"साउने व्रत"
जब साउन महिना शुरु हुन्छ तिम्रै पिर लाग्छ माकुरी! बर्षातले बैँस हालेको बेला दिनरात आकाशे पानी दर्किन थाल्छ। यता मेरो मुटु चर्किन थाल्छ। कारण जति नै मुसालधारे पानी दर्कियोस् त्यसको कुनै प्रवाह नगरि एउटा प्लाष्टिक ओढेर कोडो बोकी दिनहुँ तिमी बेशी खेततिर झरेको कुरा छिमेकीबाट सुनिरहेको हुन्छु। नझरेर पनि कहाँ सुख छ र माकुरी! बेँशीको त्यही ठुलाठुला खेतका गारा, गाउँको ठुलाठुला बारीका पाटा,गोठ भरी दुहुनु भैँसी, गाईहरु, दुई हल गोरु र चालिसौँको संख्यामा बाख्राका हुलहरु देखेर नै गाउँको खानदानीहरु भनेर हाम्रो दुबो सरी झङ्गिदो मायाँ अलग पारेर तिमीलाई त्यो घरनामा दिनु भएको थियो तिम्रो बाबाले। तर तिमीलाई आज त्यहि खेतीपाती र पशु चौपयाहरुको स्यहारसुसार र घर भित्र बाहिरको कामले दुई ढुङ्गाहरु बिचमा तामालाई थिचे जस्तै थिचिरहेकोछ। तिम्रो त्यो दुखद हालत सुन्दा मात्र पनि मेरो मनै कटक्क दुखेर आउँछ। अझैँ यी मेरा आँखाले देख्न परे भने म कसरी हेरुँला माकुरी! सत्य कसम हो म त जसरी साउने झरी आकाशबाट बर्षिरहेको छ त्यसलाई साथ दिदै आँखाबाट आँसु धारा पो बर्साउँछु होला। मैले आँसु रोक्न सक्दिन। अरुको दु:खमा ढुङ्गा जस्तो मन बनाउन सक्दिन।
माकुरी! साउन महिना शुरु भयो। एकतिर कामको चाप छदैछ तिमीले फेरि साउने व्रत लिने गर्छौ। मलाई थाहा नभएको हो र ? म संगको प्रेम मौलाएको बेला सायद मलाई पाउन भनेर या मेरो दीर्घायु होस भनेर पानी समेत नपिएर व्रत बस्दा तिमी बेहोस भएकी। अनि स्वास्थ्य चौकीमा गएर जँचाउदा ग्यास्ट्रिकले चापेको कुरा थाहा भएको। र त्यो समयमा दुखाई सहेरै "जब सम्म मैले हजुरको साथ पाउनेछु तब सम्म मलाई केही हुदैन" तिमीले भनेकी थियौ आज पनि मनमा ताजै भएर आउँछ। मलाई थाहा छ तिमी एक संस्कारी नारी हौ! असल बुहारी हौ! एक सावित्री महिला हौ। मैले भनेर पनि तिमीले मान्ने छैनौ। नत्र म त भन्न चाहन्छु पतिको लागि ज्यानै बाजी राखेर व्रत नबस। तिम्रो खानदानी पति साहेबले कतिको हेक्का राख्नु हुन्छ कुन्नि तिम्रो! हो समाज को रिती छ! संस्कार छ! चलन आफ्नै ठाउँमा छन्। धर्म ग्रन्थ र शस्त्रमा धेरै कुरा लेखेका छन्। तर मलाई लाग्छ कुनै पनि धर्ममा "तिमी मरेर अरुको सेवा गर" भनेर लेखेको छैन सायद। लेखेको छ कि "पाप नगर!" "अरुलाई सक्दो सहयोग गर!" मेरो साथमा तिमी भएकी भए व्रत लिनबाट रोक्ने थिएँ। तर यो कुरा थाहा पाउँदा कसैले मलाई नास्तिक भन्लान्। कुसंस्कारी मान्छे भन्लान्। तर त्यो होईन। मैले त तिम्रो स्वास्थ्यलाई ध्यान दिएर मात्र भन्न खोजेको हो माकुरी। मलाई थाहा छ नि ग्याष्ट्रिकले च्याँपेमा तिमीलाई के हुन्छ। त्यो बेला तिमी बेहोस हुँदा मलाई कति दुखेको थियो मलाई मात्रै थाहा छ।
जानेले बिर्सेर गए पनि यादमा बस्नेहरुलाई पीडा हुदो रहेछ। यो कुरा तिमीसंगको बिछोड पछि मात्र थाहा पाएँ मैले। तिमी जहाँ रहे पनि तिमीलाई साथ दिन नसके पनि मैले तिम्रो बारेमा छिमेकीहरुबाट तिम्रो बारेमा सोधिरहन्छु। भाग्यले पो साथ लेखेको रहेनछ तर मायाँ त साथमै छ माकुरी! न तिमीले भुल अब भनेर भुल्न सक्छु न त तिमीलाई पाउनै सक्छु। तर सधैँ सधैँ तिम्रै हित देख्न चाहन्छु। तिम्रै जित देख्न चाहन्छु। तिमी मुस्कुराएको,हाँसेको हेर्न चाहन्छु। तिम्रो एक मुस्कुान मात्र देख्न पाए ।
डाँडापाखा ढाकेको बादलु पनि हाम्रो खुशीमा बरफ बर्षिए जस्तो भन हुने थियो।
माकुरी बर्षाको समय छ। वनपाखामा घाँस, दाउरा,पानी पँधेरा बाटो घाटोमा हिड्दा दायाँबायाँ ख्याल गरेर मात्र हिड्नु। भिरबाट ढुङ्गा खस्न सक्छ। पहिरो झर्न सक्छ। बाढी आउन सक्छ। तिमीलाई एउटा लामखुट्टेले टोकेको समेत देख्न नसक्ने मान्छे हुँ म। आफ्नो स्वास्थ्यको हमेसा ख्याल गर्नु। म क्षितिजपारीबाट तिमीलाई नियाली रहेको हुनेछु। तिमीले सम्झिन्छौ या विर्स्यौ मतलब गर्दिन म। बस मैले सम्झिरहेको छु यसमै मलाई आनन्द लाग्छ! विगतका तिमीसंग विताएको रमाईलो पलहरुको यादले नेै जिन्दगीलाई रमाईलो मानेर भुल्याउने बाटो बनेको छ माकुरी! यसलाई आनन्द लिने एउटा उपाय मानेकोछु। सायद यहि होला दु:ख मै रमाउनु पर्ने जिन्दगी!
००००
पाल्पा
हाल: साउदी अरब
(भाग -३ भोली आउनेछ । यसको भाग १ हेर्न यो लिंकमा क्लिक गर्नुहोस ।-सम्पादक)
http://www.nepalesediaspora.com/archives/10962?fbclid=IwAR0VOQ2KzXobTHApFKfna8A-z7bQQ2Kkb2hxVKYpf_QDyEOwzNNXTr_YQ1o