जहाँ रोपे पनि फूल मर्छ बिना पानी
प्राण भन्नु पानी जानेँ पानी जिन्दगानी
आँखाभरी जम्मा हुँदा थोपाथोपा पानी
सुक्दै गए गाउँघर सुक्यो राजधानी ।
जन्माउने हुर्काउने टाढा कतै बस्छ
जानाजानी जताततै मान्छे मर्ने गर्छ
उमेर सकिएर मर्ने जस्तो लाग्दै थियो
उमेरैमा मर्ने दिन आए जस्तो भयो ।
निहुँ हुन्थ्यो भूत-प्रेत रोग मान्छे मर्न
बम-बन्दुक बनाएर लाग्यो लडी मर्न
भुलूँ भुलूँ लागे पनि सकिएन भुल्न
भुल्नै नहुनेलाई पो थालिएछ भुल्न ।
जतासुकै सकिँदैन एकातिर जान्छु
दिल्लीमात्रै जानैपर्ने भएजस्तो ठान्छु
रोगभोक अशिक्षा नै शत्रु भए भने
निमिट्यान्नै पार्नुपर्ने बेला भयो मान्छु ।
अब बेला कुरी हेरी बस्न सकिँदैन
फेरि अर्को राम्रो बेला पर्खिएर हुन्न
आजैदेखि दिन हेर्छु बेला बनाउँछु
नराम्रोको जरो खन्छु राम्रो जोगाउँछु ।
- पाल्पा हाल : काठमाण्डौं ।
(साहित्यकार डिल्लीराज अर्यालको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)