Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

विदेशमा रहेकी माइलीलाई गाउँले दमालीको चिठी

विदेशमा रहेकी माइलीलाई गाउँले दमालीको चिठी

सतीश चापागाईं

१८, आषाढ २०७६
images
  प्रिय माइली , आज तिमीलाई एउटा पत्र लेखिरहेको छु । डिजिटलको युगमा यसरी पत्र लेख्दा तिम्रो मस्तिष्कमा हजारौं आश्चर्यजनक कुराहरू खेल्छन् होला तर ती सब छोड अनि एकान्तमा बसेर मेरो पत्र पढ । हेरन के भयो भयो आज मलाई तिम्रो भक्कु याद आयो अनि तिमीलाई यो पत्र नलेखी बस्न सकिन । तिमीसँग बिताएका ती रमाइला पलहरू घाँस दाउरा गर्न जाँदा डाँडाकाँडा, भिर पहरा हाँस्दै-खेल्दै बिताएका ती स्मरणीय क्षणहरूले मलाई फनक्क घुमाएर तिम्रो सम्झनाको आगनमा पछार्नुसम्म पछार्यो । कति कति कुराहरू तिमीले भुलीसक्यौ पनि होला विदेशको हावा खाएर । आफ्नु गाउँघरकोभन्दा भिन्नै वातावरण भिन्नै परिवेशले तिम्रो तन मन सम्पूर्ण बद्लियो होला थाह छ घाँसको भारी केही अग्लो डिलमा बिसाएर हामी शीतलमा बसी कटुस खाँदै थियौ नि तब कुरै कुरैमा मैले कविताको जस्तै लयमा भनेको थिएँ : "माइली....! म मरे तिमी रून्छौ ? नरूनू है, ठ्याम्मै नरूनू जब म मर्छु तब मलाइ काँधेकाठमा सुताएर फूल मालाले सजाएर, चारजनाले काँधमा बोकेर तु..... गर्दै तल धोबीखोलामा लान्छन् अनि मलाइ दागबत्ती दिन्छन् , त्यसपछि मेरो चितामा आगो बलेको पुल्टो ठोस्छन्, तब म सिद्धिन्छु नि माइली म सिद्धिन्छु ।। " मेरो यो कुरा सुनेर तिमीले मलाई झ्वाम्मै अँगालो हालेर भक्कानिएर रोएकी थियौ , अनि तिम्रो नुनिलो आँसुले मेरो पछिल्लो भाग लछप्प‌ै भिजेको थियो । ती सबै कुराहरू मेरो मनमा आलै छ आजसम्म पनि । तिमीलाई त लेस मात्र पनि याद छैन होला नि ? सानू छँदा बर्खाको पानी झरीको याम होस या भतभती पोल्ने घाम होस घाँसमा नगइ नहुने दिनहरू थियो नि थाह छ तिमीलाई ? घाँसको भारी बोकेर ठमठम उकालो हिँड्दा दाम्को परेको पाइताला अब त वातानुकुल कोठामा बसी बसी काम गर्दा मेरो गालाभन्दा पनि चिल्लो र सफा भयो होला । नक्कल झक्कल नजान्ने, दम्भरहित पहिरन, दुई पट्टी केश बाटेकी माइली आज त कुन्नि के के गरेर केशलाई सल्लक्क पार्ने भएछौ केशमा रातो रातो रङ्हरू गरेर, आँखामा यत्रो बडे बडे सनग्लास लगाएर हिँड्ने भएछौ । आधुनिक फेसनको नाममा पल्ता पल्ता फित्ता भएको लुगा लगाएर पुष्ट पुष्ट फुल्लिएको वक्षस्थल देखाउँदै हिँड्ने भएछौ, मैले फेसबुक हो कि फासफुस भन्नेमा तिम्रो सबै नक्साहरू देखे । एकबारको जीवन आफ्नु खुसीले जिउनु पाउनु पर्छ म जान्दछु माइली ....तर नियम र अनुशासन हुन पनि त नितान्त आवश्यक छ नि । यो मेरो सुझाउ मात्र हो नरिसाउनू है । जंगल जानुको मजा नै भिन्नै थियो उ बेला । आधा बाटोमा घाँसको भारी बिसाएर वर पिपलको फेदमा उम्रेको पानी पिउनलाई मलातोको पातले खोची बनाइदिन्थे नि, तिमीले घटघटी त्यो चिसो पानी पिएको, घाँटीबाट तल सरेको दृश्य म आनन्द मानेर हेरिरन्थे अनि तिमीले तिर्खा मेटाइसकेर अन्जुलीभरिको जुठो पानीले मेरो अनुहारमा छ्याप्प,,, हानिदिएर भाग्थ्यौ नभेटिन्जेलसम्म म तिमीलाई खेदिरहन्थे अनि च्याप्प हात समाएर तिम्रो लाली चढेको गाला जोडसँग निमोट्थे । हरियो जंगलको उकालो ओह्रालो हिँड्दा नै तिमीले हंगकङ्गको सपना देखिसकेको रहेछौ, नानाभाँतीको सपना बुनिसकेको रैछौ । मलाई अत्तोपत्तो भएन मैले त सपना देख्न पनि जानिन, सपना बुन्न पनि जानिन । जाने त बाँसको चोयाले डोको बुन्न जाने । बिरामी भएर एकदिन पनि तिमी साथी नजाँदा मलाई निकै शून्य लाग्थ्यो म आफैमा हराउँथे, एक्लै बर्बराइरहन्थे । जब तिमी विदेश जाने समय आयो तब तिमीसँग छुट्टिनुको पिरले आहत भएको थियो, भन्नू हो भने तिमीसँग मेरो मायाको बीज अंकुरित हुँदैथ्यो मनमा । न एक गाँस घाँटीबाट तल झर्यो न रातमा निन्द्रानै लाग्यो । तिम्रो चाहना मेरो चाहना, तिमी जाने नै भयौ । भन्दा न भन्दा विदेशिने दिन पनि आयो तिम्रो लगेज गाडीमा हालिदिनसम्म भ्याइन मैले किन कि घाँस मा जान हत्तार थियो।तिमीलाई एयरपोर्टसम्म छोड्न जान सकिन किन कि जंगल जान नै बेर भैराथ्यो माइली मलाई । सायद मन दुखायौ पनि होला माफ पाऊ । तिमी गाडीमा चढेको मैले निर्निमेष हेरिरहेको थिएँ तिम्रो घरको माथिल्लो डिलबाट । त्यतिबेला तिम्रो फराकिलो निलो चहकिलो मुहारमा कालो बादलले छेकेको थियो सायद तिम्रो मनमा पनि केही न केही त अवश्यै थियो होला मप्रति । तिमीले, ओइ काले .....भनेर बोलाउँदा झसङ्ग भएर अत्तालिदै हात हल्लाएर टाटा गरेथे मैले मानी नमानी किन कि तिमी तिमी नै थियौ मेरो लागि । मेरो हाँसो नै तिमी थियौ मेरो खुसी नै तिमी थियौ तर बस यति हो मनको कुरा मनै दबाएर राखे । कति बर्ष बिते आज मलाइ किन हो किन तिमीसँगको त्यो सानू हुँदाको यादहरूले सताइरह्यो , तिमी र म माझको आलाप बिलाप, लडाइ-झगडा अलिकति आफ्नुपन अलिकता माया । तिमी कहिले आउँछौ र तिम्रो उज्यालो मुखमण्डल हेरेर फेरि त्यही मायाको आभाष गरुँ भनी घरदेखि परको कुइनाटालाई नै एकोहोरो हेरिरहेको छु । चाँडै आउँछौ भन्ने आशा राख्दै आजलाई कलम बिसाएँ । तिम्रो प्यारो बाल्यपनको साथी पन्खाबारी, खर्साङ्ग, दार्जीलिङ । (अजय, गोर्खे मुटुले परदेश गएकी आफ्नी बालसखा माईलीलाई लेखेको यो पत्र साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ १८, २०७६ बुधवार - २१:५४:०७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend