Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

निष्ठूरी प्रेमी (कथा) - सुधिर कुमार 'सुमन'

निष्ठूरी प्रेमी (कथा) - सुधिर कुमार 'सुमन'

सतीश चापागाईं

१६, श्रावण २०७६
images
  प्राय मेरो साँझ पशुपतिको पारीपट्टि बसेर सन्ध्या आरती हेरेर बित्ने गर्थ्यो। ५०/१०० दिएपछि जोगी बाबाले दुई स्टिक जति पुग्ने माल दिन्थ्यो । त्यसैको तालमा आँखा रातो बनाएर म साँझ बिताउने गर्थें । उनी तिनै बाबासँग बार्गेनिङ गर्दा गर्दै भेटिएकी थिइन् । मान्छे खासै राम्री नभएकी भए पनि उनको आँखा र मुस्कानले एक प्रकारले नजिक बनाएको थियो मलाई । थ्रेडिङ गरिएको आँखिभौं । ठूला आँखा, चञ्चल चञ्चल लाग्ने आँखाको नानी । केही कौतुहलता केही प्रश्न बोकिरहेका जस्ता लाग्ने ती आँखा मेरो मनमा कैद हुन खासै समय लागेको थिएन । हामी बीच कुराकानीको सुरुवात नभएको भए पनि त्यो भेटपछि हाम्रो जङ्सन एउटै भएको थियो । उनी आफ्नो बुटी आफै बनाउँथिन म आफ्नो आफैं बनाउथेँ। नशाले लठ्ठ भैसकेपछि बल्ल हामी आरती हेर्नमा मग्न हुन्थ्यौं । पारीपट्टी घाटमा जलिरहेको लाश हेरेर उनी बेस्सरी टोलाउँथिन् । चिताबाट उडेको धुवाँ सँगसँगै गाँजाको धुँवा फुसुसु उडाएर अनुहार न्याउरो पार्थिन्। मन एक तमासको बनाउँथिन् । जोकोहीको लाश जले पनि उनि आफ्नै कुनै आफन्तको लाश जलेको जस्तै दुखित देखिन्थिन् । बेला बेला उनको आँखामा आँसु टिल्पिल गरेको महसुस गर्ने गर्थें म । तर सोधिहाल्न सकेको थिइन । गाँजाको तालमा मान्छे कति बेला खित्का छोड्छ । कति बेला डाँको छोड्छ पत्तै हुँदैन । म यस्तै सोच्ने गर्थें । "मेरो लागि पनि बनाउन है । " एकदिन म आफ्नो लागि एउटा पाइलट चुरोटमा गाँजा भर्न लाग्दै थिएँ । अचानक उनी मेरो आडैमा बस्दै भनिन् । मैले घुरेर उनलाई हेरेको थिएँ त्यो दिन । "हेर न आज जम्मा फिफ्टी बक्स मात्र थियो । त्यो बाबाले १०० को मात्र छ बालिके भनेर माल नै दिएन । प्लिज भोलि म हन्टिङ गर्छु नि बरू । " - उसले स्पस्टिकरण दिएकी थिई । अघिल्लो दिन मात्र ककनी गएर हन्टिङ गरेको ठूलै पोको थियो मसँग । अलिकति झिकेर उसको हातमा दिदैँ भनेँ - "आफै बनाएर खाऊ न है ?" त्यसपछि साइड लागेको थिएँ म । त्यसको दुई त्यसपछिसम्म त्यो केटी देखा परिन ।उनको अनुपस्थिति नराम्रोसँग खड्किएको जस्तो भयो । बोलचाल नै राम्रोसँग नभएको भए पनि एक प्रकारको बानी भैसकेको रहेछ । सँधै सँगै बसेर आरती र पारी पट्टिको दाहसंस्कार हेर्ने साथी नभए पछि खल्लो महसुस हुँदो रहेछ । मैले पत्तै नपाई मेरो मनले उनको अभाव महसुस गर्न थालिसकेको रहेछ । उनको बारेमा एक प्रकारको चिन्ता पनि लाग्न थाल्यो । अर्को दिन मभन्दा पहिले नै उनी आइपुगिसकेकी थिइन् । म उनी बसेको सत्तलमा पुग्दा चार चुरोट रेडि अबस्थामा थियो । "कता हराएको यतिका दिन ?" -मैले भेट हुनासाथ सोधेको थिएँ । "लौ पहिला सल्काऊ अहिले कुरा गरुँला ! " उनले मलाई एक चुरोट थमाउँदै भनेकी थिइन् । सल्काएर एक सर्को तान्दैमा थाहा पाएको थिएँ । चीज कुनै पहाडतिरको क्वालिटी भन्ने कुरा ।सायद हन्टिङ गर्न पहाड गएकी हुँदी हो र यतिका दिन गायब भएकी थिई । त्यही दिनबाट हाम्रो दोहोरो बार्तालाप सुरु भएको थियो । उनी कहिले गहन प्रश्न गर्थिन कहिले साइको कुरा गर्थिन् । सानो तिनो दिमागले उनलाई बुझ्न नसकिने भेउ पाइसकेको थिएँ मैले । "तिम्रो आजसम्म लप परेको छ ?" - उनको अप्रत्याशित प्रश्नले झस्काएको थियो मलाई । जाबो दुई चुरोट तोपको भरमा यतिसम्म ब्यक्तिगत कुरा सोध्ने हैसियत राख्छे भनेर सोच्नै सकेको थिइन मैले । म उनका कैयन प्रश्नको जवाफ नै नदिइकन चुपचाप बसिदिन्थें । अनि आर्यघाटको जलिरहेको लाश हेरेर फिस्स हाँसिदिन्थें । "बुझ्यौ प्रेम भनेको त ऊ त्यही चितामा जलेको लाश जस्तै हो। हिजोसम्म थियो आज अस्तित्वबिहिन भैसक्यो । मलाई त प्रेम भन्ने चिज नै वाहियात जस्तो लाग्छ।" - मेरो जवाफले उनी अवाक परेकी थिइन् । "तिमीले कसैसँग प्रेम गरेकी छौ र ?" मैले उल्टो प्रश्न तेर्साएको थिएँ उनलाई । खुइय्य सुस्केरा काढ्दै भनेकी थिइन् - "कुनै दिन एक जना प्रेमीलाई प्रेम गरेको थिएँ । आजकल म सिर्फ प्रेमलाई प्रेम गर्छु ।" बडो झट्का लागेको थियो उनको उत्तर सुनेर । प्रेमलाई प्रेम गर्न कसरी सकिन्छ यार। प्रेम त कुनै प्रेमीलाई पो गर्ने हो त । मलाई उनको जवाफ सुनेर गज्जब लागेको थियो । दार्शनिक जस्तो कुरा गर्थिन्। "हैट प्रेम त बस्तुलाई कुनै पार्टिकुलर चीजलाई पो गर्ने हो त प्रेमलाई पनि प्रेम गर्न सकिन्छ र भन्या ? " मैले कौतुहलपूर्ण प्रश्न तेर्स्याएको थिएँ । "किन मिल्दैन। फूललाई प्रेम गर्नु भन्दा बास्नालाई प्रेम गर्नु राम्रो हैन र ? खानालाई प्रेम गर्नु भन्दा भोकलाई प्रेम गर्नु उपयुक्त हैन र ? तिमी पानीलाई प्रेम गर्छौ होला म त प्यासलाई पो प्रेम गर्छु ।" - यति भन्दै उनी खित्का छोडेर हाँसेकी थिइन् । गाँजाको तालमा म पनि सँगै हाँसेको थिएँ । "अनि त्यो तिम्रो पहिलाको प्रेमी खै त आजकल ? किन उसलाई प्रेम गर्न छोडेर प्रेमलाई प्रेम गर्न थालेको त ? केटीहरु एकै जनासँग टिकेर प्रेम गर्नै सक्दैनन यार । धोकेबाज हुन्छन् ।" - मैले उनको नारीत्वप्रति सिधै प्रहार गरेर भनेको थिएँ त्यो दिन । उनी केही नबोली बाटो लागेकी थिइन् । "नकचरी रिसाइ कि क्या हो।रिसाए मलाई पनि बाल भो त।"उनी बाटो लागेपछी मैले मनमनै भनेको थिएँ।आरती सकिसकेको हुनाले म पनि आफ्नो बाटो लागेको थिएँ। भोलीपल्ट हामी दुबै यथा समयमा पुगेका थियौँ। उनी बेग्लै देखिन्थिन्। म पुग्नुभन्दा पहिले नै एक डोज हानी सकेकी जस्तो देखिन्थिन् । म पुग्नासाथ सोधेकी थिइन् । "यो लाश किन जलाउने होला है ? यसरी आगोमा पोल्दा माया पनि नलाग्ने । मर्नुभन्दा पहिलेको माया साँच्चिकै मरेपछि कम हुन्छ होला है ?" मलाई लागिसक्याथ्यो आज पनि यसको साइको साइको कुरा सुनेर हैरान हुने भैयो। "धुवाँसँगै उडेर स्वर्ग पुग्छ भनेर होला नि ।" मैले पनि उसको जस्तै उटपट्याङ जवाफ दिएको थिएँ । "हो त है । यो देउतालाई मीठो धुपको बास्ना सुघाउँदा पनि डाइरेक्ट स्वर्ग पुग्ने भएर नै त यसरी आरती गर्या होला। त्यो लाश पोलेको धुँवा कुन देउताको भाग पर्दो हो ? " - उनी फेरि खित्का छोडेर हाँस्थिन् । म चुपचाप लाश जलाएको हेरिरहन्थें।उसको कुराहरु सुनिरहन्थें। अनि फेरि उहीँ मायाको कुरा निकालेर मलाई ऊतिर आकर्षित गर्न खोज्थी । शान्ती खोज्न हिँडेको म बैरागीलाई उनको उपस्थिति जटिल लाग्न थालिसकेको थियो। दुई तीन चोटी जङ्सन चेन्ज गर्ने कोसिस नगरेको पनि हैन।तर त्यो जङ्सनसँग छुट्टै भावनात्मक साइनो जो थियो । एक दिन उसले जिस्किदैं सोधेकी थिईन् -" तिमीले पनि तिम्रो गल्फ्रेनले धोका दिएको पिडामा गाँजा तान्न थालेको त होला नि मैले जस्तै है ?" साँच्ची ओभरसियर पढ्ने बेलामा काली यस्तै चञ्चले थिई । असाध्य मायालु थिई । मलाई खुबै मन पराउँथी। कालीले हत्ते गर्दा पनि म बेफकुफले त्यो धोकेबाज आशिकासँग इलु इलु गरेको थिएँ त्यतिबेला । त्यो दिनदेखि उनको अनुहार ठ्याक्कै मेरो बेस्ट फ्रेन्ड काली जस्तै लाग्न थालेको थियो । म उनलाई हल्का हल्का आफ्ना मनको कुरा पनि खोल्न थालेको थिएं। लाग्न थालेको थियो धेरै बर्षपछि मनको कुरा खोल्न पाउने साथी भेटिएकोमा आभारी भएको थिएँ म भगवानप्रति । आशिकाको नाम लिएको दिनदेखि उनी घरी घरी त्यो निर्दयीको बारेमा सम्झिन बाध्य गराउँथिन् । सोधिरहन्थिन् आशिकाको कुरा। म सम्झिन नचाहने उनी सम्झाउन खोज्ने। बेला बेला म रिसाइदिन्थेँ । उनी पिन्चे अनुहार लगाएर उहीँ चितामा जलेको लाश हेर्दै अर्को डोज सल्काउँथिन् । उनी रिसाएको जस्तो लागेपछि म मेरी निर्दयीसँग घुमेको कहानी सुनाउन लाग्थेँ। उनी बडो चाख मानेर सुन्थीन् । कहिले अनुहार निन्याउरो बनाउँथिन्। कहिले खिलखिलाएर हाँस्थिन् ।बिन्दाबासिनी, महेन्द्र गुफा, चमेरे गुफाको कहानी सुनाउँदा उनी गुफाभित्रै पसेको जस्तो, मन्दिरभित्रै पसेर देवीको दर्शन गरेको जस्तो हाउभाउ देखाउँथिन् । सुनाउँदा सुनाउँदै उनी प्याच्च बोल्थिन् - "केटा मान्छेहरु कति बाठा हुन्छन है। घुमाउन पनि गुफाभित्र लैजान पर्ने । चान्समा डान्स मार्न खुब सिपालु हुने ।" उसको यस्ता कुरा सुनेर चमेरे गुफा महेन्द्र गुफाका प्रेमिल घटनाहरु झलझली याद आउँथ्यो । पुलुक्क उनको अनुहार हेर्थेँ । " घुम्न त शान्ति स्तुपा, सराङकोट, फेवाताल कता कता घुमियो घुमियो नि ।" - म मुसुक्क हाँस्दै जवाफ दिने गर्थें । "कति मेरो मात्रै नालीबेली सोध्छौ । तिम्रो बारेमा सुनाऊ न बरु । तिम्रो प्रेमी कस्तो थियो । कत्तिको मोया अर्थ्यो । कता कता घुमाउन लैजान्थ्यो ?" आफ्ना कथा सुनाउँदा सुनाउँदै वाक्क लागेपछि म उनको बारेमा सोधनी गर्थें । "हेहेहे अस्ति नै भन्या हैन ठ्याक्कै तिमी जस्तै थियो त्यो काले । तिमी जस्तै गँजेडी !" -उनी जोड जोडले हाँस्दै भन्थिन् । "काठमाण्डौ आसपास गुफा नभएर मात्र चान्स मार्न पाएन नत्र त धेरै ठाउँ घुमियो। ऊ हन्टिङ जाँदा मलाई संधै सँगै लैजान्थ्यो । तर आजकल ऊसँग बिताएका कुनै पनि क्षण याद गर्न मन लाग्दैन । मलाई खबरै नगरी जान्छु पनि नभनी यही पशुपतिनाथ साक्षी राखेर खाएको कसम भुलेर एक्लै कता गयो कता।" - उनी असाध्यै पिडामा छिन जस्तो लाग्थ्यो कता कता मेरो मनमा। "मलाई त आजकल सम्झना पनि आउँदैन त्यो निर्दयीको। मलाई भन्दा पनि नभनी छोडेर गयो। यी यही धुँवा जस्तै। छिनमै बिलायो ।"यसो भन्दै उनी लामो कस तानेर धुँवाको मुस्लो आकाशतिर फुक्थिन् । धेरै दिनपछि फेरि उहीँ जङ्सनमा भेट भएको थियो हाम्रो । म पुग्ने बित्तिकै उसले सातो जाने गरि थर्काएकी थिई - "कता हराको थियौ यतिका दिन ? म त तिमी पनि मर्यौ होला भन्ठानेको ।" उनको कुरा सुनेर मलाई झनक्क रिस उठेको थियो । बोल्नु भन्दा नबोल्नु नै उचित लागेर चुप बसेको थिएँ । मेरो हातमा सदाझैँ शिवजीको बुटी थमाएर उनले भनेकी थिईन् -"म आज तिमीलाई मेरो प्रेमीको बारेमा सुनाउँछु है ?" उनको कुरा सुन्दा दिक्क लाग्ने भए पनि सुन्दिन भनेर उनको मन दुखाइहाल्ने आँट थिएन ममा । "तिमीले सोधेका थियौ नि मैले गाँजा किन खाको भनेर । यो गाँजाको धुँवा सिधै स्वर्गमा पुग्छ अरे नि त ! " उसको गता न पताको कुरो सुनेर म अक्क न बक्क परेको थिएँ । "पहिला प्रेममा रहँदा म केही खाँदैनथेँ। ऊ र म यसै गरि यही जङ्सनमा बस्थ्यौं। ऊ तिम्ले जसरी नै लास्ट झ्याप हुने गरी खान्थ्यो । एकदिन ऊ सदा भन्दा बढी नै झ्याप थियो। बेलुका ऊसँग छुट्टिएर कोठामा पुग्न नपाउँदै मलाईसंगै जाम पनि नभनी त्यो निष्ठूरी ट्रीपरको मुनि बाइक घुसारेर स्वर्गतिर गएछ । मलाई एक्लै छोडेर । ऊ त्यही चितामाथी सुतेको थियो मैले त्यो निष्ठूरीलाई अन्तिम पटक देख्दा ।" उनी अत्यन्त भावुक हुँदै पारी पट्टिको जलिरहेको चिता देखाउँदै सुनाउँदै थिइन् ।म एकनासले सुन्दै थिएँ । किन किन हिजो अस्ति जस्तो झिँजो पटक्कै लागेको थिएन उनको कुरा सुन्दा । "त्यो काले गाँजा खुब मन पराउँथ्यो । स्वर्गमा गाँजा खान पाइन्छ कि पाइदैन कुन्नि त्यसैको लागि भए पनि जङ्सनमा बसेर बेला बेला म गाँजाको धुँवा स्वर्गतिर फुकिरहन्छु ।" - गाउँशहर, लमजुङ्ग । ( - सुधिर कुमार 'सुमन'को यो कथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण १६, २०७६ बिहिवार - १९:३१:३३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend