Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

निकै ठूलो हुन्छ त्यो अचेल! -आर. बी. निश्चल

निकै ठूलो हुन्छ त्यो अचेल! -आर. बी. निश्चल

नेप्लिज डायस्पोरा

२५, जेठ २०८२
images
निकै ठूलो हुन्छ त्यो अचेल!  -आर. बी. निश्चल

त्यो चितुवा कामीको नाति

हर्कुडाँडा भक्तेको छोरो रामेले 

अलिकति के पढेथ्यो

निकै ठूलो हुन्छ त्यो अचेल

 

हामीसँग बाटोमा भेट हुँदा 

बाटो छोडेर तलतिर लाग्दैन

उसलाई खेतारा बोलाउँदा

आफूले अर्नी खाएको भाँडा आफै माझ्दैन

 

स्कुल अनि मन्दिरमा 

भूँइमा अलग्गै राखिदिएको टिका लगाउन्न भन्छ

उसलाई अलग्गै पातमा दिएको प्रसाद खान्न भन्छ

पूजा गर्न मन्दिरभित्रै जान्छु भन्छ 

अलग्गै बस्दिनँ तपाइँहरूसँगै बसेर खान्छु भन्छ

धेरै मात्तिएको छ त्यो अचेल

हाम्रो धर्म मास्ने भयो यसले

 

सार्वजनिक धारोमा 

भर्न छोडिएका हाम्रा गाग्री भरिएपछि 

हाम्रा भाँडा सार्न हामीलाई बोलाउन्न त्यसले 

बरु, हाम्रा आँखा छ्लेर, गाग्री आफै अलि पर सारिदिएर 

त्यसले आफ्ना भाँडा भर्छ 

र, हतारहतार आफ्नो घरतिर दौडिन्छ

कुन दिन रङ्गे हात भेट्छौँ

र, हाम्रै  कुटपिटबाट त्यो मर्छ 

अचेल,  निकै ठूलो हुन्छ त्यो!

 

बाउले फलाम पिट्यो तैँले पनि पिट् भन्दा

मरिगए फलाम पिट्दिनँ बरु पढ्छु भन्छ

बाउले हाम्रो हलो जोत्यो

अब तैँले पनि हाम्रो हलो जोत् भन्दा

मरिगए नि तिम्रा हला जोत्दिन भन्छ

तँ ठूलो न हो है ! सानो जातको केटो 

तैँले पढेर के पो  गर्छस् भन्दा

परे न्याएको निम्ति लड्छु पो भन्छ

 

कहिले हजुरबुबासँग बालुवा कुटेर 

त कहिले बिहान आधी मेलो गरेर पनि 

भोकभोकै त्यो स्कुल जान्छ

स्कुल जाँदा, घर आउँदा पनि पढ्दै हिँड्छ

कति न पढैया भएको?

हेरौँ न !  पढेर त्यसले  केके न गर्दो रहेछ!

 

राती १/२ बजेसम्म पढेर बस्छ

घरीघरी  मुरली बजाएर हामीलाई डिस्टर्ब गर्च

बिहान उठेर  गोबर- सोत्तर गरेर, एक भारी घाँस काटेर 

हतारहतार फेरि पढ्दै / घोक्दै स्कुल जान्छ

खोई! भविष्यमा  त्यसले केके न बन्छु भन्ने ठान्छ?

 

+++

जात ढाँटेर उच्च जातको घरमा भाडामा बस्यो 

घरबेटीले त्यसको जात थाहा पाएर कोठाबाट निकाली दिए

३/४ ठाउँबाट डेराबाट निकालिँदा पनि पढ्न  छोडेन त्यसले

मान्छे त साँच्चिकै जब्बर रहेछ

अझ कविता पो लेख्छ रे त्यसले!

 

बिहान क्याम्पसबाट फर्केपछि 

दिनभर पुस्तक पसलमा बसेर केके पढिरहन्छ रे

अचेल त अझ एउटा निजि स्कुलमा पढाउँछ रे

एकछिन पढाएर के गर्नु?

आखिरमा आफ्नै बाउसँग इण्डिया भासिने त होला त्यो

अरूका जुठा भाँडा माझ्न!

+++

अहो!  हेर्दाहेर्दै डिग्री पास गर्यो

पढेकी  सुन्दर केटी बिहे गर्यो 

अझ जागीर पनि सरकारी खायो

स्वास्नीलाई पनि पढाएर जागिर ख्वायो

अहिले त झन् हेडमास्टर भएको छ रे

पार्ट टाइम क्याम्पस पनि पढाउँछ रे

थुप्रै किताब लेखेर पुरस्कार पाएको छ रे

हामीलाई त मान्छे नै गन्दैन

भूँइमै खुट्टा छैन त्यसको

निकै ठूलो हुन्छ त्यो अचेल!

images
प्रकाशित मिति :जेठ २५, २०८२ शनिवार - २१:३८:१३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend