Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

चेतनाको पाठ (लघुकथा) -एस. पि. असफल

चेतनाको पाठ (लघुकथा) -एस. पि. असफल

सतीश चापागाईं

१३, भाद्र २०७६
images
  "समाजले कथित तल्लो जात भनेर हेलाँ गर्नेलाई सम्मान र अधिकार दिलाउँछु, छुवाछूत अन्त गरेरै छाड्छु ।" बनारसबाट पढेर फर्कने ताका हरिले खुलेरै सबलाई भन्ने गर्थे । उनका सात पुस्त‌ैदेखि जजमान गर्दै अाएका थिए । उनी अाफू पनि निकै जेहेन्दार भएकाले बेलैमा खर्च भरेर आफ्ना बाबुले बनारसमा हिन्दू धर्मका सम्पूर्ण ग्रन्थहरुको अध्ययन र निपूर्णता हासिल गरेका थिए । घर फर्कपछि भने छुवाछूत प्रथाको बिरोध गर्दथे - "कुनै शास्त्रमा लेखिएको छैन सानो, ठूलो जात भनेर, सब मान्छेको सोच, धर्मशास्त्रको नाममा अपव्याख्या र भ्रम फैलाएर पश्चिमा धर्म संस्कृति भित्र्याउने र जातीय विभेदको विखण्डनकारी राजनीति गर्ने राजनेताले गर्दा यस्तो भएको हो जसले मन्दिर बनायो उसैलाई मन्दिरभित्र जान नदिने, जसले सिलाएका लुगा, जुत्ता लगाएर हिँड्ने तर तिनले छोएको नचल्ने यस्तो पनि हुन्छ ? समाजमा महिला र पुरुष सिर्फ दुई जात मात्र छन् । अरु सब वाहियात कुरा हुन् ।" पररर ताली पड्किए । यसरी धार्मिक भेलामा खुलेरै भाषण ठोक्न थाले उनले । गाउँमा गठित युवा क्लबबाट उनले धेरै जातीय छुवाछुत, भेदभाव र रुढीवादी संस्कार विरुद्धका आवाज बुलन्द गरे । छुवाछुतप्रथा विरुध्द उनको अभियान ससक्त थियो । सबै जातका मानिसहरुलाई भेला गरेर सहभोज समेत गरे । उनलाई ठूलो सत्कर्म गरेर विजय प्राप्त गरेको अनुभूति भयो । खुशीले गदगद भए । यसले उपल्ला जातिका भद्र-भलादमीहरुले मिश्रित टिप्पणी गरे भने दलितहरुमा ठूलो उत्साह थपियो । भोलिपल्टबाट हरिका घरका सम्पूर्ण लुगाफाटो सिलाउने सुन्तली परियार, जुत्ता चप्पल सिलाउने हर्के मिजार र आँसी, बाउसो र कोदालो अर्चाप्ने फत्तेमान बि.क लगायतका थुप्रै दलितहरु बटुलिएर टन्न रक्सी पिएर उनको विरुध्दमा अर्को जुलुस निकाले-"हरि जस्ता मति सक्किएका बाहुन हामीले पुज्दैनम्, अब हामीलाई चोखो बाहुन चाहिन्छ । हाम्रै छोराछोरीले पकाएको खाएर, हिँड्ने बाहुनलाई हाम्रो दलितहरुको भेलाबाट सामूहिक रुपमा बहिष्कार गरिनेछ ।" हरिको अभियान विरुद्ध चर्का नाराबाजी समेत भए । यसपछि बल्ल हरिले बनारसमा त्यतिका बर्ष नपढेको चेतनाको पाठ सिके । फेदिखोला, स्याङ्जा । २०७६ /०५/१२ (एस. पि. असफलको यो लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र १३, २०७६ शुक्रवार - १९:००:०६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend