३१, श्रावण २०७६
"मामु मलाई त आई फोन सिक्स् चाहिन्छ है अहिले नै भनेको छु ----- ।"- कान्छो छोराले भन्यो ।
"मलाई त एप्पलको अाई प्याड !"- जेठोले घुर्कायो ।
"दिदी हजुरले अाजसम्म मलाई केही त दिनुभएको छैन । अहिले एस. एल . सी पनि ए जोडमा पास गरेँ मलाई पनि एउटा राम्रो मोबाइल चाहिन्छ है ------ !" - भदाले भन्यो ।
मलाई त अरु केही चाहिँदैन त्यही बनेको पाइन्ट टिसर्ट भनेर भदैले भन्दै थिई ।
"होइन नानी बुढेसकाल लागेर हो कि अाजकल त एक्दम जाडो हुन्छ ----- "- बुबाले सुनाउनु भयो ।
"खै यो जिब्रोलाई चट्ट पिरो अाएको चटनी चाहिन्छ, लोहोरो सिलौटौ नारेर चटनी पिस्नै गाह्रो भयो ----- "- अामाको कुरा थियो ।
"बजारमा घर किनियो, कुचो लगाउँदा पाखे भइने । यहाँ भ्याकुम किनेको पनि खप्दै खपेन । के गर्ने होला ? बरु यता अाएसी पैसा म दिन्थेँ ----" भाउजुको कुरा थियो ।
"अरु केही होइन लामो सम्झना रहिरहने सामान ल्याइदे है । कल्ले दिएको भन्दा पनि सालीले भन्न पाइओस् न ---- " - भिनाजुको कुरा ।
"दिदी त्यहाँ त ओर्जिनल क्यामरा पाइन्छन् नि , अाउने बेलामा यसो ज्वाइँ छ भनेर सम्झनु है ---- !" - बहिनी ज्वाइको कुरा ।
सबैको कुरा सुन्दा र सोच्दा टाउको दुखिसकेको थियो । फेरि अरु ठूलाबा ठूलीअामा , काका काकी , छर-छिमेकी साथी-संगी, इष्टमित्र सबै एकपछि अर्को अाए दिमागमा । एउटालाई लगेपछि अर्कोलाई छुट्टाउन नहुने । के विध्न अप्ठ्यारो ए भगवान । अझ घरमा लाने सामानको त कुरै छैन । के लाने त , के लाँदा ठिक होला मालिकको लागि सोच्दै थिएँ ।
संयोग भनौँ , त्यही बेला फोन अायो । मैले मौका छोपेर सोधेँ -" हजुरलाई के लिएर अाइदिम् त नि ? सबैको त डिमाण्ड अाइसक्यो । अब हजुरको सुनम् न त ?"
"खै क कस्को कस्तो डिमाण्ड छ सुना त ---- ?" - सोध्नुभयो । मैले पनि जे जस्तो थियो त्यो सबै भनेँ । उहाँ एकछिन सम्म बोल्नु भएन र धेरै बेर पछि भन्नू भयो मलाई सामान त केही चाहिँदैन ।
" अनि के चाहिन्छ त भन्नू न त ----?" मैले सोधेँ । उहाँले फेरि पनि केही नचाहिने कुरा बताउनुभयो । उहाँले चाहिँदैन भने पनि मैले सोध्न छाडिन । पछि उहाँले लामो सास तान्नुभयो भन्नू भयो -" मलाई केही चाहिन्न ,.मात्रै तिमी भए पुग्छ ।"
- चितवन, नेपाल ।
(- शारदा पौडेलको लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)
प्रकाशित मिति :श्रावण ३१, २०७६ शुक्रवार -
१२:२०:३० बजे