पाल्पा असोज ८ ।
कर्मदा सिर्जना मञ्च नेपाल, पाउँदीबजार लमजुङको आयोजनामा ६२ औँ प्रविधिमैत्री स्वतन्त्र विधा तथा १०८ औँ राष्ट्रकवि माधव घिमिरे जयन्ती विशेष कविगोष्ठी २०८३ असोज ८ गते बिहीबार भव्य रूपमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ कवि प्रा. डा. जीवन अधिकारी तथा विशिष्ट अतिथिका रूपमा डा. बमबहादुर थापा 'जिताली' को गरिमामय उपस्थिति रहेको थियो।
लमजुङको प्रवेशद्वारमा रहेको यस साहित्यिक संस्थाद्वारा आयोजित गोष्ठीमा विभिन्न स्रष्टाहरूले छन्द, स्वच्छन्द, सुसेली, मुक्तक, चारु तथा लोकछन्दका कविता प्रस्तुत गरेका थिए। वाचित रचनाहरू देशभक्तिपूर्ण भावना, जनचेतना र सामाजिक विकृतिविरुद्ध केन्द्रित थिए। साथै, कार्यक्रममा सर्जकहरूले राष्ट्रकवि माधव घिमिरेका चर्चित सिर्जनाहरू समेत वाचन गरेका थिए।
कार्यक्रममा रचना वाचन तथा शुभकामना व्यक्त गर्ने स्रष्टाहरू:
१. प्रा. डा. जीवन अधिकारी: असारे झ्याउरे – 'मेरो द्यौता'
२. डा. बमबहादुर थापा 'जिताली': मन्दाक्रान्ता – 'धन्य तिम्रो हियारा'
३. कलानिधि दाहाल: अनुष्टुप् – 'श्रद्धा सुमनका मुना'
४. देवी पन्थी: लोक छन्द – 'मान्छेको भीड'
५. पुरुषोत्तम सिग्देल: स्रग्विणी – 'माधव'
६. गङ्गा लिगल: स्वच्छन्द – 'आकाङ्क्षा'
७. गणेश आत्रेय: मात्रिकछन्द (ललित) – 'पर जा'
८. दुर्गाप्रसाद सिग्देल: मात्रिकछन्द (द्विपदी) – 'वयको मेला'
९. जगदीश्वर पोखरेल: स्रग्विणी – 'राष्ट्रका सर्जक'
१०. कृष्णप्रसाद मिश्र: सुधाकलश – 'प्रियवर जिन्दगी'
११. चूडा निर्भीक: मञ्जुला – 'समाज'
१२. पवनकुमार बुढाथोकी: मुक्तक
१३. ललिता खरेल: स्वच्छन्द – 'ए बूढी'
१४. दुर्गाप्रसाद अधिकारी 'भँमरकोटे': सुसेली – 'राष्ट्रकविको अडियो'
१५. हरि खनाल: शुभकामना
१६. घनश्याम पौडेल: स्रग्विणी – 'राष्ट्रकविप्रति'
१७. खुसीराम डौलिया: स्वच्छन्द – 'झझल्को'
१८. वीरबहादुर लोहनी: सवाई – 'जन्मदाता मातापिता'
१९. जानुका थापा: असारे झ्याउरे – 'सम्झनामा राष्ट्रकवि'
२०. लक्ष्मीप्रसाद मिश्र: सुसेली – 'राष्ट्रकविलाई सम्झिँदा'
२१. सुधा बाँस्कोटा ढकाल: ललना – 'वर्षा'
२२. बिनुबाबा घिमिरे: दिक्पाल – 'आगो निभ्यो चुह्लोमा'
२३. भोजराज न्यौपाने: अनुष्टुप् – 'ज्येष्ठ नागरिकको पीडा'
२४. नवराज पौडेल: स्वच्छन्द – 'अनाम पीडा'
२५. सुरेशचन्द्र घिमिरे: असारे झ्याउरे – 'राष्ट्रकविको सम्झना'
२६. रामकृष्ण अधिकारी: शुभकामना र राष्ट्रकविको सिर्जना
२७. युवराज घिमिरे: शुभकामना
२८. चन्द्रावती अधिकारी: शार्दूलविक्रीडित – 'पुस्तुने'
२९. युवराज कोइराला: शुभकामना
३०. धनराज डौलिया: शुभकामना
३१. डी. बी. कार्की: शुभकामना
३२. कल्पना भट्टराई: शार्दूलविक्रीडित – 'श्रद्धाञ्जलि वन्दना'
कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. जीवन अधिकारीले कर्मदा सिर्जना मञ्च नेपालले छन्दको उन्नयन र संरक्षणमा पुर्याएको योगदानको प्रशंसा गर्दै संस्थालाई शुभकामना व्यक्त गर्नुभयो। नेपाली साहित्यमा राष्ट्रकवि माधव घिमिरेको अतुलनीय योगदानको चर्चा गर्दै उहाँले घिमिरेको 'ऋतम्भरा' महाकाव्यका केही पद्य वाचन गर्नुभएको थियो। वाचित कविताहरूको संक्षिप्त समीक्षा गर्दै निरन्तरको अभ्यासले नै सिर्जना खारिँदै जाने धारणा उहाँले व्यक्त गर्नुभयो।
कार्यक्रमको संयोजन गर्नुभएका अध्यक्ष जगदीश्वर पोखरेलले संस्थाको निमन्त्रणा स्वीकार गरी उपस्थित हुनुभएका सम्पूर्ण सर्जक तथा अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै कविगोष्ठी समापनको घोषणा गर्नुभएको थियो।