" बाबा !, मलाई क्याम्पस भर्ना गरिदिनुस् है ! म पढ्न चाहन्छु । " छोरीले नजिकै गएर भनी ।
" तँ छोरी भएर किन पढ्न पर्यो ? अर्काको घर जाने जात, पर्दैन पढ्न ।" उनले झर्किँदै उत्तर दिए ।
बाबाको कडा शब्दले छोरीका आँखाबाट बलिन्द्र धारा आँसु झरे ।
" किन रोएकी, म छु नि ! जसरी भए पनि तँलाई पढाउँछु, चिन्ता नगर न छोरी ! " आमाले विश्वास दिलाउँदै भनिन् ।
छोरीको भविष्यमाथी चिन्तित थिइन् उनी । जन्मेदेखि नै श्रीमानले छोरीलाई हेला गरेका थिए । छोरीको बारेमा कुनै पनि चिन्ता र चासो थिएन, उनलाई ।
जागिर नखाए पनि पढे लेखेकी थिइन्, उनी । आफू शिक्षित हुनाले छोरीलाई पनि पढाउनुपर्छ भन्ने सोच र महत्त्वाकांक्षा थिए उनमा । त्यसैले पनि उस्तै अन्याय र उत्पीडनका सपनाहरू देखिरहन्थिन् ।
श्रीमान भने धनको घमण्डले मात्तिएका थिए ।
जसोतसो पैसाको व्यवस्था मिलाएर केही दिनपछि छोरीलाई क्याम्पसमा भर्ना गराएकी थिइन् ।
बाबाको कठोर शब्द अनि आमाको दु:ख, पिडा र संघर्षलाई नजिकबाट नियालेकी छोरीले कडा मेहनतपछि सरकारी कोटाबाट छात्रवृत्तिमा एम.बि.बि.एस.मा नाम निकालेकी थिई ।
प्राय: घर बाहिरै दिन बिताउने लोग्नेले घर आए पनि रक्सी खाने, कुटपिट गर्ने र घरमा अशान्ति मच्चाउनेभन्दा अरु केही काम थिएन ।
एक दिन अचानक बेहोस उनी भएर ढले । हतारहतार श्रीमतीले अस्पताल पुर्याइन् ।
प्रेसर र सुगर बढेर होस गुमेका उनको अलि समयपछि मात्र होस खुल्यो । आँखा खुल्दा झोलाभरी औषधी बोकेर सेतो कोट (एप्रोन) मा आफ्नै छोरीलाई देखेर उनी छक्क परे । लाजले शिर झुकाए र छोरीसँग माफी मागे ।
" छोरी पढाउने यत्रो खर्च कसरी जुटाइस् नि ? " उनले श्रीमतीतिर फर्केर नम्र हुँदै सोधे ।
" बल्ल खर्च सोध्ने बुद्धि पलायो ? " उनले खर्चको श्रोत बताइन् । आमाको महानता अकल्पनीय थियो । सुनेर छोरीका आँखा रसाएका थिए, भने श्रीमान लज्जित बनेका थिए ।
वास्तवमा आफ्नो प्रमाण-पत्र भाडामा लगाएर उनले खर्चको बन्दोबस्त गरेकी थिइन् ।
- भक्तपुर ।