चित्तबुझ्ने शब्द नै हात लाग्न छाडे आजकाल । जब शब्दको स्रोत नै बन्द भएपछि वाक्य कसरी बनोस् । लामो समय देखि चुपचाप छु । अझै केही समय यो मौनता कायम रहने संकेत पाएको छु मैले । लगभग दुई वर्ष ।
लगभग चार वर्ष भयो एक कहानी जुराएर बसेको मनमा । अनेक बहान बनाएर त्यसलाई टारिरहेको छु । पात्र संग भेट हुन्छ कहिलेकसो, हाटबजारमा । एकजना बहिनी हुुन् पाल्पातिरकी । श्रीमान प्रदेशिएको नै भयो लगभग बीस वर्ष । प्राध्यापक डा. हिरण्य ज्ञवालीले मेरो परिचय खुलाएका थिए, तरकारी किन्दैगर्दा ती बहिनीसंग । “यी पत्रकार हुन् । कहानी कविता लेख्छन् । यिनलाई बताउनु होला आफ्नो कुरो खोलेर बहिनी । लेखेर छपाई दिन सक्छन् ।”
फोटो खिचियो तरकारीको थाकसहित बहिनीको र फेसबुकमा पोष्ट गरियो छोटोमोटो क्याप्सन सहित । अनेक प्रतिक्रिया आए । सबभन्दा उपयुक्त प्रतिक्रिया थियो वैदेशिक रोजगारीमा संलग्न बहिनी आरिती वाग्ले भुसालको । उहाँले खुलेरै लेख्नु भएको थियो—दाइ सबै कुरा खुलाएर लेख्नु होला । बहिनीको नाम, उनका श्रीमानको, पासपोर्ट नम्बर र नाम ठेगाना । सकेसम्म हामी उनको खोजी गर्ने छौं उनको ।”
यतिका वर्ष बित्दा पनि लेख्न सकिरहेको छैन मेले बहिनीको आत्मकथा । कारण छन् अनेक । बहिनीको घर पाल्पा, दोभानबाट लगभग तीन घण्टा पैदल हिँडेरै जानु पर्ने । हिड्नु पनि हुन्थ्यो । तर जाने कोसंग ? कवि तथा लेखक कोपिला कुँवरलाई यो कुरो भनेको थिएँ एकपटक । उनी त्यतिबेला मास्टर्नी गर्ने । जानसक्ने अवस्था थिएन । पछि त घरजम नै भइसक्यो । पाल्पा छोडेर चितवनतिर लागेपछि रहलपहल आशा पनि हरायो ।
हाटबजार भर्न आउँछिन् बहिनी । बजारको दिन कुरो गर्न नमिल्ने । मसंग कुरो गर्ने की सागको मुठो बिक्री गर्ने ? लाग्छ कहिँलेकाही उनका सब सामान किनिदिउँ र चौपारीमा बसेर गफ गरुँ । तर, यो गफको मेसो कति असजिलो र अफ्ट्यारो छ, मलाई मात्र थाहा छ ।
कविता लेखेको छैन लामो समय भयो । पुराना कविताले गर्जो टार्ने गर्छु कहिलेकसो । आजकाल मासिक साहित्यिक कार्यक्रममा जान च्यात्तै छोडेकाले कविताको खाँचो पनि पर्दैन । बुटवल टुडेले नाता तोडेपछि साप्ताहिक स्तम्भ लेखनको वाध्याता पनि हटेको छ । ठिकै ग¥यो बुटवल टुडेले, मसंग लेखरचना नचाहिने कुरो गरेर । मसंग आजकाल समयको जो चाप छ, सो अनुसार लेख्न पनि सक्ने थिइन । यस कथनको पनि अलग पाटो छ, समय आउँदा कहँदै गरौला । जे होस् बुटवल टुडे, सम्पादक कृष्ण मल्ल तथा अनन्य मित्र बसन्त पोख्रेललाई धन्यवाद दिन चाहन्छु ।
कुनै पनि काम समयमा गर्न सकिन मैले । जहिल्यै लेट हुन्छु म । एक वर्ष स्कूल हापेँ, गाई चराउनिम् भन्दै । संगैका गणेशदाइ मलाई छोडेर अगाडि उक्लिए । एकवर्ष लेट भएँ । पछि आठ कक्षा पढ्दापढ्दै अर्कै स्कूलको चाँजो मिल्यो । सो स्कूलमा जाँदा कक्षा दोहो¥याएर पढ्नु पर्ने भयो । फेरि लेट मात्र भइन, संगैका साथीहरु गोमा, मिठु, बिक्रम, रुद, कृष्ण लगाएत थुप्रै साथीहरु म भन्दा अगाडि भए । प्रवेशिका पछि कलेज भर्ना भइयो बडो उत्साहका साथ । तर, राजनीतिको चस्को लाग्यो । कलेजी पढाई कलेजी रंग जस्तै लाग्न थाल्यो । कहीँ न कहीँ संमिश्रण नमिलेको जस्तो । मत गाढा रातो रंगको खोजिमा थिएँ, आमूल परिवर्तन सहितको । यही रातो रंगको खोजिमा फेरि लेट भइयो । संगैका साथीहरुले आइ.ए., बी.ए., एम.ए. सक्दा आफू जंगली भइयो । रातो रंगको चक्करमा लागेर पुनः ज्ञानको संसारबाट लेट भइयो ।
जहिल्यै लेट हुन्छु म । सबैकुरा च्यात्त छोडेर आसामका जंगलहरुमा चहार्दा लेटको विशाल पुनरागमनभ यो । नोकरीको चक्करमा छ वर्ष वेफ्वाकमा बिताएँ, त्यसले लेटमा अर्को इटा थप्यो । आसाम पुग्नासाथ ब्यावसाय शुरु गर्नु पर्ने वा पुगेको एकाध वर्ष भित्र निजी ब्यवसाय शुरु गर्नु पर्ने, त्यो गरिएन । मालिकको अनेक अपमान, मानमर्दन सहेर नोकरीको लिप्सामा टाँसिएर बस्नुभन्दा त आफै केही गरे नेपाल फर्किन सकिएला, पाउनु पर्ने हिसाव त्यातचुत पारेर निजी काम शुरु त गरियो, तर कमाएको पैसो तरलाउन नसक्नाले लेटको कथा फेरि दोहोरियो ।
लगभग लेट नै भइसकेको थियो, बहिनी सितल, भाइ टिपी, अनुप, विमलहरुले अन्तिम फेजआउटको कुरो नसंझाएको भए । भर्ना गर्दिन्छम् दाइ तपाईलाई हामी । नियमित जानु पनि पर्दैन क्लास लिन । परीक्षा दिएमात्र हुन्छ । खै कागजपत्र दिनुस् एस.एल.सी.का । संगैका साथीहरु प्रोफेसर हुनेबेलामा म भर्ना हुन पुगेँ बुटवल बहुमुखी क्याम्पसमा आई.ए.प्रथम वर्षमा ।
पढ्ने बानी हराएको वर्षौ भएको थियो । मनोहर कहानियाँ, गुलसन नन्दा, रानुका उपन्यास, लिलबहादुरको बसाईँ पढेर पास भइदोरहेनछ । तर पनि कटाइयो । यो कटाइयो भन्ने वाक्यको अगाडि जसोतसो थप्दा केही फरक पर्दैन । किनकी यति बिघ्न लेट मान्छेले जसरी तसरी कछुवाको तालमा भएपनि कटाउन सक्यो, यही नै ठूलो कुरो हो ।
नाती स्कूलबाट फर्केपछि मेरो शैक्षिकयात्रा शुरु हुन्छ आजकाल । नातीले स्कुल बुझ्छ, कलेज बुझ्दैन । स्कूलबाट आएपछि मेरो मोवाईमा कार्टुन हेर्ने उसको दैनिकी हो । चारबजे मलाई कलेज पुग्नु पर्छ । मलाई घरबाट कलेज पुग्न पैदल लगभग दश मिनेट लाग्छ कसिएर हिड्ने हो भने । पाँच मिनेट फाल्तु राखेर पौनो चारमा नातीसंग स्कूल जाने बहाना बनाएर मोवाइल हात पार्छु र झोला बोकेर बाटो लाग्छु । जानेबेलामा छतेराबारीको भान्सामा काम गर्दैगर्नु भएकी श्रीमतीजीलाई अनुमति लिन कहिल्यै भुल्दिन । आक्कलभुक्कल लेट भयो भने दोस्रो सेमेस्टरको जाँच दिएर बसेकी बुहारीले र अफिसमा काम गर्दै गरेको छोराले पु¥यादिन्छिन् कलेज गेटसम्म । कहिलेकाँही आफैलाई लाज लागेर आउँछ । सबै जसो मान्छेहरु पढालेखा गरेर जीवनको थाक्रा मिलाउनतिर लाग्छन् । म भने ठीक उल्टो थाक्रा मिलाएर मात्र पढाईतिर पो लागेको छु । हैन यो उल्टो मेसो ममा कसरी आयो हँ ?
कलेज छिर्दा गेटपालेले जहिल्यै नमस्कार गर्दछन् । उनी उमेरले मभन्दा कान्छा हुन् । तर मलाई के थाहा छ भने जुन दिन म कलेजमा पढाउन होइन पढ्न आएको हुँ भन्ने थाहा पाउनेछन्, सोही दिनबाट नै नमस्कार गर्न छाड्ने छन् । लेट हुनुको अर्को गहन परिणती हो यो ।

आजकाल बसन्त श्रेष्ठले कलेजको क्याल्टिन चलाउँदैनन् । नयाँ ब्यवसायी आएका छन्, हर्मिचौर, गुल्मीका फर्सुराम पाण्डे । मिजासिला छन्, मिक्चरमा मटर कम भयो है भन्नेले साहुका छोराले मुस्कुराउँदै थपिदिन्छन् । उनीहरुलाई भने थाहा भइसक्यो म मास्टर होइन भन्ने कुरो । रत्ना एसी, रेनुका थापा अन्तिम के.सी., बिदुर पौडेल, सन्जु सापकोटा, सुवास ज्ञवाली, रिना गुरुङ्ग, इन्जिनीयर कुशुम ज्ञवाली, कविता चापागाईँ, उमा भण्डारी, अस्मिता घिमिरे, बन्दना शर्मा, बृन्दा घिमिरे, विमला के.सी., इन्दिरा पन्थी, हर्क बहादुर वि.क., प्रतिमा जि.एम., प्रियंंका ज्ञवाली लगाएत भाइबहिनी छोराछोरी उमेरका साथीहरु संगै बसेर नमकिनमटरको मिक्चर खाँदा मलाई अनौठो पाराले हेर्छन् क्याण्टिनमा उपस्थित विद्यार्थीहरु । तारा प्रसाद पराजुली समाज परिवर्तनका सिद्धान्तहरु भन्ने विषय पढाउनुहुन्छ । उहाँको आदत बडो गज्जवको छ । मैले ब्याच्लरमा पनि उहाँसंगै पढेको हुनाले उहाँको पढाइको शैलीसंग भलिभाँती परिचित छु म । कतिपय कुराहरुमा उहाँ र मेरो मत मिल्छ । दाजु बसन्त श्रेष्ठ महेन्द्र हाइस्कूल तम्घास पढ्दाका साथी हुन् । आज यही कलेजमा पढाउँछन् । भाइ भनेर संवोधन गर्छन । कहिलेकाँही चिया खिलाउँछन् क्याण्टिनमा । उनलाई एक टिचरको रुपमा यसै कलेजमा देख्दा एक्लो महशुस हुँदैन ।
लेखनाथ खनाल, टिकाराम तिवारी र दलबहादुर पाण्डे जस्ता युवा शिक्षकहरु मेरा गुरुहरु हुन् । लेखनाथले मलाई सर भन्नु हुन्छ । मनमनै प्रतिवाद गर्दछु । मलाई संवोधन गर्दा बलबहादुर पाण्डेले जस्तै दाइ नै भनिदिए हुन्थ्यो जस्तो लाग्दछ । सबै विद्यार्थीहरु पढ्न आएजस्तो लाग्दैन । पछाडिको बेन्चमा बसेर हल्लै गरेर तीन घण्टा बिताउँछन् । धन्न गुरुहरु सहनशील परेर हो, मजस्तो झडंग्या परेको भए क्लासबाट खेदाइदिने थिएँ ।

गाह्रो छ पढाई । अंग्रेजी बेस राम्रो भएका र ब्याचलरमा समाजशास्त्र पढेर आएकाहरुलाई भने सजिलो छ । केही छात्राहरु सुगाजस्ता छन्, सरले भनेको ट्याप्पै टिप्ने । सरले पढाउँदा पढाउँदै भनेको कुरो कापिमा पनि उतारिहाल्ने । लेवल नै मास्टर्सको प¥यो । अंग्रेजी आउँदैन मलाई भनेर कसैसंग गुनासो गर्न नमिल्ने । खाए खा नखाए घिच । सेमेष्टरमा गएपछि सबै कोर्षबुक अंग्रेजीमा हुँदा रहेछन् । परीक्षामा भने नेपालीमा उत्तर दिइएला । तर प्रश्न त अंग्रजीमा नै आउने हो । त्यसैले धेरैको लागि भाषा टाउको दुखाई बनेको कुरो मेरो यो दुई महिनाको बुझाई रहेको छ ।
अवको दुई वर्षका कौतुहलपूण दिनहरु घर, बुटवल बहुमखी कलेज, विज्ञान भवनसंग जोडिएको तीनतले डिल्डिङ्गको तेस्रो तलाको कहिल्यै झाडु नलगाइने कोठा, कोठाको लगभग बीचको धुलाम्मे फलामे बेन्च, गुल्मेली पाण्डे बन्धुहरुले सञ्चालन गरेको क्याण्टिनको नमकिनमटरको मिक्चर, आधाआधी उमेरका साथीहरुसंगको सेरोफेरोमा बित्नेछन् ।
यत्ति दुई वर्ष बिताउँ । फास फेलको कुरोले त्यति महत्व राख्दैन मेरो जीवनमा । मात्र थप केही ज्ञान हाँसिल गरौं । लेटै सही, पाइण्टको पछाडिको पकेटमा कापी घुसारेर विश्वविद्यालयको प्राङ्गणमा पाइलो टेक्ने अधुरो इच्छालाई पुरा भने गरी छाडौ ।
अरु देखाजाएजा ।
२०७६ बैशाख ३, बुटवल