✍ वीरेन्द्र ढकाल
"मेरो गुडिया छुट्यो... हिजाे मात्रै किनेको !"
उद्धारकर्ता प्रहरीले चार-पाँच वर्षकी बालिकालाई बोकेर ल्याउँदै गर्दा उनले सुकेका ओठ चाट्दै र फुस्रा आँखा यताउता घुमाउँदै भनिन् ।
"हुन्छ नानी, पछि खोजौँला। तिमीसँग अरू को-को हुनुहुन्थ्यो ?" प्रहरी टोलीका वरिष्ठ अधिकृतले मन बलियो बनाउँदै सोधे ।
"आमा हुनुहुन्थ्यो। ऊ त्यहाँ... मलाई खाजा बनाइदिँदै हुनुहुन्थ्यो !"
अधिकृतले बालिकाले देखाएको दिशातिर हेरे। ढलेको छतले थिचेर एक महिला हिलोमा दबिएकी थिइन् । उनले इसारा गर्नासाथ उद्धार टोली त्यसतर्फ दौडियो ।
"नानी... अरू... को-को...?"
अधिकृतका चस्मामुनिबाट आँसुका ढिका खसे । उनले हतार-हतार साेधेे अबोध बालिका ! यो विनाशकारी बाढीको भयानक परिणामबारे ऊ सर्वथा अनभिज्ञ थिई । केही समयअघिसम्मको उसको रमाइलो संसार अब कहिल्यै फर्किने छैन भन्ने सत्य उसलाई थाहा थिएन ।
अधिकृतले केही भन्नै खोज्दै थिए, बालिका फेरि बोली, "मेरो बुबा विदेशमा हुनुहुन्छ । दशैँमा मेरो लागि नयाँ लुगा लिएर आउने भन्नुभएको छ । फोन पनि गर्नुभएको थियो... मलाई आमाको छेउमा लगिदिनु न !"
अधिकृतले फर्किएर हेरे । उद्धार टोलीले आमाको शव सेतो कपडाले बेरेर लहरै राखिएका अन्य शवहरूसँगै बिसाइसकेका थिए । उनीसँग बालिकाको प्रश्नको कुनै उत्तर थिएन ।
स्वास्थ्यकर्मीले बालिकालाई गाडीमा बसाएर लगे । निःसन्तान ती अधिकृतको छाती भक्कानिएर आयो । वरिपरि लासको लस्कर हेर्दै उनी एक्कासी बरबराए, "शान्त मेरो देश आज लासैलासको मौन थुप्रो बनेको छ! आखिर यसको जिम्मेवार को हो ?"
नाग्रिजुली, असम