Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

को हो अग्रगामी ?(कविता) -डिल्लीराज अर्याल

को हो अग्रगामी ?(कविता) -डिल्लीराज अर्याल

सतीश चापागाईं

२, भाद्र २०७६
images
चैत बैसाखभन्दा चर्को खडेरीको दिन
आएको छ, गलेको छ-झुल्सिएको तन
बारी,खेत रूखपात ढुङ्गा, माटो ताते
अरूको त कुरै छैन धारा पानी ताते ।
तातेपछि धरती यो, मन पनि तात्यो
राजनीति तात्दै गयो परिवेशै तात्यो
प्रतिगमन भयो भन्ने भावनाले तन
उकुसमुकुसिंदै गयो पोल्यो भित्र मन ।
धेरै चर्का कुरा भए, धेरै चर्चा चले
रोक्नुपर्छ भन्ने भयो आन्दोलन चले
प्रतिगमनको   रूप   तर  देखिएन
अग्रगमनको  रूप चिन्न सकिएन ।
आन्दोलनकारीतिर हेर्दा नजर फेरी
आशङ्कामै प्रश्न उठे हुने के हो फेरि ?
प्रतिगामी आफै पनि आन्दोलन गर्छ
अग्रगामी पनि उही जुलुसमा हुन्छ ।
आफ्नो विरोधमा कतै आफै लागे जस्तो
उल्टो बाटो कताकता आफै लागे जस्तो
प्रतिगमन विरुद्धमा आफै प्रतिगामी
अग्रगमन  नबुझेका  आफै अग्रगामी ।
भित्री इच्छा आकाङ्क्षाले मान्छे चिनाउँछ
व्यवहारले  अग्रगामी   को    हो  बताउँछ
जुलुस  र  हल्ला सबै अग्रगामी हुन्नन्
हुलचालभित्र   सबै   प्रतिगामी हुन्नन्  ।
स्वतन्त्रता, स्वाधीनता, स्वाभिमान हेरी
चिन्नुपर्छ  मान्छेलाई   विचार गरी-गरी
चामलमा बियाँ जस्तै एकै ठाउँ हुन्छन्
अग्रगामी, प्रतिगामी सबै कहाँ चिन्छन् ?
गफ मात्र  सुन्दा  सबै अग्रगामी हुन्छन्
आलोचना सुन्दा सबै प्रतिगामी हुन्छन्
म नै प्रजातन्त्रवादी, को छ जाती म झैं
अरू  सबै  प्रतिगामी यै छ भाव अझै ।
  - पाल्पा, हाल काठमाण्डौं ।
(डिल्लीराज अर्यालको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र २, २०७६ सोमवार - ११:४३:०० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend