३, श्रावण २०७६
मुक्तक -१
मेलमिलाप गरेर सबै भाग मिलाए
ठूला-साना हेरेर सबैलाई खिलाए
बोल्नभन्दा धेरै तमासा हेर्छन् यहाँ
किन सबैले अा-अाफ्नो मुख सिलाए ?
- शारदा घिमिरे भैल
मुक्तक -२
गाउँबस्ती, देश र जनता सबलाई पिर्यौ अति भयो
छाला काट्दा नदुख्ला बरु मनै चिर्यौ अति भयो
झुप्राहरुको भर्याङ बनाइ आफू माथी उक्लिएर
त्यही झुप्रामा आगो झोँसी महल छिर्यौ अति भयो ।
- केशब बस्नेत
मुक्तक -३
जनताले दिएको मान-सम्मान, भुल्नुभयो आज
सिंहदरबार पुग्दा आफ्नै पहिचान, भुल्नुभयो आज
हिजो देश बदल्ने सपना देखेर हिँडेका सहिदहरुको
त्यतिधेरै त्याग तपस्या र बलिदान, भुल्नुभयो आज ।
-कविता घर्ती मगर
मुक्तक -४
सैतानी चलखेलहरु, सधैका लागि ढल्नुपर्छ
आफ्नै मन मस्तिष्कमा, चेतनाको दियो बल्नुपर्छ
माटो हेरेर पो काम गर्नु, देशैको किन बदनाम गर्नु ?
साह्रै भयो नेपाली अब, स्वविवेकले चल्नुपर्छ ।
✍ गोम बिक्रम
कल्लाबारी, पाल्पा ।
मुक्तक -५
चाकरी चम्चागीरी जान्ने जुनसुकै खालमा पनि अटाउँछ
बोल्नेकै पीठो बिक्छ यहाँ चिप्लो घस्नेले ईनाम पाउँछ
मिडिया हमेशा दाइने रहुन्, चाप्लुसीले ठाउँ पाईनै रहुन्
पहिलो हुने वर्गीकृतमा हजुर, तेश्रोलाई मुखपृष्ठमा ठाउँ छ !
- सुनिल अधिकारी
स्वयम्भू, काठमाण्डौ ।
(✍️ ५ स्रष्टाका ५ मुक्तकहरूहरू साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)
प्रकाशित मिति :श्रावण ३, २०७६ शुक्रवार -
०९:३२:२९ बजे