Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

२० सर्जकका २० चोटिला मुक्तकहरु

२० सर्जकका २० चोटिला मुक्तकहरु

सतीश चापागाईं

२२, बैशाख २०७६
images
मुक्तक -१ हरेक काममा गल्ती गरें, रोष यही छ मनको तर गलत काम गरिनँ, सन्तोष यही छ मनको गलत यहाँ कोही छैन, गल्ती कसैको पनि हैन म मान्छे अलि ढिलो चिन्छु, दोष यही छ मनको ! - सुनिल अधिकारी काठमाण्डौं ...................................................................... मुक्तक -२ मेरो अन्तिम क्षणमा कोही मलामी गनेर फर्किन्छन् यही बेलामा नाता,आफ्नो र अर्को बनेर चर्किन्छन् मलाई सम्झेर मुर्छित भैं भुइँमा ढल्ने तिमी मात्र हौ धेरै साथीहरु त हार्दिक श्रद्धान्जली भनेर तर्किन्छन् । - प्रकाश पाठक "योगी" चितवन ...................................................................... मुक्तक -३ तिम्ले गर्यौ बर्बाद मलाई, कर्म मेरो खाेटी होइन गल्ती गर्दा माफी दिएँ, मात्र एकचाेटी होइन मलाई पनि दुख्छ होला, भावनामा खेलिदिँदा मुटु हो यो मुटु मेरो, तिम्रो खेलको गाेटी होइन !: -निलञ्जला भारद्वाज काठमाण्डौं । ...................................................................... मुक्तक -४ (तीन अनुप्रासीय मुक्तक) धन्सारमा भएदेखि, नून चलाउन गाह्रो छैन संसारमा 'नून'ले चले, गुन फलाउन गाह्रो छैन 'गुन'लगाइ चल्न जाने, नीतिनियम छल्न जाने भन्सारमा जोसुकै हुन, सुन छलाउन गाह्रो छैन । - गोम बिक्रम तानसेन, पाल्पा । ...................................................................... मुक्तक -५ कति लुटपाट भयो कति झडप भयो आँखै अगाडी कलकारखाना एकाएक ठप भयो आँखै अगाडी राजनैतिक दलहरु उता प्रतिस्पर्धामा लडिरहँदा यता जनताको रगत तपतप भयो आँखै अगाडी - राजन"रोचक" ...................................................................... मुक्तक -६ छरपष्ट बन्दा पनि...एउटै कथा बन्यो जीवन हजार पटक गन्दा पनि एउटै कथा बन्यो जीवन उनीसँगै जोडिएछ...यात्रा मेरो जिन्दगीको अलग पारौं भन्दा पनि एउटै कथा बन्यो जीवन । - छिमेकी दाइ मोरङ्ग .................................. मुक्तक -७ प्रेमको पगरी छामी भावनामा खेल्ने हत्यारा थिए हरेक खुड्कोमा खुट्टा तान्ने उनै दुश्मन प्यारा थिए आधा पिउँदा पिउँदै आधा जिउन सिकेको मान्छे एक हरफ जिन्दगीमा कैयौं अक्षर अप्ठ्यारा थिए । - दयाराम शर्मा नवलपरासी हाल : कञ्चनपुर ...................................................................... मुक्तक -८ आफ्नो बारीमा कोदालोमा माटो थुपारी- तान्छु बाबा गल्ती भई दियो यदि भने पनि सुधारी- मान्छु बाबा जे जे फल छ गाउँघरको ताजा अन्न बालीहरू, साँझ बिहानीको छाकमा सधै उमारी -खान्छु बाबा !! - डि.पी. भावुक छत्कुली धादिङ । ...................................................................... मुक्तक -९ भूगोल नाप्न सकिएला, मन नाप्न सकिएन घर पोलेर तिम्रो निम्ति, आगो ताप्न सकिएन सुखसँग राख्दा राख्दै, दु:ख खोज्न मुन्टिनेलाई, रामराम भन्न सकिने भो, काँध थाप्न सकिएन । - कृष्ण न्यौपाने चितवन । ...................................................................... मुक्तक -१० पोहोर मात्रै देखेको हुँ, खरको छानो थियो तपतप चुहिरहेको, घरको छानो छ महिना के बसेथ्यो, बालुवाटारमा यसपाली त थपिएछौ, अर्को छानो । - मंगोलियन सम्राट धादिङ्ग हाल : साउदी अरब । ...................................................................... मुक्तक -११ जनताले चाहे अनुसार हामी चलाउँछौँ बालुवाटार सिंहदरबार हामी चलाउँछौँ निदाएर बस्नु भन्दा तेल हाली कानमा छोड बरु हाम्रो सरकार हामी चलाउँछौँ - गणेश प्रसाद खतिवडा सोलुखुम्बु । ...................................................................... मुक्तक -१२ सिमानामा गोली चलिरह्यो, सरकार सुनेर बस्यो देशको भन्दा अाफ्नै फाइदाका, जाल बुनेर बस्यो रेडियो समाचार दिदैछ, सीमा सुरक्षार्थ जनता मरे नालायक सरकार के सुन्थ्यो, कान थुनेर बस्यो । - खगेन्द्र समरस चितवन ...................................................................... मुक्तक -१३ सहेर व्यथा तिमीले आज संसार देखायौ आमा छोपेर लाज आँचल भित्र अमृत पिलायौ आमा पहिलो ताते त्यो"तोते बोली देखेरै थकाई मेट्यौ भुलेर पीर दुःखमा हाँस्दै जिउन सिकायौ आमा !! - मेनुका थापा बिर्तामोड, झापा ...................................................................... मुक्तक -१४ बस्ती बिर्सिएछ अनि घर बिर्सिएछ अथाह मनभित्रका रहर बिर्सिएछ हद भन्दा धेरै खुड्किला चढ्न खोज्दा पैतालाले हिँड्नुपर्ने सफर बिर्सिएछ । - दिनेश न्यौपाने कैलाली । .................................................... मुक्तक -१५ जिन्दगीको संघर्ष बिचमै हारेछु भने गाउँ छोडी अन्तै बसाइँ सारेछु भने प्रियाको बाध्यता बुझ है प्रिय तिम्ले यदि तिम्रो चोखो माया मारेछु भने !! - उमा पगेनी `दीप´ चितवन । मुक्तक -१६ अाफ्नै बनाऊँ सोच्दा पराई बनेर जान्छ बर्षौं गर्नुस् यो संघर्ष तथापि खेर जान्छ दूध पिलाई भगवान सम्झे पनि सर्पलाई सर्प सर्प नै हुन्छ एकदिन डसेर जान्छ । -खड्का जगत दोलखाली दोलखा । ..................................................................... मुक्तक -१७ शत्रु जति दंग पर्छन् मेरो मुस्कान देख्दा त्यसैपनि आँखा तर्छन् मेरो मुस्कान देख्दा पीडाभित्र हाँसी दिन्छु जलाइदिन्छु तिन्लाई जली जली कति मर्छन् मेरो मुस्कान देख्दा । - शारदा पौडेल चितवन ............................................................ मुक्तक -१८ टेक्ने धर्ती ओढ्ने आकाश आधा- आधा बाँडौं एक अर्काको खुशी,उदास आधा - आधा बाँडौं जन्म फरक भए पनि मृत्युसँगै बोलाउँला जीवन धान्ने मुठ्ठी सास आधा - आधा बाडौं - सफल गोले तामाङ रामेछाप । ............................................. मुक्तक -१९ बन्द हड्ताल उस्तै छ अझै चक्काजाम उस्तै छ विकृति विसंगति अनि कु-संस्कार तमाम उस्तै छ कस्ले विकास गर्यो भन्नु,कुन सरकार गतिलो ठान्नु ? बझाङ्ग उस्तै छ अझैसम्म डोटी,अछाम उस्तै छ - राजेन्द्र उपाध्याय बझाङ्ग । ........................................................................... मुक्तक -२० अभावले यो दुनियाँमा, कति मान्छे रून्छन् होला सम्पत्तिले बहुलाउने चाही, थोरै मात्र हुन्छन् होला दम्भ, स्वार्थ, कुसंस्कारमा, पुरै मुलुक फसी सक्यो पिडितका चित्कारहरू, अब कसैले सुन्छन् होला । - राजेश खोटाङ्गे खोटाङ्ग । ( - यी सबै मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो ।नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :बैशाख २२, २०७६ आइतवार - १४:१५:१८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend