३, भाद्र २०७६
मुक्तक -१
चाहिने नचाहिने सबैको, भेला हुन्छ हाम्रोतिर
जब कसैको बर्बादीको, बेला हुन्छ हाम्रोतिर
दुख्ने भन्दा रमिता हेर्ने, जमघट हेर बाटो छेकी
आगो लाग्दा पनि साथी, मेला हुन्छ हाम्रोतिर ।
- लक्ष्मी अर्पणा
स्याङ्जा ।
..................................................................................
मुक्तक -२
बैशालु मन चञ्चल थियो, गुलाफ झैं लाली हजुर
समीप आई भनिहाल्यौ तिमी मेरै काली हजुर
विश्वासले सुम्पिदिएँ सर्बश्व मैले पनि अहो
गरयौ नाटक मञ्चन र, बजाए सबले ताली हजुर ।
- सम्झना खतिवडा
बनेपा- काभ्रे ।
..................................................................................
मुक्तक -३
जहिले पनि जिन्दगीमा, छुट्दै छुटेन पीर हजुर
जहाँ पुगे नि खाने सुर्ता, रहँदैन मन स्थीर हजुर
खुशी शान्तिको बास होस्, अभावको आभाष नहोस्
सबैको चुलामा पाक्न सकोस्, परिश्रमको खीर हजुर ।
- गोम बिक्रम
कल्लाबारी, पाल्पा ।
..................................................................................
मुक्तक -४
नदीनाला सुकेपछि बाँकी कहाँ कुलाे रहन्छ ?
फूटाएपछि ढिक्काहरू, छरिएर त धूलाे रहन्छ
पाउने छैन यहाँ कुनै निर्मलाले न्याय , जबसम्म
अन्यायीहरूकाे हातमा, न्याय जाेख्ने तुलाे रहन्छ ।
- निशा के. सी.
काठमाण्डौ, नेपाल ।
..................................................................................
मुक्तक -५
सु-व्यवस्था बिरुद्धमा बिपरित धारका नारा उचाल्नु पर्ने
नेताका चाहनालाई पूरा गर्न भुराले ज्यान फाल्नु पर्ने
नयाँ नेपाल आशा देखाएर,कस्तो शासन शुरु भयो हजुर
आफ्ना बालबच्चा भोकै राखेर नेताहरु लाई पाल्नु पर्ने??
- तेज कार्की, झापा ।
२०७६ भदौ ४
( यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)
प्रकाशित मिति :भाद्र ३, २०७६ मंगलवार -
१९:३६:३५ बजे