Logo

शुक्रवार, आश्विन २ गते २०८३   |   2026 September 18

images

images

मौन चित्कार (लघुकथा)

मौन चित्कार (लघुकथा)

नेप्लिज डायस्पोरा

२४, भाद्र २०८३
images
मौन चित्कार  (लघुकथा)

 

वीरेन्द्र ढकाल

"मेरो गुडिया छुट्यो... हिजाे मात्रै किनेको !"

उद्धारकर्ता प्रहरीले चार-पाँच वर्षकी बालिकालाई बोकेर ल्याउँदै गर्दा उनले सुकेका ओठ चाट्दै र फुस्रा आँखा यताउता घुमाउँदै भनिन् ।

"हुन्छ नानी, पछि खोजौँला। तिमीसँग अरू को-को हुनुहुन्थ्यो ?" प्रहरी टोलीका वरिष्ठ अधिकृतले मन बलियो बनाउँदै सोधे ।

"आमा हुनुहुन्थ्यो। ऊ त्यहाँ... मलाई खाजा बनाइदिँदै हुनुहुन्थ्यो !"

अधिकृतले बालिकाले देखाएको दिशातिर हेरे। ढलेको छतले थिचेर एक महिला हिलोमा दबिएकी थिइन् । उनले इसारा गर्नासाथ उद्धार टोली त्यसतर्फ दौडियो ।

"नानी... अरू... को-को...?"

अधिकृतका चस्मामुनिबाट आँसुका ढिका खसे । उनले हतार-हतार साेधेे अबोध बालिका ! यो विनाशकारी बाढीको भयानक परिणामबारे ऊ सर्वथा अनभिज्ञ थिई । केही समयअघिसम्मको उसको रमाइलो संसार अब कहिल्यै फर्किने छैन भन्ने सत्य उसलाई थाहा थिएन ।

अधिकृतले केही भन्नै खोज्दै थिए, बालिका फेरि बोली, "मेरो बुबा विदेशमा हुनुहुन्छ । दशैँमा मेरो लागि नयाँ लुगा लिएर आउने भन्नुभएको छ । फोन पनि गर्नुभएको थियो... मलाई आमाको छेउमा लगिदिनु न !"

अधिकृतले फर्किएर हेरे । उद्धार टोलीले आमाको शव सेतो कपडाले बेरेर लहरै राखिएका अन्य शवहरूसँगै बिसाइसकेका थिए । उनीसँग बालिकाको प्रश्नको कुनै उत्तर थिएन ।

स्वास्थ्यकर्मीले बालिकालाई गाडीमा बसाएर लगे । निःसन्तान ती अधिकृतको छाती भक्कानिएर आयो । वरिपरि लासको लस्कर हेर्दै उनी एक्कासी बरबराए, "शान्त मेरो देश आज लासैलासको मौन थुप्रो बनेको छ! आखिर यसको जिम्मेवार को हो ?"

नाग्रिजुली, असम

images
प्रकाशित मिति :भाद्र २४, २०८३ बुधवार - २१:२१:२५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend