प्रिय आदिकवि
हिजो मात्र पुगेको हुँ
तिम्रो जन्मस्थल तनहुँ !
जहाँ,
भेटिन्नन् कुवा, न घाँसी भेटिन्छन्
तिर्खाएका सबै प्यासी भेटिन्छन्
भएका सारा मासिए! बनेनन् नयाँ
पिडामा चुँदीरम्घा बासी भेटिन्छन् !
आजै मात्र फर्किएको हूँ
तिम्रो अलकापुरी -कान्तिपुरी नगरी
जहाँ भेटिन्नन् एकसुरमा गाइरहेका
चपला, अबलाहरू
अनि भेटिन्नन् वासना छर्दै फुलेका
गुनकेशरीका बुकीहरू
बरू भेटिन्छन् आफ्नै सुरमा
गगन चुम्न उद्धत महल
अनि प्रसस्त घरधुरीहरू
अनि भेटिन्छन् वासना बिहिन बनाइएका
तिनै चपला र अबलाका मायाका अवशेषहरू
मन भारी भएर आउँछ
प्रिय आदिकवि !
कुन बेहोराको पत्र कोरूँ
यतिबेला म तिमीलाई !
तिमीले भरेको नेपाली शब्दको
भण्डार चुलिनुको साटो चुहिंदो छ
तिमीले छरेका शब्दका बीजहरू
बारीमा घारी भएर झाँगिनु साटो
सुख्खा खडेरी झैं टारीमा बदलिंदो छ !
स' को खुट्टा काट्नु साटो स' कै
अस्थित्व मेटाउन उद्धत भेटिन्छन्
यता भाषाका पुजारीहरू
जथाभावी हलन्त राखेर लेखान्त बिगारेका
ज्वलन्त उदाहरण पस्किन
चाहन्न म यतिबेला !
हुन्छन् एकाध कवि गोष्ठी
गरिन्छन् माल्यार्पण तिम्रा
शालिकहरूमा, अनि
पढिन्छन् अग्रगामी धारका क्रान्तिकारी कविता
परन्तु: पढिन्नन् 'रामायण' कतै
न सुनिन्छन् 'बधुशिक्षा' र 'प्रश्नोत्तरी' माथिको
सवाल र जवाफ नैं !
यस्तो विषम परिस्थितिबाट गुज्रदैं
भन प्रिय आदिकवि
कुन बेहोराको पत्र कोरूँ म तिमीलाई !
माटोले भुलेका तिमी
बिर्खे टोपीको छायाँमा परि
भादगाउँले टोपी अनि
लुगा फाटोले भुलेका तिमी
भाषा अनि भेषले भुलेका तिमी
झण्डै-झण्डै यो देशले भुलेका तिमी
प्रिय आदिकवि !
म जब-जब अलिक पर
दार्जिलिङ्ग पुग्छु, आसाम अनि नागाल्यान्ड पुग्छु
त्यतिमात्र हैन नेपाली भाषी
जहाँ-जहाँ छरिएर रहेका छन्
तिनको मनको नजिक पुग्छु
अनि पाउँछु वास्तविक भानुप्रतिको
आगाध माया अनि तिमीप्रतिको स्नेह भाव:
अनि गर्छु गौरबको अनुभूति !
प्रिय आदिकवि !
एउटा कवि मन हुनुको नाताले
यो भन्दा बढी चिन्ता केनैं
जताउन सकूँला र म
जुन सिङ्गो राज्यले त सकेन
या त चाहेन उस्ले !
अस्तु !
©उत्तम विचार
२०६औं भानु जयन्ती'०७६ ।
(- उत्तम भेटुवालको कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)