवा तिम्रो श्रीमान् पनि यस्तैमा पो पर्दथ्यौ कि सायद पिता पुर्खाहरुले यस्ता कुरा दीर्घकाल देखेको हुनाले गर्भमा छोरी पहिचान हुनासाथ तुहाउँथे कि क्या हो यो मेरो मात्र आकलन हो।

 

कतिपय दिदीबहिनीहरु आफूलाई बिर्सेर अरुको चाहनामा बाँच्ने गर्नुहुन्छ। घर परिवार, आफन्त, माइती, मावली, छरछिमेकले के भन्लान् भन्ने डर र इज्जतमै आफू र आफ्नो खुसी सबै धितो राखेर वर्षौंपछि डिप्रेसनको भागीदार बनेको परिदृश्य यथावत नै छन्।

लगन पछिको पोतेको अर्थ नै थिएन र हुँदैन पनि। भेटियो जीवनको यात्रामा छुटियो। हिरा र किरा छुटाउन नसक्ने जो कोही छोरा मान्छे होस् या छोरी मान्छे त्यस्तोको औकात पहिचान हुनासाथ सचेत रहनु पक्कै आफ्नो लागि न्यायपूर्ण हुने गर्छ। एकअर्कासँग बदला लिने लडाइँ, झगडा, तत मम, बादबिवाद, गाली बेइज्जती गर्दै बदला लिनुभन्दा पनि तिमीहरु बदलिएर देखाएका छौ । यो तिमीहरुको निकै राम्रो मनस्थिति मैले महसुस गरेको छु। यो यथावत राख।

 

यति मात्रै जानेको छु सत्यले दुःख पाउँछ तर हार्दैन। हुँदा महत्व ठान्नु भएन अथवा ठानेनौ। एकअर्कालाई गुमाइसकेपछि बहुमहत्व ठानेर अब आफ्नो दिल दिमागलाई बोझिलो बनाउँदै एकअर्कालाई लक्षित गरेर लेख्ने बोल्ने गर्दा अरुले मूल्याङ्कन गर्ने ठाउँ पाउँछन्। त्यो तिमीहरुलाई नै थाहा होला। अब जे हुनु नहुनु सकियो। रिग्रेटभन्दा पनि यसलाई जीवनको एक पाटोमा थन्काउनु। कहिलेकाहीं जिन्दगीमा कमा लाग्छ, अप एण्ड डाउन हुन्छ तर फुलिस्टप लाग्न नदिनु। हामी जन्मिन मन लागेर जन्मेका पनि होइनौं र मर्न मन नलागेर बाँचिरहने पनि होइनौं। सबै समयको खेल हो। बुझ्यो भने अपरम्पार छ।

 

जिन्दगीमा सधैं सही निर्णय गरिन्छ भन्ने पनि छैन। कहिलेकाहीं गलत निर्णय पनि गर्न सकिन्छ। त्यसबाट पनि धेरै कुरा सिक्न सकिन्छ। सम्बन्ध टुङ्गिएको हो, जीवन हैन। अब कुनै दिन तिमीहरुको यात्रामा यस्तो मान्छे एकअर्काको लाइफमा आयो गयो सपना हो या बिपना भन्ने हुन्छ। यसलाई इरेज नगर, जतन गरेर राख। यो सबैको जीवनमा हुँदैन।

तिमीहरु परिवर्तित हुनु समयको माग थियो भन्ने मैले बुझेको छु। प्रतिकूल परिस्थितिको आवश्यकता भविष्यले निर्धारण गर्छ। फेरि जीवनको राप र तापमा सत्य तथ्य मान्छेहरु कहिल्यै विरासत हुनु हुँदैन। पुसमाघमा त्यही घाम कति प्यारो हुन्छ भने चैत बैसाखमा त्यही घामले पोल्छ। हरेक कुराका दुई पाटो हुन्छन्। मन मिल्दा मेला भएका कुरा मन नमिल्दा झमेला भए सहज स्वीकार्नु बाहेक विकल्प रहँदैन।

 

"तिमी अथवा तपाईसँग बस्दिन, तपाईको र मेरो अगाडिको यात्रा सम्भव छैन" भन्दाभन्दै कति सम्बन्ध वर्षौं पौंठेजोरीमै बितेका छन्। चाहनाले मात्र मुक्ति सम्भव हुँदैनथ्यो। त्यसका लागि जोखिम मोल्नु पर्थ्यो, हिम्मत गर्नु पर्थ्यो। एलिना तिमी तयार भयौ। अब आफू आफैलाई कन्भिन्स गर्ने तागत पनि तिमीमा अथाह पक्कै छ। आफूमा गर्व गर। अजिङ्गरको आहारा दैवले जुराउँछ।

अर्को कुरा भावनामा बगेर हर कोही नारी पुरुषले मृत्युको जुवा नखेलौं। जसलाई चाहिनेभन्दा बढी विश्वास र भरोसा राख्छौ, ज्यू ज्यू गर्छौ उसैले ज्यानै लिईदिन्छ। यसको मतलब मृत्यु मात्र भन्न खोजेको हैन। जसको व्यवहारले बाचुञ्जेल तड्पाई रहन्छ र न देखाउन मिल्ने न लेखाउन मिल्ने अदृश्य चोट दिईरहन्छ ।त्यो पनि एक प्रकारको जिउँदो मृत्यु नै हो।

सबभन्दा ठुलो कुरा खुसी हो। तिमीहरु एकअर्का वैवाहिक जीवनमा खुसी हुन सकेनौ। परम्परागत सीमाहरु जुन अंश मुद्दा, मानाचवल, आधा सम्पत्ति आफूले पाउनु पर्ने अधिकार भित्रको सबै चल अचल कुनै पनि निर्णयमा जाने चाहना राखेनौ रे यो तिम्रो महानता हो। नाथे भौतिक/आर्थिक कुरा तपसिलका विषय हुन्। आफ्नो खुसी जलाएर के को हिसाब किताब चाहियो? सक्षम छौ। रात रहे अग्राठ पलाउँछ। समयमै मुभ अन हुने इच्छा जाहेर गर्यौ। अब अरु नयाँ सुरुवात गर्नु।

 

रबर तन्किने वस्तु हो भन्दैमा जति पनि तन्काउन त सकिदैन नि। समय आएपछि तन्काई धेरै भयो भने नचाहादा नचाहादै आफै चुडिहाल्छ। राती रोएर सुत्नु र बिहान रोएको आभास कसैलाई नगराउनु तिम्रो जिन्दगीले सिकाएको एक महत्वपूर्ण र अमूल्य अनुभव हो। यसलाई आमरण सँगाली राख। दोबाटोमा भेटिन्छ, चौबाटोमा छुट्टिन्छ केही फरक पर्दैन। यस्तै हो। कतिको भोगाइले आँखामा आँसु आउँछ, कतिको भोगाईले प्रेरणा र ऊर्जा दिन्छ। तर तिम्रो हिम्मतले पक्कै धेरैलाई आंट दिएको छ।

 

अङ्कगणितमा तिमीहरूको चिना मिल्यो होला, विचार मिलेन। वास्तविक माया गरेको मान्छे रुन आउँछ। तिमीहरू रुनु स्वाभाविक पनि छ। माया लाग्छ त के गर्ने? पाउनु मात्रै माया होइन, गुमाउनु पनि माया हो। हिजो एकअर्कासँगै रुन्थ्यौ, बुझे पनि नबुझे पनि, अब तिमीहरू एक्लै रुन्छौ। यो केही क्षणको लागि हो। यो क्षण स्थिर रहँदैन, टरेर जानेछ। अनि यति बलियो भएर दौड्न सक्ने गरी उठ्छौ यो शाश्वत सत्य हो। मेन्टल हेल्थ (मानसिक स्वास्थ्य) चानचुन कुरा होइन। पीडामा यसलाई बचाई राख्नु तिमीहरूले सम्हाल्नुपर्ने वर्तमानलाई हो। हिजो बितिसक्यो, भोलिको दिन कसले देखेको छ र?

अचानोलाई थाहा हुन्छ होला खुकुरीको चोट... किनकि तिमीहरूका पर्सनल के के कुरामा असमझदारी रहे होलान्, त्यो श्रीमान् श्रीमतीलाई मात्र थाहा छ। हामीले त आंकलन मात्र गर्ने हो। अर्को कुरा एलिना, सचेत र सजग हदैसम्म रहनु। अब झन् तिमीलाई झुक्काउने व्यक्ति पाइला पाइलामा भेटिनेछन्। अनि तिम्रो लागि मछुनी भन्ने पनि धेरै हुनेछन्। तर साँच्चिकै पर्दा कोही हुँदैन। बरु परिआएको खण्डमा "म छुनी" भन्नेले नै हिड्न नमिल्ने गरी ढुङ्गा बिछ्याईदिएर "म तेरै हुँ" भन्ने भ्रम छर्नेछन्।

भगवानले हामी सबैलाई हिरा बनाउनु भएको छ। फरक यत्ति हो जो घोटिन्छ उही चम्किन्छ। तिमीहरू दुवैजना जो जहाँ भएता पनि खुसी र हेल्दी भएर कर्म गर्नु। आआफूलाई समालेर बलियो रहनु। आगामी यात्राको शुभकामना दुवै जनालाई। मेहनत मनदेखि गर्नुहोस्। समयले भेटाउँछ, परिस्थिति ले छुटाउँछ। 

 

कतै सुनेको थिएँ, कहिलेकाही मनका झ्याल ढोकाहरू खुल्लै छोडिदिनुपर्छ रे, किनकि जान चाहनेहरू सहजै जान सकून् र आउन चाहनेहरू सहजै आउन सकून्। अनि "म के हुँ, कस्तो हुँ र कस्तो हुनुपर्छ" भन्ने तिमीहरू आफैलाई चिनेको छौ र मुभ अन हुने निर्णय गर्यौ होला। अब आआफूलाई कस्तो बनाउने त्यो पनि तिमीहरूकै हातमा छ। वास्तवमा छोरी होस् या छोरा मान्छेले कुनै पनि सहानुभूति पाउनको लागि मर्नुपर्ने समाजमा छौं। तिमीहरू त्यो जोनमा छैनौं सुरक्षित तवरबाटै सम्बन्ध टुङ्गिएको छ। यसमा गर्व गर्नु। दुवैजनाले अथाह शक्ति र दृढता राख्नु। कसैले तिमीहरूको भोलि किन्न नसकोस्। हतोत्साहित नहुनु, मन सानो नगर्नु। मेरो शुभकामना छ। 

स्टे स्ट्रङ्ग ! 

बी स्ट्रङ्ग बोथ!

 

लक्ष्मी के.सी महर्जन 

टोकियो जापान

images
प्रकाशित मिति :फाल्गुण २, २०८१ शुक्रवार - २०:००:३३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend