Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

विकल्प नास्ति (लघुकथा) -मदन पौडेल

विकल्प नास्ति (लघुकथा) -मदन पौडेल

सतीश चापागाईं

१२, भाद्र २०७६
images
म अन्तर्वार्ताका दिन प्राइभेट कम्पनीमा पुगें । अन्तरवार्ता लिन बसेका उक्त कम्पनीका माथिल्लो तहका कर्मचारीले मलाई देख्ने बित्तिकै अँध्यारो मुख लगाए । खासै सोधपुछ गरेनन् । मेरो नाम मुहार उनका लागि परिचित थियो । त्यो कम्पनीमा मेरो काम गर्ने अवसर मिलेन । त्यस्तै अन्त पनि भयो । केही दिन अगाडिको कुरो हो, जब पुलिसले सुल्झाउन नसकेको एउटा केसमा मलाई पक्रियो, म पक्रिएको कुरो गोप्य भएन । समाचारलाई व्यापार बनाएर खान पल्किएका पत्रिका, समाचार न्यूज च्यानल र अहिले जन्मिएका हजारौं अनलाइन समाचार सबैले मलाई नै उक्त अपराधको अपराधी जस्तै गरेर मेरो फोटो र ठेगाना सहित समाचार प्रकाशित गरे । मानौं उनीहरू नै सर्वेसर्वा हुन् । अदालतबाट थुनामा राख्ने म्याद थप गरेर ल्याएपछि आमाले त्यो पीडा खप्न सक्नु भएनछ । मर्नेबेलामा पनि त्यो दोषी होइन भनेर भन्नुहुन्थ्यो रे । धेरै दिनको अनुसन्धानपछि मलाई लगाइएको दोष मैले गरेको हैन भन्नेमा पुलिस पुग्यो र मलाई छाडिदियो । तर त्यतिखेरसम्म धेरै ढिलो भैसकेको थियो । मेरो घरमा भएका अरू परिवारलाई समाजमा मुख देखाएर हिँड्न समाजले मुस्किल पारिसकेको थियो । आमाको मलामीमा गाउँका धेरै मानिस गएनन् रे । म घर पुगेको एक दुई दिनसम्म त अब के गर्ने निर्णय गर्न नै सकिएन । कतै पनि जागिर पाउने लक्षण नदेखेपछि एकदिन बाले - “छोरो यो घर बेचेर अन्त कतै जाऊ ।" - भन्नु भयो । “यो घर बेचेर जाने र बा ? यो घरमा हाम्रा कति धेरै सम्झनाहरू छन् । ऊ त्यो कुनामा म लुक्दा आमाले एकै पटकमा भेट्टाउनु हुन्थ्यो । यो आँगनको तुलसीको मठ, जहाँ दिनहुँ आमा पूजा गर्नु हुन्थ्यो ।” “सम्झना मनमा हुने हो बाबु । एक पटक आँखा चिम्लिएर हेर त मुग्लानमा पनि ती दृश्य तिम्रै हाम्रै आँखा वरिपरि घुम्छन् । यी घर र मठ केवल मन बुझाउने माध्यम मात्र हुन् ।” मुगलान भासिनुको विकल्प हामीमा थिएन पनि । - टौदह - ६ कीर्तिपुर हाल : लण्डन ।'' (मदन पौडेलको यो लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र १२, २०७६ बिहिवार - २३:२७:५२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend