Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

चरा झैँ माथि ......! (कविता)

चरा झैँ माथि ......! (कविता)

नेप्लिज डायस्पोरा

५, आश्विन २०८३
images
चरा झैँ माथि ......!  (कविता)

✍ भवानी न्यौपाने 'भावना'

धागो झैँ तन्किएकोछ जीवन

जति तान्यो उति लम्बिने भएकोछ जीवन

बादलरुपि कपासको भुवा झैँ

माथि माथि हुँदै उड्दैछ

कहिले हिमाली हावामा ठोकिन्छ

कहिले तराइको फाँटमा उभिन्छ

कहिले नदी झैँ बग्छ

कहिले धर्ती झैँ स्थिर हुन्छ

अचेल

जता पुग्यो उतै बहकिने भएकोछ

कहिले हिमाल पुग्छु

कहिले पहाड चढ्छु

अनि कहिले तराई ओर्लिन्छु

जिन्दगीको डायरी र प्रिय कलम  बोकेर

च्यातिएर पोखिएका शब्दहरू बटुल्दै

मनको धागोले बुन्छु

काव्यसुधा पिउँदै

शरद्को कुहिरोलाई अङ्कमाल गर्छु

त्यसैले हृदय नदी बन्दै बग्दैछ

एकहुल उडिरहेका  चराहरूलाई सोध्छु

तिमीहरु झैँ मेरा पखेट्टा भए ?

म पनि मेरो मनको घर

आकाशमा बसाउँथे

अनि तिमीहरू झैँ उडेर

भेटिरहन्थेँ मेरो अलौकिक देवता

क्षितिज झैँ दूर पुगी

हावासित खेल्दै

जीवन गीत गाउँथेँ

सजाउँथे प्रेमको दिव्य सहर ।

- दाङ्ग ।

images
प्रकाशित मिति :आश्विन ५, २०८३ सोमवार - २०:४८:५८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend