Logo

शुक्रवार, आश्विन २ गते २०८३   |   2026 September 18

images

images

'हिमाली सुनामी’ र हामीले नसोधेका प्रश्नहरू

'हिमाली सुनामी’ र हामीले नसोधेका प्रश्नहरू

नेप्लिज डायस्पोरा

२६, भाद्र २०८३
images
'हिमाली  सुनामी’ र हामीले नसोधेका प्रश्नहरू

सुदर्शन पौड्याल

 त्यो अशान्त बिहान

 २६ अगस्ट २०२६ को बिहान रसुवाको आकाश शान्त थियो। न त आकाशमा कुनै असामान्य हलचल थियो, न ठूलो वर्षा नै भइरहेको थियो। सबै कुरा सधैँझैँ आफ्नै गतिमा चलिरहेको थियो। मानिसहरू आफ्ना दैनिक काममा व्यस्त थिए, सडकमा आवतजावत चलिरहेको थियो, र हिमाल आफ्नै मौनतामा उभिएको थियो। तर त्यो शान्ति धेरै बेर टिकेन ।  

अचानक हिमालको काखबाट पानी, बरफ, ढुङ्गा र माटोको एउटा विशाल प्रवाह गर्जंदै तलतिर ओर्लियो । केही क्षणमै त्यसले आफ्नो बाटोमा भेटिएका बस्ती, सडक, पुल, जलविद्युत् आयोजना र मानिसहरूलाई बगाउँदै लग्यो। हेर्दाहेर्दै दशकौँ लगाएर निर्माण गरिएका भौतिक संरचनाहरू भग्नावशेषमा परिणत भए। नेपाल–चीन सीमावर्ती क्षेत्रबाट त्रिशूली उपत्यकातर्फ फैलिएको त्यो विनाश यति तीव्र थियो कि धेरैका लागि प्रतिक्रिया जनाउने समयसम्म रहेन ।केही मिनेटअघि मात्र सामान्य देखिएको हिमाली भू–दृश्य क्षणभरमै विनाशको विशाल धारामा बदलियो । त्यो दिन रसुवामा आएको सामान्य पानीको भेल मात्र थिएन—बदलिँदो हिमालयले दिएको एउटा भयावह सङ्केत थियो। 

यसलाई कतिपयले ‘हिमाली सुनामी’ भनेका छन्। हुन त यो समुद्रबाट आएको सुनामी थिएन; तर पानी, बरफ, ढुङ्गा र माटो मिसिएको त्यो तीव्र गतिको विनाशकारी पर्खाल समुद्री सुनामीभन्दा कम थिएन। आज, दुई साताभन्दा बढी समय बितिसक्दा पनि यो विपत्तिको कथा सकिएको छैन। समाचारहरूका अनुसार नेपाल र तिब्बततर्फ गरी करिब १,४०० मानिसको मृत्यु भएको र ५,४०० भन्दा बढी मानिस बेपत्ता रहेको रिपोर्ट छ। सयौँ मानिस अझै सम्पर्कविहीन छन् भने केही सुरुङभित्र फसेको आशङ्का छ। उद्धारकर्मीहरू अझै पनि भग्नावशेषभित्र जीवनको खोजी गरिरहेका छन्।यति ठूलो विपत्तिपछि एउटा गम्भीर प्रश्न उठ्छ—के यो केवल एउटा असाधारण प्राकृतिक दुर्घटना मात्र थियो  

बाढीभन्दा पहिलेको कथा 

उपलब्ध प्रारम्भिक वैज्ञानिक जानकारी अनुसार, यो घटना सामान्य मनसुनी बाढी वा परम्परागत हिमताल विस्फोट (GLOF) मात्र थिएन। बरु उच्च हिमाली क्षेत्रमा बरफ र चट्टानसहितको ठूलो भू–भाग खसेर नदीमा थुप्रिएको र पछि नदीको बहाव फुट्दा पानी, बरफ र लेदोको अत्यन्त तीव्र प्रवाह तलतिर आएको हुनसक्ने आकलन गरिएको छ। त्यसवेला महसुस गरिएको भूकम्पीय कम्पन पनि वास्तविक भूकम्प नभई त्यही विशाल पहिरोले सिर्जना गरेको कम्पन थियो।

 यसलाई हामीले ‘हिमताल फुट्यो’ भनेर मात्र बुझ्यौँ भने समस्याको एउटा सानो पाटो मात्र देखेका हुनेछौँ। हिमालयमा जोखिम अब हिमतालको आयतन बढ्नुमा मात्र सीमित छैन। हिमनदीको द्रवीकरण, बरफको क्षय, पर्माफ्रोस्ट (वर्षौँदेखि जमेको जमिन) पग्लनु, चट्टानको अस्थिरता, हिमपहिरो र नदी प्रणालीमा अचानक आउने लेदोको बहाव—यी सबै प्रक्रिया एकअर्कासँग अन्तरसम्बन्धित छन्।  

बाढीको दृश्य हामीलाई एकैपटक देखिन्छ, तर बाढीको कारण एकैपटक पैदा भएको हुँदैन। हिमाल आज बिहान अचानक तातेको होइन। हिमनदी आजैदेखि पग्लन थालेका होइनन्। हिमालको भौगोलिक र जलवायुगत परिवर्तन दशकौँदेखि निरन्तर चलिरहेको प्रक्रिया हो। हामीले हिमाललाई प्रायः स्थिर र अचल वस्तुका रूपमा हेर्छौँ। हिमाल भनेको सधैँ उभिरहने पहाड हो र हिमनदी भनेको सधैँ रहिरहने सेतो बरफ हो भन्ने हाम्रो परम्परागत बुझाइ छ। 

तर हिमाल स्थिर छैन। त्यहाँ बरफ जम्ने र पग्लने क्रमसँगै चट्टानहरू खिइने क्रम जारी छ। जमिनमुनिको स्थायी रूपमा जमेको माटो अर्थात् 'पर्माफ्रोस्ट' कमजोर हुँदैछ। तापक्रम बढ्दै जाँदा बरफ र चट्टानलाई जोडेर राख्ने प्राकृतिक संरचना खुकुलो हुन्छ, जसले हिमपहिरो, चट्टान खस्ने र हिमताल फुट्ने जोखिम बढाउँछ।  

हिमनदी आखिर किन महत्त्वपूर्ण छ  

पर्यावरण विज्ञानको दृष्टिले हिमनदी एउटा विशाल प्राकृतिक जलाशय हो। वर्षौँसम्म जमेको हिउँ क्रमशः पग्लिएर नदीमा मिसिन्छ र यसैले हाम्रा नदीहरूलाई सुक्खा मौसममा पनि जीवित राख्छ। त्यसैले हिमालयका हिमनदीहरूलाई एसियाका ‘प्राकृतिक जल स्तम्भ’ (Water Towers) भनिन्छ। हिन्दूकुश–हिमालय क्षेत्रका नदी प्रणालीमा निर्भर नेपाललगायतका देशका करिब दुई अर्ब मानिसका लागि यो प्रकृतिले दिएको जीवनदायी वरदान हो। तर समस्या यहीँबाट सुरु हुन्छ। 

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD) को हालैको अध्ययन अनुसार, हिन्दूकुश–हिमालयका हिमनदीहरूमा सन् २००० पछि बरफ गुमाउने दर त्यसअघिको तुलनामा दोब्बर भएको छ। केही क्षेत्रमा सन् १९७५ यता हिमनदीको बरफको मोटाइ २७ मिटरसम्म घटेको छ। सन् १९९० देखि २०२० बीच यस क्षेत्रको हिमनदी क्षेत्रफल करिब १२ प्रतिशतले घटेको छ भने मौसमी हिउँको अडान क्षमता (Snow Persistence) चौथो भागभन्दा बढीले कम भएको छ। यसको अर्थ हो—हामीले पानीको बैङ्कमा जम्मा भएको पुरानो सावाँ सापट खर्च गरिरहेका छौँ।हिमनदी तीव्र रूपमा पग्लिँदा सुरुमा नदीमा पानीको मात्रा बढ्छ। तर हिमनदीको आकार निरन्तर घट्दै जाँदा एउटा बिन्दुमा पुगेर पग्लिने बरफ नै सिद्धिन्छ र सुक्खा मौसममा नदीमा पानीको बहाव घट्न थाल्छ। जलविज्ञानमा यसैलाई ‘पिक वाटर’ (Peak Water) को अवधारणाले बुझाउँछ। यो क्रम बढ्दै जाँदा कुनै दिन हाम्रा कोशी र कर्णालीजस्ता विशाल नदीहरू बर्खे खहरेमा परिणत हुने र हिउँदमा बगर मात्र बाँकी रहने जोखिमलाई नकार्न सकिँदैन।यसरी बाढी र खडेरी एउटै सिक्काका दुई पाटा हुन्।  

यो समस्या केवल हिन्दूकुशमा मात्र सीमित छैन। विश्व मौसम विज्ञान सङ्गठन (WMO) को २०२५ को एसियाली जलवायु प्रतिवेदन अनुसार निगरानी गरिएका उच्च हिमाली एसियाका सबै २३ वटै हिमनदीले बरफ गुमाएका छन्। यसको मुख्य कारण सामान्यभन्दा बढी तापक्रम र जाडो याममा कम हिउँ पर्नु हो।अर्थात्, हामी कुनै एउटा छुट्टै घटना मात्र हेरिरहेका छैनौँ; वास्तवमा हिमालयको सम्पूर्ण ‘क्रायोस्फियर’ (Cryosphere—हिउँ, हिमनदी र जमेको जमिनको प्रणाली) नै बदलिरहेको छ । 

तर के रसुवाको घटना जलवायु परिवर्तनकै कारण हो ? 

कुनै एउटा पहिरो वा हिमशिला भत्किएको घटनालाई देखाएर ‘यो जलवायु परिवर्तनकै कारण भयो’ भन्नु वैज्ञानिक रूपमा पूर्ण निष्कर्ष नहुन सक्छ। स्थानीय भूगर्भ, ढलान, चट्टानको बनोट र पानीको अवस्थाजस्ता धेरै कारणले घटना सुरु हुन सक्छ।  तर यहाँ एउटा गम्भीर प्रश्न खडा हुन्छ—यदि कुनै निश्चित घटनाको प्रत्यक्ष कारक जलवायु परिवर्तन नै हो भन्न सकिएन भने पनि के त्यसकै आधारमा हिमालयमा भइरहेको व्यापक तापक्रम वृद्धि र हिमनदी क्षयलाई बेवास्ता गर्न मिल्छ  उत्तर स्पष्ट छ—मिल्दैन। जलवायु परिवर्तनले जोखिमको पृष्ठभूमि नै बदलिदिन्छ । यसले भू–भागको स्थिरता प्रभावित गर्छ र बाढी–पहिरोको जोखिमलाई बहुगुणित बनाउँछ। त्यसैले जलवायु परिवर्तनले प्रत्येक विपत्ति सोझै ‘गराउँछ’ भन्नुभन्दा पनि यसले विपत्ति निम्तिने ‘अनुकूल वातावरण निर्माण गर्छ’ भन्नु बढी तर्कसङ्गत हुन्छ । 

विकास कि विनाशको निम्तो  

अब प्रश्न प्रकृतितर्फ मात्र फर्काएर पुग्दैन। हिमालमा जोखिम बढ्दै गर्दा हामीले विकास कहाँ र कसरी गरिरहेका छौँ नदीको साँघुरो किनारमा बस्ती, बगरमै सडक, पहिरोको जोखिमयुक्त ढलानमा ठूला संरचना, र विस्तृत अध्ययनबिनै जलविद्युत् आयोजना एवं राजमार्गहरूको निर्माण ! निस्सन्देह, नेपाललाई विकास चाहिन्छ—सडक, बिजुली र रोजगारी चाहिन्छ। तर प्रश्न ‘विकास गर्ने कि नगर्ने’ भन्ने होइन; मुख्य प्रश्न ‘कहाँ, कसरी र कति जोखिम मोलेर विकास गर्ने भन्ने हो । रसुवाको विपत्तिले यही प्रश्नलाई सतहमा ल्याइदिएको छ। प्रकृतिलाई जितेर होइन, प्रकृतिसँग अनुकूलन भएर विकास गर्ने सोच अबको अनिवार्य आवश्यकता हो। पूर्वचेतावनी र क्षेत्रीय सहकार्य यस्ता घटनापछि ‘पहिले नै थाहा पाउन सकिन्थ्यो कि?’ भन्ने प्रश्न उठ्छ । तर पूर्वचेतावनी भनेको केवल साइरन बजाउनु मात्र होइन । उच्च हिमाली क्षेत्रमा सेन्सर र उपग्रह निगरानीको पहुँच अझै सीमित छ।प्रकृतिको पुनरावृत्ति रोक्न नसकिएला, तर त्यसलाई मानवीय विपत्तिमा बदलिनबाट रोक्न अवश्य सकिन्छ। जोखिम नक्साङ्कन, वास्तविक समयको तथ्याङ्क आदानप्रदान (Real-time data sharing), सुरक्षित निष्कासन मार्ग र जोखिमयुक्त पूर्वाधारको पुनर्मूल्याङ्कनले हजारौँको ज्यान बचाउन सक्छ । 

यसमा अर्को महत्त्वपूर्ण पाटो अन्तर्राष्ट्रिय सीमा र जलवायु न्यायको हो। हिमनदीले देशको सीमा र नाका चिन्दैन। नेपाल, चीन, भारत र भुटानजस्ता हिमाली देशहरूबीच वास्तविक समयको जलप्रवाह र मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान हुनु अपरिहार्य छ। नेपालजस्ता अल्पविकसित देशहरूको विश्वव्यापी कार्बन उत्सर्जनमा नगण्य योगदान छ, तर जलवायु परिवर्तनको मार भने यहाँका गरिब र सीमान्तकृत समुदायले सबैभन्दा बढी भोगिरहेका छन्। जसले समस्या सिर्जनामै भाग लिएन, उसैले ठूलो मूल्य चुकाउनुपर्ने यो असमानता नै ‘जलवायु न्याय (Climate Justice) को मूल विषय हो। त्यसैले अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु क्षतिपूर्तिको मुद्दा उठाउनु नेपालको अधिकार हो। 

टालटुले प्रविधि कि व्यवहार परिवर्तन ?

 पृथ्वीलाई चिस्याउन एलन मस्कले अघि सारेको ‘सौर विकिरण समायोजन’ (SRM) जस्ता प्रविधिको चर्चा हुने गरेको छ । तर सूर्यको प्रकाश छेकेर तापक्रम घटाउन खोज्नु भनेको आगो लागिरहेको घरमा आगो निभाउनुको सट्टा 'एसी' चलाउनु सरह हास्यास्पद उपाय हो। यसले कार्बन उत्सर्जन वा समुद्री अम्लीकरणको मूल समस्यालाई समाधान गर्दैन ।हामीले सोध्नुपर्ने वास्तविक प्रश्न त अर्कै छ—हामी पृथ्वी किन तताइरहेका छौँ यसको उत्तर हाम्रा असिमित चाहना, होडबाजी र अत्यधिक उपभोगवादी जीवनशैलीमा लुकेको छ। हामीलाई चाहिएको भन्दा बढी उत्पादन र उपभोग गर्ने चक्रले प्राकृतिक स्रोतको दोहन बढाएको छ। जलवायु संकट केवल कार्बनको विषय मात्र होइन, यो हाम्रा व्यावहारिक र आर्थिक प्राथमिकताहरूको परिणाम हो । अब बदलिने पालो हाम्रो हामी हिमाललाई केवल स्रोतका रूपमा हेर्छौँ—पानी, बिजुली, सडक र पर्यटनको माध्यम। हामीले लिन मात्र जान्यौँ, तर प्रकृति पनि एउटा संवेदनशील जीवित प्रणाली हो भन्ने बिर्सियौँ।रसुवाको 'सुनामी'ले हामीलाई चेतावनी दिएको छ—विपत्तिको यो त सुरुवात वा ‘टेलर’ मात्र हुन सक्छ। हिमाली क्षेत्रमा फुटनै लागेका टाइमबमसरह कैयौँ हिमतालहरू छन् । हामीलाई अब प्रविधिका माध्यमबाट पृथ्वी नियन्त्रण गर्ने होइन, आफूलाई नियन्त्रण गर्ने क्षमता चाहिएको छ । कम उपभोग गर्नु, प्रकृतिको सीमालाई स्वीकार्नु र विकासको परिभाषा पुनर्भाषित गर्नु नै दिगो समाधान हो। हिमालले शब्दमा भाषण दिँदैन, उसले आफ्नो रूप बदलेर सङ्केत गर्छ । हिमाल बदलिँदैछ, अब बदलिने पालो हाम्रो हो ।  

(सिभिल इन्जिनियर पौड्याल हाल संयुक्त अधिराज्यमा अध्यापनरत छन्)

 

 

images
प्रकाशित मिति :भाद्र २६, २०८३ शुक्रवार - १६:४६:२८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend