९, श्रावण २०७६
आँसुको सागरमा डुबेर,
रविको पहिलो स्पर्शसँगै उठेर,
पारिवारिक सुख, सन्तुष्टीको लागि
आफ्नो हरेक खुशीलाई त्यसै थाँती राखेर
दैनिक गृहकार्यमा लाग्ने,
आँधी र तूफान उठेर,
दैव पनि जुटेर, बज्रपात गराएर,
त्यो झुपडीमा विभिन्न बाधा
अनि अड्चनका अस्त्र
नआएका होइनन्
तर
दुर्गा, सरस्वती, भगवती,
काली, सिता, पार्वती बनेर
प्रतिकार गरिरहेँ . . . .
बाहिरी प्रहार कुनै आउन दिइनँ,
परिवारमा अँध्यारो छाउन दिइनँ,
जोगाएर राखेँ विश्वासका पर्खाल
जँगे पिल्लर जसरी खडा भएर
हरेक चुनौतीमा स्वयं
ढाल बनेर उभिएँ
शिकारीको शिकार बन्ने,
भोकाएका र तिर्खाएका
व्वाँसाहरूको आहारा बन्ने
हो ........।
चिन्न पो त सकेनौँ कसैले
निर्मला, सिता, गिता, राधा,
कमला, बिमला सबैले तिम्रो
भोक, प्यास, मेटाए थाहा छ
आफ्नै प्राणको आहूती दिएर
त्यसरी नै हरेक पलमा तिम्रा
खुशीका लागी रक्तकुण्डमा
चुर्लुम्म डुब्दा पनि तिम्रो स्वार्थको
प्रेममा प्रेम छर्न बाध्य
बनेँ . . . . .
मलाई पीडा हुँदा खुशी हुने,
गुराँसका रङ्गसरी रक्त बगाउँदा
आनन्दित प्रफुलित हुने,
पीडाले कराउँदा
गर्वले छाती चौडा
अझैँ चेतना फैलिएको छैन,
विचारमा परिवर्तन छैन,
अझैँ म उही हुँ,
उही ठाँउमा
साँच्चै
हर रात उज्यालो जून जस्तै
एकनास बग्ने नदि जस्तै
मन्द मन्द बहने हावा जस्तै
परिवर्तन बिनाकी
आदिम युगकी किन्नरी बन्न नसकेकी
ज्वालामा जल्न विवस
म स्त्री...
भरतपुर -२३ जगतपुर, चितवन नेपाल
हाल : दोहा कतार
(- प्रकाश पाठक "योगी"को कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक।)
प्रकाशित मिति :श्रावण ९, २०७६ बिहिवार -
०८:५१:५३ बजे