४, माघ २०७५
काठमाडौं, ४ माघ । आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल कालोधन नेपाल भित्र्याउने ५५ ब्यवसायीभित्र परेका छन् । आइएमई ग्रुपका अध्यक्ष ढकालले आफूले ट्याक्स हेभन मुलुकबाट लगानी नल्याएको दाबी गरेका छन् । तर ढकालको पृष्ठभूमितिर जाँदा उनी सुरुमा काठमाडौंमा अवैध हुन्डी कारोबार गर्थे ।
हुन्डी कारोबारबाट उनको आर्थिक हैसियत चुलिंदै गएको हो । र, उनी बैंक, रेमिट कम्पनीदेखि इन्स्योरेन्स, चन्द्रागिरी केवलकारसम्म दसौं अर्बका मालिक भइसकेका छन् । उनको उत्थान हुन्डीबाट भएको हो भन्ने कुरा बागलुङतिरका सबैलाई थाहा छ । अहिले उनी दसौं अर्बका कम्पनीका मालिक छन् ।
२ दशकमै उनले यत्रो आर्थिक साम्राज्य कसरी विस्तार गरे भन्ने पनि कौतुहलता छ । कतिपयले त भ्रष्ट कर्मचारी र नेताहरुको सम्पत्ति आइएमई ग्रुपमा लगानी भएको भन्दैआएका छन् । कर फस्र्योट आयोगमा ९ अर्ब रुपैयाँ भ्रष्टाचार गर्ने चुडामणि शर्माजस्ता धेरै भ्रष्ट कर्मचारीहरुको पनि लगानी रहेको भन्ने चर्चा परिचर्चा पनि हुने गरेको छ ।
नेपाललिक्सले कालोधन ट्याक्स हेभन मुलुकमा लाने र त्यहाँबाट बैदेशिक लगानीका रुपमा नेपालमा भित्र्याएर बैध बनाउनेमा आइएमईका चन्द्र ढकालको नाम पनि आएपछि भ्रष्टाचारीहरुको लगानी रहेको आशंक गर्नेहरुलाई बल पुगेको छ ।
चन्द्र ढकाल पछिल्लो समयमा राज्यसंयन्त्रमा बलियो पकड कायम राख्न सक्नेमा गनिन्छन् । उनी अहिले नियामक निकायमा आफू अनुकूलका पदाधिकारी नियुक्ति गर्ने हैसियतमा छन् । त्यसका उदाहरण हुन्, वीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाई । वीमा समितिको अध्यक्ष नियुक्त हुने योग्यता नै नभएका चापागाईलाई उनले नियुक्त गराउन सफल भएका थिए ।
वीमा बिषयमा पीएचडी गरेका रविन्द्र घिमिरेको भइसकेको नियुक्तिमा टिपेक्स लगाएर उनले चापागाईलाई नियुक्त गराएका थिए । चापागाईलाई नियुक्त गराउन १० वटा वीमा कम्पनीबाट ठूलो रकम उठाएर तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महरालाई दिएको आरोप पनि ढकालमाथि छ ।
अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले उपलब्ध गराएको विवरण र खोज पत्रकारिता केन्द्र नेपाल (खोपके) ले गरेको थप अनुसन्धानले सार्वजनिक गरेका ५५ जना नेपालीमा ढकाल परेका हुृन् । ढकालले बेलायतको कम्पनी रजिष्ट्रारको कार्यालय ‘कम्पनिज हाउस’ मा सन् २००२ अगष्ट ९ मा सनवर्ड कम्प्युटर कन्सल्ट्यान्टस लिमिटेड खरिद गरेको देखिन्छ ।
आईसीआईजेको सहयोगमा प्राप्त कागजात अनुसार, उनले खरीद गरेको १२ औं दिनमा कम्पनीको नाम परिवर्तन गरी इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) युके लिमिटेड बनाएका थिए । यसमा ढकाल, उनका भाइ हेमराज, दुई बेलायती र दुई गैरआवासीय नेपालीले लगानी गरेका छन् ।
गैर आवासीय नेपालीहरूमा बेलायत बस्ने अनिलकुमार लामिछाने र कमल पौडेल हुन् । २१ अगस्ट २००२ मा बेलायतको कम्पनी रजिष्ट्रारको कार्यालयलाई लेखेको पत्रमा ढकालले भनेका छन्–‘नेपाल र मलेशिया दुवैमा हामी लिमिटेड कम्पनी हौं । कम्पनीको नाम इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) लिमिटेड हो ।’
हेमराज ढकालको लगानी रहेको अर्को कम्पनी आईएमई होल्डिङ लिमिटेड पनि बेलायतमा दर्ता छ । कम्पनिज हाउसले उपलब्ध गराएको विवरण अनुसार, चन्द्र ढकालको नेपालको ठेगाना महाराजगञ्ज–४ काठमाडौं र बेलायतको ठेगाना पेन्ट्याक्स हाउस, साउथ ह्यारो मिडिल सेक्स इङल्यान्ड उल्लेख छ । हेमराजको ठेगाना चाहिं बेलायतको पेन्ट्याक्स हाउस, साउथ ह्यारो मिडिल सेक्स इङल्यान्ड लेखिएको छ ।
बेलायतमा गरेको लगानीबारे व्यवसायी चन्द्र ढकालले भने,‘आईएमई नाम मात्र हामीहरूको हो, लगानी हामीहरूको होइन, त्यहीँका मान्छेको हो ।” तपाईंका नाममा बेलायतमा कम्पनी दर्ता छ नि भन्ने प्रश्नमा ढकालले भने–तपाईंहरूले कहाँबाट पाउनुभयो त्यो थाहा छैन तर त्यो लन्डनकै मान्छेहरूको हो ।’ ढकालले सनबर्ड कम्प्युटर कन्सल्टेन्ट भन्ने कम्पनीलाई इन्टरनेशनल मनी एक्सप्रेस नबनाएको र आफू त्यसमा संलग्न नभएको पनि दाबी गरे ।
शंकास्पद लगानी विदेशबाट नेपाल भित्र्याउनेमा सतिसलाल आचार्य र उनकी श्रीमती भावनासिंह श्रेष्ठ, पनि छन् । सिंगापुर बस्ने नेपाली व्यवसायी सतिशलाल आचार्यले सन् २००० देखि २००७ सम्म ब्रिटिश भर्जिन आइल्यान्डस्मा विभिन्न चार कम्पनी दर्ता गरेको देखिन्छ ।
आचार्यले पासा होल्डिङ लिमिटेड, स्क्वायर स्टार इन्क, लासेल होल्डिङ इन्कर्पोरेटेड र लिडिङ फेथ इन्कर्पोरेटेड कम्पनी दर्ता गरेका छन् । लासेल कम्पनीमा लिडेनवर्ग लिमिटेडको पनि लगानी छ ।
सतिश आचार्यकी श्रीमती भावनासिंह श्रेष्ठको नामबाट पनि विदेशमा लगानी भएको देखिन्छ । सन् २०१५ मा उनको नाममा सिंगापुरमा सुनिभेरा क्यापिटल भेन्चर प्राइभेट लिमिटेड दर्ता भएको छ । त्यसैगरी पूर्वसांसद वीरेन्द्र महतो, निरजगोविन्द श्रेष्ठ, उपेन्द्र महतो र उनकी श्रीमती समता, अजेयराज सुमार्गी र अर्जुन शर्माको नाम छ ।
चौधरी परिवारकै लगानी चौधरी परिवारका चार जनाको नाममा विदेशमा लगानी रहेको भेटियो । अरुणकुमार चौधरी र उनकी श्रीमती शिला, छोरा करण र सुर्भान्सको नाममा ट्याक्स हेवन मुलुक ब्रिटिश भर्जिन आइल्यान्डस्मा अर्सिन लिमिटेड कम्पनी दर्ता छ । होटल मल्लकी रमा मल्ल र मिनु शाह छिब्बरको शंकास्पद लगानी पनि नेपाल भित्रिएको नेपाललिक्सले सार्वजनिक गरेको छ । नयाँ पेज
प्रकाशित मिति :माघ ४, २०७५ शुक्रवार -
२०:०९:०४ बजे