राम ज्ञवाली
(रिब्दीकाेट ४, पाल्पा)
आँसु पनि सकिने रहेछ। मान्छेको आँखामा समुद्र अटाएको हुन्छ भन्थे, तर रसुवाको त्यो कालो बिहानीले सिकायो— आँखाको समुद्र पनि एकदिन सुक्दो रहेछ। बग्ने आँसु सकिएला, तर मनभित्रको पीडा? त्यो त झन् गहिरिएर बस्छ, चट्टान बनेर युगौँसम्म पोलिरहन्छ।
भदौ १०, २०८३ सालको दिन अब कहिले कसले बिर्सन सक्ला र? भोग्ने र देख्ने दुवैलाई झस्काएको छ यो घटनाले। मर्माहत बनाएको छ यो पलले। आँसुको समुद्र बग्यो, पीडाको बाढी वर्षियो। हरियाली प्रकृति र मानव जीवन मरुभूमिमा रुपान्तरित भएको र भाैतिक संरचनाहरू खण्डहरमा परिणत भएकाे त्याे अवस्था बिर्सन कसले सक्ला र ?
त्यो दिन हिमाली काखमा आकाश रिसाएको थियो। झरी परेको त थिएन, तर रसुवा खोला, त्रिशूली र भोटेकोशी— जसलाई हामीले जीवनभर आमाको दूधजस्तै मीठो मानेर पियौँ, जसको कलकलमा हाम्रा पुस्ताले लोरी सुने— तिनै नदी एकाएक बैरी बने। पहाडले थाम्न नसकेर पहिरो खस्यो। हिमताल फुट्यो कि बादल फाट्यो, कसैले देखेन। एकाएक एउटा गडगडाहट आयो। त्यो आवाज पानीको थिएन, यमराजको हुङ्कार थियो।
बाढीको महाप्रलयकारी विपत्ति आयो। एउटा घर मात्र होइन, एउटा गाउँ मात्र होइन, धेरै इतिहासहरू नै बगे। टिमुरेको त्यो सानो चिया पसल— जहाँ बिहानै तातो रोटी पाक्थ्यो, जहाँ तिब्बतबाट सामान ल्याउने व्यापारीहरू चिया खाँदै थकाइ मेट्थे। स्याफ्रुबेँसीको त्यो झोलुङ्गे पुल— जहाँ उभिएर प्रेमीहरू फोटो खिच्थे। रसुवागढीको भन्सार— जहाँ हजारौँ सपनाहरू आयात-निर्यात हुन्थे। एकैछिनमा सबै खरानी भयो, पानी भयो। ढुङ्गा, मुढा, रुख, घर र मान्छे— सबैलाई एउटै लयमा नाचाउँदै त्रिशूलीले आफ्नो विशाल आन्द्रामा निल्दै लगी।
बिहान भयो। बिहानीले कहिल्यै यति धेरै लाश देखेको थिएन। खोलाले किनारमा ओकलेर फालेका शवहरू— कोही उत्तानो परेका, कोही घोप्टो परेका। एउटी आमाले आफ्नो दुई महिने शिशुलाई छातीमा कस्सेर समातेकै अवस्थामा प्राण त्यागेकी थिइन्। आमा त मरिन्, तर उनको अङ्गालो मरेन। त्यो दृश्यले ढुङ्गालाई पनि रुवाउँछ। एकजना बा आफ्नो घरको धुरी समातेर रातभर चिच्याइरहे— "बुढिया! कोही छौ कि? मेरो छोरालाई बचाऊ..."। बिहान उद्धारकर्मी पुग्दा धुरी मात्र थियो, बा थिएनन्। छोरा त अघि नै बगिसकेको थियो।
रसुवामा त्यसदिन कोही रोएनन्। किन रोऊन् पनि? आँसु त राति नै बगेर खोलासँगै बगिसकेको थियो। मान्छेहरू शून्य आँखाले आफ्नो घर भएको ठाउँतिर हेरिरहेका थिए। त्यहाँ घर थिएन, एउटा ठूलो चौर थियो— भर्खरै खनिएको चिहान जस्तो। एकजना ८० वर्षकी हजुरआमा ढुङ्गामा बसेर खोलातिर हेरिरहनुभएको थियो। मैले सोधेँ, "हजुरआमा, के हेर्नुभएको?" उहाँले भन्नुभयो, "मेरो ५० वर्षको कमाइ हेर्दैछु बाबु, त्यही खोलाले लग्यो।" उहाँको स्वरमा आँसु थिएन, एउटा अनन्त शून्य थियो। यही त हो पीडा सकिएपछि बाँकी रहने चीज।
यो बाढीले के मात्र बगाएन र? मान्छे मात्र बगाएन, मान्छेको पहिचान बगायो। नागरिकता बग्यो, लालपुर्जा बग्यो, दुलहीले बिहेमा पाएको पोते बग्यो, बाबुले छोरालाई विदेश पठाउन राखेको ऋणको कागज बग्यो। एउटा मान्छे जब आफ्नो पहिचान नै गुमाउँछ, उ के हुन्छ? उ एउटा जीवित लाश हुन्छ। सरकार भन्छ— नाम लेखाऊ। के नाम लेखाउने? जसको घर नै छैन, उसको ठेगाना के लेख्ने?
सबैभन्दा कारुणिक त बालबालिकाको कथा छ। विद्यालय बग्यो। जहाँ हिजोसम्म "क, ख, ग" गुञ्जिन्थ्यो, त्यहाँ आज हिलो मात्र छ। एउटी सानी नानीले बाढीपछि आफ्नो झोला भेटिछन्। झोलाभित्र कापी थियो, कापीमा गृहकार्य थियो— "मेरो घर" शीर्षकमा निबन्ध लेख्नुपर्ने। उनले लेखेकी थिइन्, "मेरो घर धेरै राम्रो छ। मेरो घरमा आमा, बुबा र म बस्छौँ।" शिक्षकले त्यो कापी हेरेर घण्टौँसम्म रोइरहे। अब त्यो नानीको घर छैन, आमा छैनन्, बुबा छैनन्। केवल कापी बाँकी छ।
रसुवाको पीडा किन ठूलो छ भने, रसुवा सधैँ नेपालको आँखाको टिलपिलाइ हो। त्यो चीनसँग जोड्ने नाका हो, लाङटाङको प्रवेशद्वार हो, तामाङ संस्कृतिको मुटु हो। जब रसुवा रुन्छ, सिङ्गो नेपाल रुन्छ। तर रसुवाको रुवाइ सुन्ने कोही छैन। काठमाडौँमा समाचार बन्छ— "रसुवामा बाढी, सयौँ जनाको मृत्यु।" केवल सङ्ख्या मात्र। तर त्यो सङ्ख्याभित्र कति मीठा सपनाहरू थिए, कति हजार अधुरा प्रेमकथाहरू थिए, कसलाई थाहा? समाचारको 'ब्रेकिङ' सकिन्छ, हाम्रा पीडा भने 'ब्रेक' हुँदैनन्।
आज महिना बित्न लागिसक्यो। पानी घटेको छ, खोला फेरि शान्त देखिन्छ। मान्छेहरू फेरि टहरा बनाएर बसेका छन्। तर के साँच्चै सबै सामान्य भएको छ? छैन। राति जब खोला कलकल गर्छ, आमाहरू झस्किन्छन्। बच्चा कराउँदा लाग्छ, फेरि बाढी आयो कि? जसले आफ्नो आँखाअगाडि आफ्नै सन्तान बगेको देखेको छ, उसलाई कसरी निद्रा लाग्छ? उसका लागि त हरेक रात महाप्रलयकै रात हो।
यो बाढीले हामीलाई एउटा गम्भीर तर सत्य प्रश्न सोधेको छ— हामी को हौँ? हामीले हिमाललाई जितेको ठानेका थियौँ, सडक खनेका थियौँ, डोजर लगाएर पहाड चिरेका थियौँ, खोलालाई साँघुरो बनाएर त्यसको छातीमा घर बनाएका थियौँ। हामीलाई लागेको थियो, प्रकृति हाम्रो दासी हो। तर एकै रातमा प्रकृतिले देखाइदिई— "तिमी पाहुना हौ, म मालिक हुँ। तिमीले मेरो छातीमा टेकेर बनाएका महलहरू म एकै सासमा उडाइदिन सक्छु।" हामी कति साना रहेछौँ! मान्छेको अहङ्कार कति सानो रहेछ, एउटा बाढीको अगाडि!
आँसु त सकिए, साँच्चै सकिए। अब आँखाबाट पानी आउँदैन, अब त छातीबाट धुवाँ निस्कन्छ। एउटा यस्तो धुवाँ, जसले भित्रभित्रै पोल्छ, तर बाहिर कसैले देख्दैन। यही त हो वियोगान्त। आफ्नो मान्छे, आफ्नो माटो र आफ्नो अस्तित्वसँगको वियोग। यो वियोगको कुनै अन्त्य छैन।
अन्त्यमा, रसुवाको यो कथाले हामीलाई के सिकाउँछ? यसले सिकाउँछ कि— जीवन भनेको बालुवामा लेखिएको अक्षर रहेछ। जति गाढा लेखे पनि एउटा छालले मेटाइदिन्छ। त्यसैले घमण्ड नगर। आज तिम्रो घर अग्लो छ, भोलि त्यो खोलाको गहिराइमा हुन सक्छ। आज तिमी हाँस्दैछौ, भोलि तिमी रुने ठाउँ पनि नहुन सक्छ।
तर यसले अर्को कुरा पनि सिकाउँछ— मान्छे कति बलियो हुँदो रहेछ! सबै बगिसक्दा पनि, आँसु सकिसक्दा पनि, उ फेरि एउटा ढुङ्गा उठाउँछ र भन्छ— "यहीँबाट फेरि घर बनाउँछु।" रसुवाका ती हजुरआमा, ती टुहुरा बालबालिका, ती विधवा आमाहरू— उनीहरू नै हाम्रा दर्शन हुन्। उनीहरू नै प्रमाण हुन् कि पीडा बाँकी रहे पनि जीवन बाँकी रहन्छ; आँसु सकिए पनि आशा बाँकी रहन्छ।
त्यसैले रसुवा आज रोएको छैन, रसुवा गुम्सिएको छ। त्यो गुम्सिएको पीडा हिमालभन्दा ठूलो छ, त्रिशूलीभन्दा गहिरो छ। र त्यो पीडालाई शब्दमा उतार्न कुनै शब्दकोश पर्याप्त छैन। केवल एउटा वाक्य पर्याप्त छ— आँसु त सकिए बाबै, पीडा बाँकी छन्... अझै बाँकी छन्।
(निबन्धकार राम मा.वि.राम्दी, पाल्पामा अध्यापनरत छन ।)