२७, श्रावण २०७६
मुक्तक -१
जति नै चाहे पनि, आँसु लुकाउने घर हुँदैन
कहाँ कहिले झर्छ, आँसुको त कुनै भर हुँदैन
असह्य पिडा हुँदा, बर्सातमा भक्कानिने गर्छु
झरीमा रुझ्दै रुँदा, यो आँसु देखिने डर हुँदैन ।।
मुक्तक -२
जुवाको खाल झैं भो जीवन र'तास भएँ म त
जित्ने होड्मा हार्दा-हार्दै हतास भएँ म त
चन्द्र छुने उद्देश्यले ........आकाशसम्मै पुगें
तर, कतै नअडिने ~ ~ ~ ~बतास भएँ म त ।।
मुक्तक -३
घाउ दिनेले आफैं भन्यो, घाउ त्यो सिएर देखाऊ
बिषको प्याला दिंदै भन्यो, लाउ यो पिएर देखाऊ
उस्को लागि मर्न सक्छु, र त! पिएँ मैले प्याला
मर्न लाग्दा हाँस्दै भन्यो ... अब जिएर देखाऊ ।।
मुक्तक -४
उचाईमा पुग्न मूल्य चुकाउनै पर्दो’रैछ
पसिना र आँसु पनि लुकाउनै पर्दो’रैछ
गगन चुम्दा दम्भ गर्दै शिर ठाडो पारे पनि
धर्ती हेर्न त्यही शिर झुकाउनै पर्दो’रैछ ।।
मुक्तक -५
कतै आँसु कतै हाँसो ~ दिने यौटै प्रहर हुन्छ
सुखको छ कतै सागर ~ कतै ढुंगे बगर हुन्छ
मन्दिरभित्र पुगेकै क्षण ~ देउता हुन्छ पत्थर भने
सधैं मन्दिर धाए पनि..मान्छे किन पत्थर हुन्छ ??
पाटन ९, ललितपुर, नेपाल
हाल : आन्त्वेर्पेन, बेल्जियम ।
(सौरभ कारन्जितका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)
प्रकाशित मिति :श्रावण २७, २०७६ सोमवार -
१३:०८:३४ बजे