सम्झनाको किनारमा बसेर
जसरी तिमीलाई सोचिरहन्थें म,
त्यसैगरी फेवाको किनारमा बसेर
आज फेवालाई सोचिरहेछु,
कति समानता छ फेवा र तिमीमा
शान्त निश्च्छल देखिने
त्यो फेवाले कति रहस्य लुकाएको छ
आफ्नो गहिराइमा
कहिल्यै उत्खनन् हुन नसक्ने
कति असफल प्रेमीहरूको
चिहान छ त्यसको गहिराइमा
तिनका विचलित आत्माहरूको छट्पटीले
कहिले तरङ्ग उठ्दो हो,
कहिले भुमरी पर्दो हो फेवाको छातीमा
त्यसरी नै तरङ्गित हुन्छ
गर्भमै तुहिएका मेरा रहरहरू,
यो छातीको भुमरीमा
मृतात्मा बनेर छट्पटाउँदा हुन् त्यसै गरी....
सम्झनाको तरङ्ग उठ्दा
कहिलेकाहिी छचल्किएर आँखाबाट बग्न पुग्छन्
मेरा सपनाहरू,
जसरी फेवामा तरङ्गित भएर
टिलपिल टिलपिल गर्छ प्रतिबिम्ब माछापुच्छ्रेको....
मलाई थाहा छ,
जति बाँधे पनि
तिमी मेरो अँगालो भरि कहिल्यै भईनौ
तर पनि तिमीलाई अँगालोमा बाँधेर
मैले म तिम्रो मनको मान्छे भएको
अनुभव गरीरहें,
म त्यसरी फेवालाई अँगालो मार्न सक्दिन
तर आफूलाई त्यसमा समाहित गर्न सक्छु,
जसरी तिमीमा डुबेर मैले
आफ्नो अस्तित्व गुमाएको छु....
म मुग्ध छु फेवाको सौन्दर्यबाट,
जसरी आशक्त छु तिमी प्रति,
तर मेरो मायालाई
तिम्रो मनले
कहिल्यै गहिराइ देखि स्वीकार्न सकेन
जसरी बत्तीले
प्राणको आहुति लिएपछि
निर्जीव पुतलीको लाशलाई परित्याग गर्छ,
जसरी फेवाले
आफ्नो गहिराइमा
समाहित हुन खोज्ने
असफल प्रेमीको लाशलाई सतहमा ल्याएर उतार्छ,
त्यसरी नै
तिम्रो मनको गहिराइमा
डुब्न खोज्ने मेरो मायालाई
यथार्थताको कठोर धरातलमा ल्याएर
तिमीले कयौं पटक पछारेकी छौ
तर...
जसरी फेवाको गहिराइ नभेटिए पनि
निरास प्रेमी फेवालाई नै अँगाल्न पुग्छ,
त्यसरी नै अस्तित्वहिन भएर
तिमीमै आफूलाई हराउन मन लाग्छ,
तिमीमै समाहित हुन मन लाग्छ
बत्तीमै झुम्मिएर आफ्नो प्राण त्याग्ने
त्यो पुतलीको नियति भोग्न मन लाग्छ....
तर मलाई थाहा छ...
न तिमीले, न फेवाले
मेरो समर्पणलाई बुझ्छ
त्यसैले त प्रिय,
मलाई तिमी र फेवामा केही फरक लाग्दैन,
तिमी र फेवा उस्तै उस्तै लाग्छ !
...उस्तै उस्तै लाग्छ !!
- स्वयम्भू - १५ डल्लु, काठमाण्डौ ।
(- सुनील अधिकारीको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)