नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारहरूको सहयोगार्थ पाल्पाली संगम अमेरिकाले संकलन गरेको नेपाली रुपैयाँ १५ लाख डलासस्थित नेपाली कन्सुलेट कार्यालयमार्फत नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ।
राहत संकलन अभियानमा अमेरिकामा रहेका मनकारी पाल्पालीहरू तथा अन्य शुभेच्छुक साथीहरूको उल्लेखनीय योगदान रहेको थियो। विपद्को यस दुःखद घडीमा मातृभूमिका पीडित नागरिकहरूलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानलाई सफल बनाउन पाल्पाली संगमका अध्यक्ष डा. धर्म आचार्य, सल्लाहकार यादव खनाल, सचिव सुशील पंगेनी, कोषाध्यक्ष अर्जुन पौडेल तथा पाल्पाली संगम टेक्सासका अध्यक्ष शिव काफ्लेको विशेष सक्रियता र समन्वय रहेको थियो।
डलासस्थित नेपाली कन्सुलेट कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा नेत्र पाण्डे, डा. सन्दीप पाण्डे, यादव खनाल, कुल विश्वकर्मा, बाबुराम देवकोटा, निकेश पोखरेल, शिव काफ्ले र अर्जुन पौडेल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा कन्सुलेट सुरेश अधिकारी तथा डेपुटी कन्सुल प्रविन भट्टराईले विपद्को यस दुःखद घडीमा मातृभूमिका पीडितहरूका लागि सहयोग जुटाई राहत कोषमा योगदान पुर्याएकोमा पाल्पाली संगम अमेरिका तथा सम्पूर्ण सहयोगी दाताहरूप्रति आभार व्यक्त गर्नुभयो।
पाल्पाली संगम टेक्सासका अध्यक्ष शिव काफ्लेले राहत अभियानमा सहयोग गर्ने सम्पूर्ण दाताहरूलाई धन्यवाद दिँदै, “दुःख–सुखमा सबै एकजुट भएर मातृभूमि र आफ्ना दाजुभाइ–दिदीबहिनीको साथमा उभिन पाउनु नै हाम्रो लागि ठूलो सन्तोषको विषय हो,” भन्नुभयो।
त्यसैगरी, पाल्पाली संगम अमेरिकाका कोषाध्यक्ष अर्जुन पौडेलले राहत सहयोग हस्तान्तरणका लागि समय र कार्यक्रमको अवसर प्रदान गरेकोमा नेपाली कन्सुलेट कार्यालय तथा सम्पूर्ण पदाधिकारीहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले राहत अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबै दाता तथा शुभेच्छुकहरूप्रति आभार प्रकट गर्नुभयो।

वि.सं. २०३२ सालमा काठमाडौंमा स्थापना भएको पाल्पाली संगमले पाँच दशकभन्दा लामो समयदेखि पाल्पालीहरूलाई एकताबद्ध गर्दै सामाजिक, सांस्कृतिक तथा भेटघाटका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। दुःख–सुखमा एकअर्काको साथमा उभिने तथा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यका साथ संगमले नेपाल तथा विदेशमा रहेका पाल्पाली समुदायलाई जोड्ने कार्य गर्दै आएको छ।
यस राहत अभियानले विपद्को समयमा “जहाँ भए पनि मातृभूमिका लागि एकजुट” हुने पाल्पाली समुदायको भावना र सामाजिक उत्तरदायित्वलाई थप उजागर गरेको छ।