Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

ठेकेदार (कथा) - सुधीर कुमार सुमन

ठेकेदार (कथा) - सुधीर कुमार सुमन

सतीश चापागाईं

४, श्रावण २०७६
images
  कटट....कटट दलिनमा काठेकीरा ले निकालेको आवाज टड्कारो सुनिँदै थियो । बाँसको चिपटीले बारेको । भर्खरको बर्खा कनि कुथी धानेको खरको छानो । ठाउँ -ठाउँ मा परेका प्वालहरू बाट जून-तारा लुकामारी खेल्दै थिए। तलपट्टि लहरै बिछ्याइएको निख्लो गुन्द्री । त्यसै माथी एक सरो च्यादर ओढेर तीन शरिर मस्त निन्द्रा मा थिए। लाग्थ्यो उनीहरू धेरै बर्ष पछिको भाते निन्द्रा मा मस्त भएका हुन् । दिनभरी काम बाट थाकेर घर फर्किएको भए पनि मने कान्छालाई आज पटक्कै निन्द्रा लागेको थिएन। उसकी श्रीमती र दुई लाला बालाहरू निस्लोट सुतेका थिए । मने बेला-बेला खुइय्य सुस्केरा काढ्दै छानो तिर हेर्थ्यो यस पाला पनि घर छाउन नसकिने भय ले ऊ ग्रस्त देखिन्थ्यो । बाँस का खाँबाहरू पनि नफेरी नहुने भएको थियो। ढोका को पक्ल्याँटो पनि बर्खा को पानी ले कुहिएर अधमरो भैसकेको थियो । घर भित्र सम्पत्ति हुँदो हो त चोर ले उहिल्यै दाउ पारी सक्थ्यो होला । बिहान काम मा निस्किने बेला मा कान्छो छोरा ले "बाबा हामी चाही नयाँ नाना किन्न शहर कहिले जाने" भने देखि ऊ एकोहोरो भएको थियो । दिउँसो काम मा पनि खासै मन नलगाएको देखेर साहुको गाली पनि खाएको थियो। दशैँ आइपुग्नै लागेको थियो। पोहोर पनि साहु को छोरा को जडौरी लाई नयाँ नाना भन्दै मख्ख परेर छोरो हाँस्दा उसको मन तम्तम्याइलो बनेको थियो। यस पाला दशैँ मा त छोरा लाई नयाँ लुगा किनिदिनै पर्छ भनेर असार देखुन नै पैसो बचत गरेको थियो उसले । अस्ति बजार जाँदा एउटा चिटिक्क परेको झम्के जाँगे खुब मन पराएर मूल्य सोधेको थियो । आफ्नो खल्ती को बचत भन्दा तीन गुणा मूल्य सुनेर ऊ फरक्क फर्किएको थियो। 'आउनु न दाई म मिलाएर दि हाल्छु नि ।' भन्दै साहुजी ले बोलाउँदा पनि ऊ सासै नफेरी खल्ती सुम्सुम्याउँदै बाटो लागेको थियो। हाम्रा बाउ ले कसरी यत्रो व्यवहार धानेका थिए होलान। मने आफू लाई दु:ख पर्दा आफ्नो पिता लाई सम्झिन्थ्यो। जस्तोसुकै भए पनि दशैँ मा नयाँ नाना किनिएकै हुन्थ्यो । सानो तिनो भए पनि आँगन मा बोका काटिएकै हुन्थ्यो। मने का दाजु बहिनी आँगन को पिँङ मा पालै पालो चचहुइ गर्दै खेल्थे। मने का बाउ ले जेनतेन पुर्याएकै थिए । खेती पाती बस्तु भाउ सबै थियो। सप्पै पुगिसरी नभए पनि बिहान बेलुकी टन्न खाने व्यवस्था गरेकै थिए । मने लाई अझै याद छ त्यो दिन । केही थान बर्दीधारी आएर तँलाई सुराकी, परिवर्तन विरोधी भन्दै उसको पिता लाई घिसार्दै तर खोल्सा तिर लगेका थिए । त्यसको तीन दिन पछि पल्लो गाउँ को जंगल मा उसको पिताजी को लाश भेटिएको थियो । शरीर भरी खुकुरी का घाउहरू थिए । आधा शरिर स्याल गिद्द ले लुछेर चिन्दै नचिनिने भैसकेको थियो । पिताजी ले आफू सँग सँगै घर को सह पनि लिएर गए । साँच्चै भन्नु पर्दा उनीहरू को सुखका दिन बाबा सँगै चिता मा जलेको थियो। कलिला लालाबाला आमा ले बहुत सकस गरेर हुर्काएकी थिइन् । भूकम्प मा घर ले च्यापिएर आमा लाई एकै गाँस बनाएपछि मने को संसार त्यसपछि भताभुङ्गै हुने गरी भत्किएको थियो । त्यसपछी नै हो आफ्नो पुर्खा को थलो छोडेर मने ससुराली ले दिएको फोगटा मा यही कटेरो हालेर बस्न थालेको । "कटट...! कटट... !! कटट... !!!" आवाज झनै चर्को भएको जस्तो लाग्थ्यो। उसै त निन्द्रा नलागेको त्यही माथी झिंझो लाग्ने आवाज । खल्ती छामछुम पार्यो । दिउँसो किनेको गोल्डेन सुर्ती निकाल्यो । एक फाँको निकालेर तल्लो ओठ मा चरप्प च्याप्यो । फेरि बिगत कै कल्पना मा डुब्न थाल्यो । बहिनी हुने खाने मा नै परेकी थिइ । ज्वाइँ गतिलै इलम गर्ने परेका थिए । पुरानो घर, आमा हुन्जेल त बहिनी पनि माइत आइराख्थी। चाडबाड रमाइलो हुन्थ्यो। तर उसको अबस्था बिग्रिएपछि बहिनी ले पनि माइती को माया मारेकी थिई । तीज, दशैं, तिहार कहिल्यै छोरी चेली को मुहार देख्न पाएन उसको कटेरो ले । गरिबी ले छोरी चेली पनि टाढा गराउँछ भन्थे हो रहेछ । बाबा हुन्जेल गरिबी भनेको के हो केहो थाहा नभएको मने बल्ल बुझ्दै थियो। व्यवहार ले पेलेपछि मानिस कस्तो कस्तो काम गर्नु पर्दो रहेछ भनेर बल्ल जान्दै थियो। पिताजी हुँदा का सुख को पल र नहुँदा को यो कहाली लाग्दो दुख एक एक गरेर उसको मानसपटल मा बुर्कुसी मार्दै आउने र जाने क्रम जारी थियो । आडै मा सुतेकी श्रीमती लाई हेर्यो। च्यातिएको लुङ्गी र जेनतेन लाज ढाकेको ब्लाउज माथी सर्सर्ती आँखा दौडायो । बाँस को चिपटी र चुहिने छानो बाट छिरेको जून को प्रकाश को फाइदा उठाउँदै अलि-अलि उज्यालो मा धित मर्ने गरि आफ्ना लाला बाला लाई हेर्यो । आफैले आफैलाई धिक्कार्यो । खुब सुख ले पाल्छु भनेर ल्याएकी श्रीमती देखेर खुबै ग्लानी भयो। सम्पत्ति नभए पनि छोराछोरी को नाम धन बहादुर र धनी माया राखेको सम्झियो । छोरा छोरी को अनुहार हेरे पछि मन अलिकति भए पनि खुसी हुन्थ्यो उसको। जति सुकै दु:ख भए पनि थाकेर आउँदा छोरा छोरी दगुर्दै झोला खोतल्न आए पछि ऊ खुब खुसी हुने गर्थ्यो। उसका पिताजी पनि उस्तै थिए। जता बाट आएका भए पनि खल्ती मा उसलाई र बहिनी लाई चक्लेट ल्याइदिएका हुन्थे।बेला बेला आमा को आँखा छलेर दुई चार रुपैयाँ हात मा राख्दिन्थे। दाजु बहिनी दगुर्दै नजिकै को पसल मा गएर सुन्तला मिठाई चपाउँदै घर फर्किन्थे। बाउ भने पछि दाजु बहिनी झुत्तै परेर आउँथे ।सम्पन्नता को हिसाब ले ऊ बाउ जस्तै हुन नसके पनि छोरा छोरी लाई माया गर्ने हिसाब ले चाहिँ ऊ साँच्चिकै आफ्नो बाउ जस्तै हुन चाहन्थ्यो । आफ्ना लाला बाला लाई बाउ ले जत्तिकै माया गर्न चाहन्थ्यो। अनि उस्तै स्याहार गर्न चाहन्थ्यो। मन भरी माया थियो अटेस मटेस। रित्तो थियो त केवल खल्ती । रात का प्रहर हरू उसै गरी छिप्पिँदा थिए । उसका मन काठेकीरा ले खाएको काठ जस्तै धोद्रो हुँदै थियो। कटट कटट आवाज जस्तै उसका मन बाट पनि बेग्लै आवाज आइरहेको थियो। शान्ती भड्काउन यी दुबै आवाज काफी थिए उसको लागि। श्रीमती बिहानै उठी । बिहानी पख झुपुक्क निदाएको ऊ श्रीमती ले " ए बुढा !! उठ है। नुहाइ धुवाइ गर्नु पर्छ । आज त बाबा को एकछाकी पो हो त"। भनेपछी आँखा खोल्छ । एक छाकी ले त घर कै रासन जोगाउँछ । तर भोलि को श्राद्द मा पुरेत लाई दिनु पर्ने दक्षिणा अनि खान पिन को हिसाब लगाउँछ । न खल्ती मा पैसो थियो न त कतै रिन गर्ने अबस्था नै थियो। ठूला घरे सँग पोहोर लिएको रिन पनि ब्याजको स्याज गरेर दोब्बर भैसकेको थियो। "आ छोड्दे है बूढी एकछाकी को चिन्ता । बाउले माथी पाउँछन् नै भन्ने पो के गिरेन्टी छ र ?"। बरु आज शनिबार को दिन । दिउँसो खाना खाएर सबै परिवार घुम्न जाने हो। "लौ जेसुकै गर धर्म छाडा ।" श्रीमती खुट्टा बजार्दै आफ्नो काम मा लागिन । दिउँसो खाना खाएर अस्ति आफ्नो घर मा आएका पास्टर को चर्च मा पुगे सबै परिवार। फर्कँदा मने मुन बनेर फर्कियो । छोरा छोरी को नाम ड्यानी र डाइना बनायो । केटाकेटी हरू नयाँ नाम पाएका मा खुसी देखिए । मुन उर्फ मने भने अब भोलि श्राद्द को लागि लाग्ने खर्च ले कमसे कम एक पाखो भए पनि कटेरो छाउन सक्ने खुसी ले मख्ख पर्यो । माथी बाटी हेरिरहेका त्रिदेव " लौ यी धर्म का ठेकदारहरू ले। नाना भाँती भन्दै गरिब लुट्ने दाउ मात्र गरिरहे भने पृथ्वी लोक मा हाम्रा अनुयायी भेट्न पनि हाम्लाई सकस पर्नेछ ।" भन्दै चित्त दुखाइरहे । – गाउँशहर, लमजुङ्ग । (- सुधीर कुमार सुमनको कथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :श्रावण ४, २०७६ शनिवार - १०:०७:०९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend