१६, जेठ २०७६
मुक्तक -१
उर्लिन्छन् भावनाका छाल मनमा म बाधूँ कसरी ?
गुन्जिन्छन् संगीतका धुनहरु म नाचूँ कसरी ?
अपराधीलाई सधैं सुरक्षाको घेराभित्र राखेर हेर्नुस् ,
सुनाउँछ उखान टुक्का सरकारले म हाँसूँ कसरी ?
मुक्तक - २
यहाँ मात्र कहाँ हो र यस्तै छ चलन संसारमा, भन्नुहुन्छ
जनताहरु परे धेरै दु:ख-कष्टको मारमा, भन्नुहुन्छ
सधै आरोप प्रत्यारोप मै उत्रिरहनु हुन्छ नेता ज्यु
पाँच बर्षमै समृद्ध राष्ट्र बन्छ कुन आधारमा भन्नुहुन्छ ?
मुक्तक -३
प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आए, पनि देशले के पायो ?
जतिसुकै परिवर्तनका नारा लगाए, पनि देशले के पायो ?
राष्ट्र र राष्ट्रियता बचाउनको निम्ति लडेको वीर सहिदले,
नडराइ छाती फुलाएर गोली खाए, पनि देशले के पायो ?
मुक्तक -४
कहिले सुख कहिले दु:ख पिरमा छ, जिन्दगी
अनेकथरी दु:ख कष्टको जन्जिरमा छ,जिन्दगी
कहिले पनि बुझ्न न सकिने यो हेर्नुस् त
लालीगुराँस जस्तै भीरमा छ, जिन्दगी ।
मुक्तक -५
बगिरहने नदिको पनि कुनै आकार, हुनेभए
देखेका सपना जति सब साकार, हुनेभए
केका लागि बजेट छुट्याउँछस् ए सरकार,
कर्णालीमा सधैं खाद्यान्नको हाहाकार, हुनेभए ।
- कविता घर्ती मगर
सानीभेरी न .पा . - १४, माल्नेटा,
सल्यान ।
(-कविता घर्ती मगरका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।काम।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)
प्रकाशित मिति :जेठ १६, २०७६ बिहिवार -
२१:०३:५३ बजे