Logo

बिहिवार, भाद्र १८ गते २०८३   |   2026 September 03

images

images

भ्रमको खेती (लघुकथा)

भ्रमको खेती (लघुकथा)

नेप्लिज डायस्पोरा

१८, भाद्र २०८३
images
भ्रमको खेती   (लघुकथा)

 

​- बालकृष्ण गजुरेल

​"हामीले यति जनाको उद्धार गर्यौँ।" सामाजिक सञ्जाल यस्तै पोस्टहरूले भरिएको थियो। मनोहरले अचानक मोबाइलमा त्यो फुटेज देखाए।

म पनि मख्ख परेँ। विपद्को समयमा सहयोग गर्नेहरूप्रति सहानुभूति जाग्नु स्वाभाविकै थियो। कविमन त हो, जस-जसले समाजमा सिर्जना, रचना र निर्माणको काम गरे, मनले तिनलाई सधैँ सलाम गर्थ्यो।

तर मलाई त्यसको वास्तविक स्थिति बुझ्न मन लाग्यो। हामी स्थलगत अध्ययनका लागि त्रिशूलीतर्फ लाग्यौँ। त्यहाँ पुगेर हेर्दा त सय मिटर बाटो पनि बनेको रहेनछ। जहाँ कम्तीमा पचास वटा डोजर प्रयोग हुनुपर्ने हो, त्यहाँ जम्मा दुई वटा मात्रै चल्दै थिए। त्यहाँबाट फेरि भीरको बाटो उकालो लाग्दै राति रसुवाको कालिकास्थान पुगेर बसियो। त्यस क्षेत्रमा आठ-नौ वटा जलविद्युत् आयोजना थिए। गृहमन्त्री आफैँ पुगेर रातभरि त्यतै खटिएका रहेछन्। दृश्य देखेर खुसी लाग्यो। मन्त्री र प्रधानमन्त्रीका पहलकदमी सही नै थिए। उद्धार र राहतमा जो-जो खटिएका थिए, तिनको अहोरात्र परिश्रम देखेर आँखा रसाए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरूलाई मनैदेखि सलाम गरियो; स्काउटका साथीहरूको योगदानलाई सम्मान गरियो।

जति काम भएको थियो, त्यो सत्य नै थियो। तर, नेतृत्वका सचिवालयमा बसेका पदाधिकारीहरू भने सरासर झुट बेचिरहेका थिए।

तिनीहरूले सामाजिक सञ्जालमा "हामीले यसो गर्यौँ, उसो गर्यौँ" भन्दै कपोलकल्पित दाबीहरूसहित भए-नभएका पुराना फुटेज पोस्ट गरिरहेका थिए। हामी प्रत्यक्ष घटनास्थलमै थियौँ। मनोहरले अचम्म मान्दै भने, "सचिवालयका यी जुका-उडुसहरूले त जुनसुकै सरकार आए पनि जनता र देशलाई डस्न मात्र जानेका रहेछन्।"

यहाँ सर्वसाधारणको ज्यानको सवाल थियो। यस्ता विपद्मा ठूला र शक्तिशाली देशहरू त हम्मे-हम्मे पर्छन्; नेपालजस्तो सीमित स्रोत, साधन र विज्ञको अभाव भएको देशको त कुरै छाडौँ। काम नभएको विषयमा पनि जब सचिवालयका हनुमान र चम्चाहरूले सामाजिक सञ्जालमा झुटको खेती गरे, तब म बोल्न बाध्य भएँ— "बिचरा! यी परजीवीहरूले भ्रमको खेती गरिरहँदा स्वयम् मन्त्री र प्रधानमन्त्री नै बेखबर होलान्!"

​- हेलम्बु-६, सिन्धुपाल्चोक ।

images
प्रकाशित मिति :भाद्र १८, २०८३ बिहिवार - ०९:५३:०७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend