१०, श्रावण २०७६
एस. एल. सी. को रिजल्टपछि के पढ्ने भनेर निर्क्यौल नै गर्न सकेको थिइन। यो फुक्का लाइफ बडो इन्जोय भै रहेको थियो । एक्कासी बिहानै बाबाले "फलानो क्याम्पसमा इन्ट्रान्स छ रे जा" भनेर भन्दा पो झसङ्ग भएँ ।
जुल्फी परेको कपाल सर्लक्क पारेँ । हिरो बनेर लागेँ कलेजतिर । इन्ट्रान्सको लागि फर्म पनि भर्नु थियो । कलेजको अन्तिम इन्ट्रान्स थियो । फर्म भर्न रिसेप्सनतिर जान के लागेको थिएँ आँखा अगाडि परीको आगमन भयो, गाजलुआँखा, लरक्क परेको झरना जस्तो कपाल पिठ्यूँसम्म आइपुगेको । ओहो म नाथुले कसरी वर्णन गर्नु ? उनी पनि इन्ट्रान्स दिनको लागि नै आएकी रहेछिन्। सायद अरु सबैले फर्म भरेर गैसकेका थिए रिसेप्सनमा हामी दुई मात्र थियौं ।
उनी आफ्नो कोमल हातले कलम घुमाउँदै फर्ममा आफ्नो विवरण सजाउँदै थिइन । म भने उनको सुन्दरताको रसपान गरिरहेको थिएँ । उनी भने मलाइ हेर्दा पनि नहेरी आफ्नै धुनमा मस्त थिइन ।बिहान हिँड्ने बेलामा सबै कुरा सम्झिएको थिएँ ।चश्मा लगाएकै थिएँ, बास्नादार अत्तर पनि छर्किएको थिएँ,अलि अलि जेल लगाएर जुल्फी पनि लर्काएकै थिएँ । तर भुल्नै नहुने कलम पो बिर्सेको रहेछु । एक मन त सोचे ठिकै भयो । कुन बहाना बनाएर बोलअंँ भन्ने भैरहेको थियो । कलम माग्ने बहानामा बोल्न मलाइ पनि सजिलो हुने देखें । मनमा लड्डु फुट्न थालिहाल्यो ।
उनले फर्म भरिसकेर पुलुक्क मतिर नजर लगाइन् । उसै त उनको सुन्दरताको तिरले घायल भएको यो निरीह उनको नजरको बाण लागेपछि त म भुतुक्क भएँ । उनले मलाइ हेरेर सोधिन - "तिमी पनि फर्म भर्न आएको हैन र ? फर्म नभर्ने ?" अघिसम्म कसरी बोली सुरु गर्ने होला भनेर योजना बनाइरहेको म उनले आफै वार्तालाप शुरू गरिदिँदा पागल जस्तै भएको थिएँ । तर पनि मनले कन्ट्रोल कन्ट्रोल धेरै एक्साइटेड नहोऊ भाई भनिरहेको थियो । "मसँग त कलम पो छैन त तिमीले भरिसक्छौ अनि कलम मागौंला भनेर कुरेर बसेको !" उनले पनि मुसुक्क हाँसेर कलम मेरो हातमा थमाइन । फर्म भर्दा पनि उनी मलाई नै हेरेर मुस्कुराइ रहेको जस्तो भैरह्यो । त्यो मुस्कान यो मुटुमा यसरी गढ्यो सायदै आकाशबाट बर्षा बर्षिदा फूलहरु त्यसरी नै मुस्कुराउँथे होला ।
"कति बेर लगाको चाडै भर न ?" - उनले मलाई काँधमा थप्थपाउँदा पो म झसङ्ग भएँ । ओहो कल्पनामा पो डुबिएछ । हतार हतार फर्म भरेर सकें । रिसेप्सनको घडीमा भर्खर १०:३० भएको थियो ।इन्ट्रान्स २ बजेबाट शुरू हुने भनिएको थियो । उनले सोधिन - "अब यत्रो समय कहाँ गएर बिताउने त ?" मन त कतै क्याफेतिर, कतै पार्कतिर उनीसँग जान पाए , केही प्रेमील कुराहरू गर्न पाए हुन्थ्यो भन्ने थियो । तैपनि मन मारेर तिम्रो इच्छाको प्यासेन्जर जता भन्छौ तेतै लैजाऊ भन्न करै लाग्यो । " त्यसो भए लाइब्रेरी जाऊँ । उतै बसेर कम्बाइन स्टडी गरौला " -उनले भनिन् म उनको पछि-पछि स्वचालित कठपुतली झैँ लागेँ ।
बिहान घरबाट निस्किँदा घर नजिकको मन्दिरमा घण्टी बजाएर आएको थिएँ । त्यसैले होला लाइब्रेरी पनि खाली थियो । लाइब्रेरिमा साइलेन्स प्लिज लेखिएको बोर्ड हेरेर उनी र म दुबै हाँस्यौ । सायद उनलाई पनि मसँग कुरा गर्ने मन थियो होला मलाई त झन नहुने कुरै भएन । भित्र सुनसान थियो । हाम्रो युगल जोडी मात्र थियौँ लाइब्रेरीभित्र । उसोमाथी कसरी बातचित शुरू गर्ने भनेर सोच्न नसकेको म त्यसैमाथी साइलेन्स प्लिज भन्ने बोर्ड देखेपछि त व्यर्थै आइएछ जस्तो लाग्यो ।
साइन्स बुक निकालेर हेर्न थालेँ उनी पनि म नजिकैको कुर्सीमा बसिन् । कत्ति न पढन्दास मान्छे झैँ म भने उनलाई हेर्दै नहेरी किताबमा आँखा लगाएर बसें केही बेर उनकै मुस्कान सम्झिँदै बसिरहेँ पढेको जस्तो गरेर । एक्कासी "तिमी पढ्न आको हो ?, केही पनि बोल्दैनौ त ? इन्ट्रान्समा टप गर्ने विचार छ क्या हो ? आफू अगिनैबाट तिमी कति खेर बोल्छौ भनेर कुरेर बसेको !"। उनीबाटै बातचित शुरू भै गयो । मनमनै कति खुसी भए सायद शब्दमा कसरी बयान गर्नु।म त कल्पनामा नै मग्न थिएँ । त्यै घायल पार्ने मुस्कान नै मुटुमा गढेको थियो । लाग्दै थियो अब मनले योभन्दा बढी खुसी झेल्नै सक्दैन । बोलीरहन पर्ने मान्छे म आज किन चुप्चाप थिए आफै दङ्ग थिएँ । "तिमी साँच्ची नबोल्ने ?" उनले फेरि प्रश्न तेर्साउँदा त म झसङ्ग भएँ । " लो कुरा गरौं न त !" - उनीतिर हेर्दै मुसुक्क हाँसेर भनें ।
नरम हात मतिर तेर्साएर उनले भनिन् -"तिम्रो नाम के हो नि ?"
"म प्रज्ञान तण्डुकार । अनि तिम्रो नाम शुष्मा सेढाइँ है ?" - मैले यति भनेको के थिएँ, उनी त लाजले लालीगुराँस जस्ती भइन् । त्यो धपक्क बलेको अनुहार त्यसैमाथी गालाहरू स्याउ जस्ता देखिँदा त मन त्यसै भुतुक्क भैहाल्यो । उनले लजाउँदै सोधिन् "ओहो कसरी थाहा पायौ मेरो नाम । तिमी त ज्योतिषी हो कि क्या हो ? मैले पनि मुसुक्क हाँस्दै भने - "अघि तिम्ले फर्म भर्दा देखिसकेको थिएँ नि त मैले । अझ फोन नंम्बर पनि याद भैसकेको छ ।"
"हैट तिमी त खुबै बाठो मान्छे रहेछौ । किन घोकेको त अर्काको नम्बर ?"
"साथी बनाउन नि " - मैले हाँसेर जवाफ दिएँ ।
"भो नबन्ने यस्तो बाठो नेवारसँग साथी । नेवार इष्ट हुँदैनन् रे हाम्रो बाले भनेका ।" उनी पो झन् मलाई जिस्काउन थालिन् ।
"मलाइ त बाले बाहुनीहरूकै संगत बढी गर है भन्या छन् है " - मैले पनि जिस्किने मनासायले भनेँ ।
"साथी बन्ने भएपछि त दुबैतिर बराबर हुनु पर्यो नि । यसरी पनि साथी बनिन्छ ?" - उनले मुस्कुराउँदै भनिन् ।
"कसरी बराबरी गर्ने होला त अब । बराबरी त आफ्नो मनले पो सोच्ने हो नि ।" - मैले पनि दर्शन छाँटे।
"हेरन कत्ति बोल्न जानेको नेवार कोदे । खुरुक्क मलाई पनि तिम्रो नंम्बर देऊ त । अनि बल्ल बराबर हुन्छ ।"
म त खुशीले पागलै हुन्छु जस्तो भएको थियो । कापीको टुक्रामा नम्बर लेखेर उनको हातमा थमाइदिएँ । कति चाँडो २ बजेछ पत्तै भएन ।
हतार हतार इन्ट्रान्स दिनको लागि क्लास छिरियो ।समग्रमा दुबैको इन्ट्रान्स राम्रै भएछ । फोन गरेर फेरि पछि भेट्ने बाचाको साथ मन अमिलो बनाउँदै आ-आफ्नो बाटो लागियो ।
उनको अर्को कलेजमा पनि नाम निस्किएछ । राम्रो कलेज भएको हुनाले उनी उतै पढ्ने भइन् । कलेज बेग्लै भए पनि हाम्रो मित्रता जिवित नै थियो।कहिले उनैले फोन गर्थिन कहिले मैले फोन गर्थे ।बेला-बेलामा भेट्घाट पनि चलिरहन्थ्यो । कहिले काहीँ त मायाको प्रस्ताव पनि राखी हालौँ कि भनेर आँट नगरेको पनि हैन । भैरहेको मित्रता पनि टुट्ने डर थियो । मनको माया मनमै थियो ।
कति चाँडो २ बर्ष बित्यो पत्तै भएन । १२ को परिक्षा सकेर हामी धेरै चोटी भेट्यौँ । अहँ उनलाई माया गर्छु भनेर कहिले भन्न सकिनँ । हामी दुबै जना टोफेल, आइएल्टिएसको तयारीमा थियौ। रिजल्टमा उनको धेरै राम्रो नम्बर आएको थियो । आफू परियो अौसत खाले विद्यार्थी ।
क्याफेमा भेटेर उनको पास भएको पार्टी खाइयो । त्यो दिन त निश्चित रूपमा पर्पोज हान्छु जस्तो लागेको थियो तर मन हुतिहारा नै भैगयो त्यसैमाथी उनका कलेजका अरु साथीहरुको अगाडी ती कुराहरु निकाल्न सम्भव पनि लागेन ।
एकदिन बिहानै उनको फोन आयो। खुसीको खबर छ दिउँसो त्यै अस्तिको क्याफेमा आऊ है भनिन् ।मन चञ्चल भयो कस्तो खुसीको खबर होला । उनले भनेको भन्दा १५ मिनेट अगाडि नै क्याफे पुगेँ । क्याफेमा त्यै अस्ति पास भएको पार्टी गर्दाको साथीहरु पहिला नै आइपुगिसकेका थिए । उनी पनि आइन एकछिन पछि । साथीहरु सबैले बधाइ दिए । म अनभिज्ञ थिएँ के को बधाइ होला भनेर ।उनैले नजिक आएर भनिन् - "काले म अमेरिका जाने भएँ नि फर्दर स्टडीको लागि ।" मन भक्कानिएर आयो । केही बोल्नै सकिन । सानो स्वरमा बधाइका शब्द दिएर घर आइपुगेँ ।
त्यसपछी उनीसँग कहिले पनि भेट भएन । मेरो अघोषित प्रेम गर्भमा नै तुहियो । उनकै यादहरु मात्र मानसपटलमा राखेर जिन्दगीको रथहरु अगाडि बढाउदै थिएँ । आज अचानकै फेसबुकमा उहीँ तस्विर उहीँ मुस्कान उहीँ केश राशी भएकी परी पिपुल यु मे नो भनेर देखायो । अचम्म सुष्मा सेढाइ पौडेल लेखेको थियो नाममा । कसैको त आमा बाबा दुबैको थर लेख्ने चलन हुन्छ क्यारे यस्तै सोचे । मन फेरि पुराना दिनमा फर्कियो । अब फेरि मनमा केही आशा पलाएर आयो । खोलेँ उनको प्रोफाइल । अब त जसरी भए पनि पर्पोज गर्छु भनेर रिक्वेस्ट पठाए । अनि लागेँ उनको प्रोफाइल छापा मार्न तर्फ । तस्विरमा उनी पहिले जस्तै देखिन्थिन । २/४ तस्बिर आफ्नो कम्प्युटरमा सेभ पनि गरेँ । तल तल स्क्रोल गर्दै थिएँ एउटा तस्विरमा पुगेपछि आँखा अडियो । टाउको घुमाएको जस्तो भयो । कता कता मन भक्कानिएर आयो । तुरुन्तै फ्रेण्ड रिक्वेस्ट क्यान्सिल गरे । डेक्स टपको तस्बिरहरु डिलिट गरेँ । अझ मन मानेन । फेरि प्रोफाइल खोलेँ । मेरो अघोषित प्रेम घोषणा नै नगर्ने निर्णय गरेर उनलाई ब्लक गरे । अनि नारायण गोपालको "जुन फूल मैले चाहेको थिएँ ।।।।।" गीत सुन्दै बेडमा पल्टिएँ ।
– गाउँशहर, लमजुङ्ग ।
(- सुधिर कुमार सुमनको कथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)
प्रकाशित मिति :श्रावण १०, २०७६ शुक्रवार -
१६:०२:३७ बजे