Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

को हो अग्रगामी ?  (कविता) -डिल्लीराज अर्याल

को हो अग्रगामी ?  (कविता) -डिल्लीराज अर्याल

सतीश चापागाईं

२६, श्रावण २०७६
images
चैत बैशाखभन्दा चर्को खडेरीको दिन
आएको छ, गलेको छ-झुल्सिएको तन ।
बारी, खेत रूखपात ढुङ्गा, माटो ताते
अरूको त कुरै छैन धारा पानी ताते ।।
तातेपछि धरती यो, मन पनि तात्यो
राजनीति तात्दै गयो परिवेशै तात्यो ।
प्रतिगमन भयो भन्ने भावनाले तन
उकुसमुकुसिंदै गयो पोल्यो भित्र मन ।।
धेरै चर्का कुरा भए, धेरै चर्चा चले
रोक्नुपर्छ भन्ने भयो आन्दोलन चले ।
प्रतिगमनको रूप तर देखिएन
अग्रगमनको रूप चिन्न सकिएन ।।
आन्दोलनकारीतिर हेर्दा नजर फेरी
आशङ्कामै प्रश्न उठे हुने के हो फेरि ?
प्रतिगामी आफै पनि आन्दोलन गर्छ
अग्रगामी पनि उही जुलुसमा हुन्छ ।।
आफ्नो विरोधमा कतै आफै लागे जस्तो
उल्टो बाटो कताकता आफै लागे जस्तो ।
प्रतिगमन विरुद्धमा आफै प्रतिगामी
अग्रगमन नबुझेका आफै अग्रगामी ।।
भित्री इच्छा आकाङ्क्षाले मान्छे चिनाउँछ
व्यवहारले अग्रगामी को हो बताउँछ ।
जुलुस र हल्ला सबै अग्रगामी हुन्नन्
हुलचाल भित्र सबै प्रतिगामी हुन्नन् ।।
स्वतन्त्रता, स्वाधीनता,स्वाभिमान हेरी
चिन्नुपर्छ मान्छेलाई विचार गरीगरी ।
चामलमा बियाँ जस्तै एकै ठाउँ हुन्छन्
अग्रगामी, प्रतिगामी सबै कहाँ चिन्छन् ?
गफ मात्र सुन्दा सबै अग्रगामी हुन्छन्
आलोचना सुन्दा सबै प्रतिगामी हुन्छन् ।
म नै प्रजातन्त्रवादी, को छ जाती म झैं
अरू सबै प्रतिगामी यै छ भाव अझै ।।
-पाल्पा, 
हाल: काठमाण्डौं ।
(बरिष्ठ साहित्यकार -डिल्लीराज अर्यालको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण २६, २०७६ आइतवार - २१:४९:५७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend