Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

गुल्मीको स्याल कास्कीको जंगलमा -दीपक विश्वकर्मा

गुल्मीको स्याल कास्कीको जंगलमा -दीपक विश्वकर्मा

सतीश चापागाईं

४, माघ २०७५
images
म सोँच्छु, मसंग अरुलाई सुनाउने जतिकथाहरु छन् सायदै संसारमा अरु कसैसंग होलान् । मलाई पहिलोपटक हातमा डो¥याउँदै स्कूल पु¥याएको मेरा बाले होइन । बुढाघरका बुढाबाले हो । यसको कारण छ । चप्पल वा जुत्ता लगाएर स्कूल गएको निकै पछिमात्र हो, सायद चार कक्षा पछिमात्र । यसको पनि कारण छ । स्कूल जान शुरु गरेदेखिनै मेरो खाजाको रेट पच्चीस पैसाबाट शुरु भएको हो र यो पाँच छ कक्षा पार नहुदाँसम्म कायम रहयो । त्यो पच्चीस पैसाले एक प्लेट खिर एक गीलास चिया आउँथ्यो । अर्जापेर ठिक्क पारेका तर बाले पु¥याउन नसकेका कृषि औजारहरु स्कूल जाँदा कितावसंगै बोकेर मैले नै मन नलागी नलागी पु¥याउने ठाउँमा पु¥याइ दिन्थे । कहानीको यो अर्को पाटो हो । यी कथाकुथुंग्रीमा थुप्रै थुप्रै हाँगाबिँगा जोडिएका छन् । तिनीहरुलाई अलगसंग कापीमा उतार्नु सकिन्छ । बाको गाली सहन नसकेर— बरु मर्छु भो, भन्दै बाबियोको डोरी समाएर अग्लो रुख चहार्ने पनि मनै हुँ भनेर फुइँ लगाउँदा आफैलाई विश्वास लाग्दैन । मर्न सकिएन, तरपनि रिस भने घर नछोडेसम्म मर्दैमरेन । बस्दिन अव यो घरमा भन्दै १२, १३ वर्षको कलिलै उमेरमा च्वाँङ्गखोला, ढाँडाको उपल्लोबाटो हुँदै तत्कालीन कम्युनिष्ट आन्दोलनका उग्रतारा केशरमणि पोख्रेलको गाउँ पराल्मी पुगेर कान्छी आमाकी बहिनीको घरमा रातीको बासबसी बडिघाट तरेर बुढामावली जाने अठोट सहित मगरातको बाटो खोज्ने पनि मनै हुँ भन्दा कसैलाई पत्यार लाग्दैन । हाम्रा बुढामावलीहरुलाई मगराती भनेको सुन्थे सानोमा मैले । सताब्दी पहिले उनीहरु मगरात छोडेर तम्घासको खानीगाउँमा आएर बस्नथाले । आजआएर बल्ल जानकारीमा आयो मगरात कुनै निश्चित ठाउँको नाम होइन । यो त क्षेत्र हो, भूगोल हो, मगरसमुदायले बसोवास गरेको । पराल्मीसम्म पुग्दापनि रिस नमरेको भए, मगरात जाने शूरमा म कहाँसम्म पुग्दो हुँ ? गोजीमा एक पैसा नभएको सिंगानेकेटाको त्यो हिम्मत ! आज आएर सोँच्छु, बास्तवमा म बहुलठ्ठी स्वभावको रहेछु सानैदेखि । यी कहानीका पाटा, पोकापन्तुरा समय समयमा खुल्दै जानेछन् । तर आज भन्न सुन्नसुनाउन गइरहेको कुरो अर्कै छ । त्यो हो— गुल्मीको स्याल, जो कास्कीको जंगलमा अलप भयो । सानै उमेरदेखि मेरा हातगोडाका जोर्नीहरुमा दुखाइ शुरु भएको हो । भाडगाउँको अत्याधिक जाडो, खालीखुट्टामै स्कूल हिँडाइ तथा न्यानो लुगाफाटोको कमि आदि कारणले त्यस्तो किसिमको शारिरीक समस्या सिर्जियो होला सायद । बसेर जुरुक्क उठ्दा घुँडामा करक्क आवाज आउने, औलाहरु पड्काइरहन मनलाग्ने । पड्काउँदा मनमा आनन्द आउने हुन थाल्यो । पछि पोखरामा पढ्ने मौका पाएपछि अटन लेप्चा सरले चेकजाँचगरि क्याल्सियमका केहीथान चक्कीहरु खानदिनु भयो । ती चक्कीहरु लगातार खाएँ केही महिना । त्यसपछि भने दुखाई कम हुँदैगयो । दुखाई त कम हुँदै गयो । तर मनबाट आफूलाई बाथरोग लागेको भ्रमभने कहिल्यै हटेन । सानैदेखि बुढापाकाले भन्दै र हामीले सुन्दै आएको कुरो के थियो भने बाथरोगीले स्यालको मासु खायो भने रोग निको हुन्छ । यो कहावत आज पनि यथावत छ । सोही भ्रममा मानिसहरुले पासो थापेर स्यालको सिकार गरेको बेलामौकामा सुनिने गर्दछ । एकहिसावले भन्ने हो भने पार्टी जीवन फुक्काफाम जीवन पनि हो । कोठा भाडा लिनु पनि नपर्ने । सेल्टरको नाममा जनताको घरमा टुपुक्क पुगे गासबास सबै पाइने । हाम्रो पालामा कार्यकर्ताको खुव मानमनितो पनि थियो । आफू चिसोमा सुतेर भएपनि न्यानो सिरक कमरेडको लागि छुट्टाउथे जनताहरु । खाना खाएपछि भाँडा भने आफै माझिन्थ्यो । किरण गुरुङ्ग र मैले स्कूल पढ्दापनि भाँडा माझ्ने ड्युटी गरेकाले हामी दुईलाई भाँडा माझ्न पटक्कै अफ्ठेरो लाग्दैन्थ्यो । पार्टी जीवनप्रति म झन् यति उत्साहित थिएँ की त्यसको पारा मापन गर्नै सक्दिनथे म स्वयम् । किनकी घरगाउँमा बाहुन, क्षेत्री र मगरको घरमा जाँदा पिँडीमा बसेर खाएको मनाथे, पार्टीमा लागेपछि भने बाहुन क्षैत्री र मगरको मभेरीमा बसेर सानले भात मारिरहेको थिएँ । आजकाल भने ती दिन संझदाँ आफैलाई डर लागेर आउँछ । सेल्टर लिएको घरका आमाबाले कहिल्यै मलाई मेरो थरी सोधेनन् । कथंकदाचित सोधेको भए, क्षेत्री वा बाहुन हुँ भनेर जवाफ दिँदो हुँ । कुन क्षेत्री वा बाहुन भनेर अझै गहिराईमा पुगेको भए थापा वा अधिकारी यस्तै केही भन्दो हुँ । थापा वा अधिकारीको गोत्र सोधेको भए, के भन्दो हुँ ? हो यहीनेर कुरो गहिरिएर मनमाखेल्दा रिंगटा लागेर आउँछ । पाता फर्काउने थिए, वा चारपाटा मुडेर गाउँबाटै खेदाउने थिए, कस्केली बाहुनहरु । हुन सक्छ हातखुट्टा बाँधेर रुपा, बेगनास वा फेवामा हेलिदिने थिए । काम विशेषले अनिताजीलाई पोखरामै छोडेर म भाडगाउँ घर गए, सायद ३९ सालको फाल्गुन चैत्र तिर । यहाँ काम विशेष भनेर कामको कुरो अधुरो राखेँ । किन की के कामको लागि घर गएँ भन्ने कुरो नै बिर्सियो । ससुरालीलाई मैले पार्टीमा काम गर्दछु भन्ने थाहा थिएन । दिवंगत मैयाँ गहतराजदिदी जो पोहोर सालमात्र बित्नु भयो, सो कुराको भेउ उहाँलाई मात्र थियो । किनकी अनिताजीसंग मेरो बिहे हुँदा मैले पार्टीमा पेशेवर काम गर्दछु भनेर उहाँलाई भने सुनाइएको थियो । फेरि सो बेला पार्टीको पेशेवर काम औधी सम्मानित काम मानिन्थ्यो । केटा वा केटीको वायोडाटा हेर्ने चलन बिरलै हुन्थ्यो । वायोडाटा नहेरेता पनि भातपानी चलअचल हेर्ने चलन भने सो बेला पनि थियो । नेपाली कम्युनिष्ट पार्टी र कम्युनिष्टहरुको सांस्कृतिक रुपान्तरण हुन नसक्नुको कारणले गर्दा नै आजसम्म समाजमा भातभान्सा र बिहेबारीको कट्टरता ज्यूँकात्यूँ छ । यो सदियौँ पुरानो रोग हट्न नसक्नु नेपाली माक्र्सवादीहरुको सिद्धान्तप्रतिको गद्दारी हो भनेर भन्दा फरक नपर्ला । क. धर्मदत्त देवकोटा पोखरामै हुनुहुन्थ्यो । बालकृष्ण सुवेदीकी बहिनी बिन्धवासिनी निवासी सकुन्तला सुवेदी क. स्याङ्जाली धर्मदत्त कमरेड संग लगनगाँठो कसेकी पनि पोखरामै बस्नुहुन्थ्यो । महिलाको क्षेत्रमा काम गर्ने बहिनीहरुमा बनिता कतिला पनि सक्रिय हुनुहुन्थ्यो । कमरेड बामदेव गौतमकी बहिनी माया गौतम, क.मिना (तुलसा थापा), बहिनीहरु शान्ति सुवेदी, आजका सर्पविशेषज्ञ क.महेन्द्र कतिला सो बेला पनि गोमन सर्प जस्तै हुनुहुन्थ्यो । पार्टीसंग जहिल्यै पैठेजोरी खेल्ने । बहिनी अम्विका, क. रामचन्द्र तथा सोमनाथ प्यासीकी बहिनी क.प्रभा पनि पोखराकै बासिन्दा भएकाले अनिताजीलाई घुलमिल हुन समय लागेन । हाम्रो बेलाको पार्टी परिवार भन्दा बढी थियो । आजको जस्तो भाइमारा थिएन । आजत जस्ले कुम्ल्याउन सक्यो उसैले कुम्ल्यायो । एकआपसमा माया सद्भाव, भाइचारा भन्ने सब हराएर गयो । आफ्नै पार्टीका मन्त्रीहरुलाई कमिसन बुझाएर नियुक्ती प्राप्त गर्ने आजको पार्टीको कार्यदिशा हो । यी महान् छलाङ्गहरु हुन् आजका महान् पार्टीहरुका । केही दिनको छुट्टी लिएर म घर हिँडे । सायद घरको हालचाल बुझ्न हिँडेहुँला जस्तो पनि लाग्दछ । एक जुगको कुरो भएको हुनाले कारणहरु धुमिल भएका छन् यतिखेर । पोखराबाट बिहान बस चढेको म बेलुका दुईतीन बजेतिर तानसेन उत्रिएँ । सो समयमा तानसेन तम्घास नियमित बस सेवा सुचारु भइसकेको थिएन । ट्याक्टर तथा रसीयन ट्रकहरु भने फाट्टफुट्ट चल्न थालेका थिए । सिधै घरजान मन लागेन । तानसेनबाट पैदल हिँडेर ससुरालीघर सामाकोट पुँगे । सो रात ससुराली मै बसेँ । हुन सक्ने, भन्न सक्ने, सासुससुराले पत्याउनसक्नेजति झुट बोलेँ । स्कूल पढेर सकिएको, कलेज पढ्दै र इन्जिनीयरीङ्ग उद्योग खोलेको बनिबनाउ नाटक गरेँ । सासुससुराले के पत्याए होलान् र खै ? भंगेराले बाँसको टुप्पो नुहाएर भुँई छोएँ भनेर गफ लाएजस्तै कुरो थियो यो । पत्याए पत्याएनन् यो स्वप्नील कुरो भयो, तर पनि ससुरालीको मेजवानी मजाले उडाइयो र अर्को दिन बिहेमा उठेका तर घर लैजान नभ्याइएका थालटुका बाँटा आदि बोकेर यात्रा शुरु गरेँ गुल्मीतिरको । घर पुँगे । आमा खुशी भइन औधी । दुईटी बहिनीहरु थिए घरमा ससाना । कान्छो भाइ दुईढाई वर्षको हुँदो हो । बा लाहुर गएका थिए । भाइबहिनी पनि खुशी भए । बिहे घरको सल्लाहले गरिएको थिएन । पार्टीको सल्लाहमा गरिएको थियो । त्यति गहिरो कुरो आमाले बुझ्ने कुरै भएन । आमासंग पनि थुप्रै बनाबटी कुरो गरियो । “जेठीलाई ल्या भा हुन्थो” आमाले मनछुने कुरो गरिन् । आमासंग घरायसी कुरो गरेँ । ऋण धनको परिचर्चा गरेँ । बा प्रदेशीएपछि घरमा आइपरेका समस्याको बारेमा आमाले पोखेका दुखेसोले मन छायो । मेरो हातमा केही थिएन । किनकी म त पार्टीको पेशेवर कार्यकर्ता थिएँ । तर पनि “सबै मिलाउँछु आमै पीर नगर” भन्ने बिनामतलवको आश्वासन आमालाई दिएर जसरी गएको थिएँ, त्यसरी नै फर्किएँ । तर, आज गर्वले भन्नसक्छु, बाआमा दुबै सहिसलामत रहँदारहँदै जायजेथा, ऋणधन, यावतकुरा मिलाइदिएँ । आमासंग गरेको बाचा खेर गएन । कुरो जसरी पनि उही बाथरोगको आउँछ, घुमाइफिराइ । बिहान खाना खाएर यस्तै आठनौ बजेतिर घरबाट हिँडेहुँला पोखराको लागि । तम्घास आएँ, तर भुजेलखर्क दिदीभिनाजुको घरमा उक्लिन मनले मानेन । त्यहाँ पस्ने हो भने फेरि उही लम्बाचौडा कथा कहनु पर्ने हुन्छ । पढाई के भयो ? नोकरी के भयो ? कहाँ बिहे भयो ? कोसंग बिहे भयो ? जात के हो ? थर के हो ? यी सब कुराको नवाफ दिनसक्ने मसंग हिम्मत भएन । सिधै तम्घास बजारबाट तानसेनतिर हिँड्न ठिक्कपरेको खालीट्रकमा बसेर यात्रा शुरु गरेँ । आज ठ्याक्कै स्थानको बारेमा संझना छैन । तर तम्घास पार भैसकेपछि उर्लेनी वा गौडाकोटको बीचमा केही मान्छेहरुले स्याललाई बाँसको पेरुङ्गो भित्र पोको पारेर बाटो किनारमा राखेर उभिएको देखेँ । स्याल देखेपछि गुरुजीले ट्रक रोके । ट्रक रोकिनु र ममा हठात बाथरोग बल्झेर आउनु एकसाथ भयो । दामकाम मोलमोलाई भयो । ट्रक ड्राइभरले किनेनन् । स्याल मैले किने । कतिमा किने त्यसको संझना समेत छैन । तर, उचित दाम नै दिएँ हुँला जस्तो लाग्दछ । स्यालको यात्रा शुरु भयो, पोखराको । तर यसको पहिलोबास भयो, मेरो ससुरालीघर, जुगेपानी, सामाकोट पाल्पामा । “के के न बोकेर आउलान् भनेको त ! जमाई त स्याल पो बोकेर आएका छन् त बा !” सासुससुरा, काहिँला जेठानभक्तबहादुर गहतराज, जो हालसाले बित्नु भो उहाँहरु सबै चकित पर्नुभयो । भुक्तभोगि, जीवन बेहोरका मान्छे, “स्याल यसरी पेरङ्गोमा लैजाने होइन, मर्छ भन्दै” बाँसको घर बनाइदिनु भयो । स्यालको खेलासंगै मेरो बाथरोगको बारेमा बताएको हुनाले स्याललाई पोखरासम्म पु¥याउने चाँजोपाँजो मिलाइदिनु भयो । अर्को दिन एकाबिहानै ज्वाइँ र स्यालको यात्रा शुरुभयो बुटवलतिरको । तानसेन, बतुङ्ग, वालिङ्ग, स्याङ्जा हुँदै पोखरा जान मन लागेन यसपटक । किनकी बुटवल गएर जेठानहरुलाई पनि स्यालको पाठो देखाउनु जो थियो मलाई । सबै अचम्मित । सबै चकित । सबै बिस्मित । ज्वाइँले स्यालको पाठो बोकेर हिँडेको देखेर । कान्छी दिदीले आजसम्म पनि पनि जिस्काउनु हुन्छ मलाई स्यालको किस्सा सुनाउँदै । मलाई आफै अनौठो लाग्दछ, म कसरी त्यतिसाह्रो लहडी हुन पुँगे ? स्याल घासखाने जनावर त होइन । त्यसलाई पोखरा पु¥याउँदासम्म के खुवाएहुँला ? आफै त जोगी कस्ले देला बर भने झै, स्याललाई मासु कहाँबाट जोहो गरे हुँला ? खै ? कुनै संझना नै आउँदैन आजकाल । स्याल पोखरा पुग्यो । क.धर्मदत्तसंग यसको साक्षातकार भयो । किरण गररुङ्गको कार्यक्षेत्र अलग्गै थियो । सेक्रेटरीको हिसावले धर्मदत्त पोखरामै बस्नु हुन्थ्यो । अनिताजी रामनगर वा आजको फुटवल स्टेडियमको पछाडि दुईमध्ये एकठाउँमा बस्नुहुन्थ्यो । जोगीको जीवनमा स्याल थपियो । अव यसलाई चिरफार गरेर बाथको ओक्तो बनाउने कसरी ? यो फेरि अर्को महाभारत खडा भयो हाम्रो सामु । स्यालको हल्ला जताततै गर्न पनि भएन । दुबै भूमिगत कार्यकर्ता जो परियो । यसै त अनेक बहानावाजी गरेर कोठा लिएर बस्नु भएको थियो धर्मदत्त । धन्य यो बहुलठ्ठी कुरो इन्चार्ज क. बामदेवको कानमा भने परेन । परेकोभए के हुँदो हो ? यो कल्पना बाहिरको कुरो हो । बडो बिलखबन्दमा परियो । पालौ कसरी पालौं । पाल्न खान दिनु प¥यो । बाँसको खोरमा बन्द छ । कुईकईकुई गरेर हैरान । पिसावको गन्धले नजिक जान सकिँदैन । फेरि बिचरालाई भोकपनि लाग्दो हो । खुवाउनु के खुवाउन ? हत्या गर्नु कस्ले र कसरी गर्नु ? हामी दुई महान् कमरेडहरु क. शिरिर क. हेमन्तले क. श्यामलाई साँची राखेर गहन मिटिङ्ग आयोजनागरि युगान्तकारी निर्णय गरियो । जसअनुसार गुल्मीको जंगलमा हुइँया लगाउने स्याललाई कास्कीको चिसो जंगल चहार्ने जिम्मा दिँदै आजाद गरियो । स्याल साँच्चैनै कास्कीको जंगलमा बिलायो । मेरो बाथरोग पनि हलैहलै आफै निको हुँदै गयो । सायद स्यालसंगको दुईचार दिनको संगतले होला । बुटवल |

images
प्रकाशित मिति :माघ ४, २०७५ शुक्रवार - २०:४१:४८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend