१७, श्रावण २०७६
"ए बुढा यसपाली मलाई एउटा चन्द्रमा किनिदिनु पर्छ । छड्के तिलहरी, मंगलसुत्र, नौगेडी, टप, शिरफूल सबै किनिदिनु भो, अब चन्द्रमाको रहर छ । मलाई अाधा तोला सुनको चन्द्रमा चाहियो । यसपालीको तीजमा त चन्द्रमा पनि लगाएर नाच्ने हो !" - सुत्ने तरखर गर्दै गर्दा चन्द्रावतीले श्रीमान् हरिभक्तसँग मनको रहर पोखिन् ।
"चन्द्रमा मात्रै किन ? तिम्रो लागि पूर्ण-चन्द्र नै किनिदिउँला नि चन्द्रा ! ज्यान रहेसम्म त तिम्रो रहर कसो पूरा नगरुँला ? " - चन्द्रावतीको चन्द्रमाको रहर पूरा गर्ने वाचा गर्दै हरिभक्तले उनलाई अँगालेर सिरकभित्र लुकायो ।
हरिभक्तको एक महिनाको बिदा सकियो । ऊ फेरि मलेशिया फर्कियो । मेशिनमा खतरापूर्ण काम गर्नेलाई कम्पनीले अलि बढी तलब दिन्थ्यो । हरिभक्तले श्रीमतीको चन्द्रमाको रहर सम्झियो । उसले विचार गर्यो, - " ठीक छ ! यो मेसिन चलाउने काम गर्दा मलाई महिनै पिच्छे पहिलाभन्दा पाँच हजार रुपियाँ बढी अाउँछ । म अतिरिक्त अाम्दानीबाटै श्रीमतीको रहर पूरा गर्न सक्छु ।"
६ महिनामै हरिभक्तले अतिरिक्त अाम्दानी तीस हजार बनाई सकेको थियो । उसले चन्द्रावतीलाई तीजको मुखमै सुनको चन्द्रमाको लागि पैसा पठायो । चन्द्रावती खुशी भईन् । उनले तत्काल चन्द्रमा किनिन् । तीजले ढपक्कै छोपिसकेको थियो । चन्द्रावती पनि छिमेकी दिदी बहिनीहरुसँगै गहनाले लपक्कै भएर दिनैपिच्छे दर पार्टी र नाचगानमा व्यस्त हुन थालिन् ।
उता तीजको दिन हरिभक्त मेशिनमा काम गर्दै अाफ्नी श्रीमतीलाई सम्झँदै थियो । श्रीमतीको रहर पूरा गर्न सकेकोमा खुशी र अानन्द महशुश गरिरहेको थियो । कल्पनामा डुब्दै काम गर्दा मेशिनले हरिभक्तको हात समात्यो र निमेष भरमा पूरै शरीर निल्यो ।
तीजको दिन चन्द्रावती भने श्रीमानको दिर्घायु र सुस्वास्थ्यको लागि निर्जला व्रत बसेर, नजिकैको शिवालयमा पुजा गरेर दिनभर नाच्दै, गाउँदै र रमाउँदै थिइन् ।
- रानपा, चितवन
(- घनश्याम डल्लाकोटीको लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)
प्रकाशित मिति :श्रावण १७, २०७६ शुक्रवार -
११:२२:५४ बजे