Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

कवच (लघुकथा) - मन्दिरा मधुश्री

कवच (लघुकथा) - मन्दिरा मधुश्री

सतीश चापागाईं

१३, भाद्र २०७६
images
एक्कासी गोपाल दाईसँग जम्काभेट भयो । मर्यादा राखेर भनेँ - "नमस्कार दाई !" "ओहो ! के छ अम्बु ?" मेरो डँडेल्नोमा धाप मार्दै दाईले भने । "अम्बिका" लाई "अम्बु" सम्बोधन साथै एकछिनसम्म पनि हात नहटेपछि यो धाप मराइ पनि अप्रत्याशित हो जस्तो लागेन मलाई । "ठिकै छ दाई । अनि हजुरको नि ?" - करैले औपचारिकता पस्केँ । "खै के हुनु र ! तिमीहरू आफ्नो सम्झेका त यसरी नदेखेको जस्तो गरेर हिँड्छाै !" - व्यङ्ग्य गरे दाईले । "मैले त नदेखेकै हो ।" पुष्टि गर्न खोजेँ । सकेसम्म म उनको धापबाट बच्न चाहन्थेँ तर कहिलेकाहीँ अप्रत्याशित रूपमा फेला पर्थेँ यसैगरी । धेरैले दाईलाई रसिक र "महिला मैत्री छन्" भन्थे । धेरैपटकको कार्यक्रममा फरक महिला साथीसँग देखेकी पनि थिएँ । "गोपाल दाई" उनको ब्राण्ड थियो । हामी एउटै संस्थामा थियौँ । सबैलाई "दाई" नै भन्न लगाउँथे । छोराछोरीकै उमेरकालाई पनि । "खै कतिपटक बाेलाइसकेँ घरमा । सँगै चिया पिउँला भनेर । कहिल्यै आउँदिनौ, निष्ठुरी !" गुनासो कुटिल लाग्याे । "मौकामा आफैँ आउनेछु बाेलाउनै पर्दैन हजुरले !" आश्वस्त पारेँ । "ल हिँड अहिल्यै, उ त्यहीं त हाे । " मलाई काेट्याउँदै आफ्नो घर देखाए । उनकाे हात नपुग्ने ठाउँतिर सर्दै भनेँ - "आज त सपिंग गर्न निस्केको ।" "ल हेर ! अलिक अघि निस्केको भए सँगै जान हुन्थ्यो नि । यी मैले त ल्याइसकेँ ।" हातको झाेलातर्फ देखाउँदै भने । " दाई लाग्छु है ?" - म हतारिएँ । "पक्कै आऊ नि !" - फेरि धाप मारिहाले बुढाले । "सुन त अम्बु ! मिल्छ भने अाजै आऊ न । बुहारीहरू सबै माइत गैहाल्छ्न् । एक्लै बोर हुन्छु घरमा । तिमी आए .." "हस् आउँछु ।" परैबाट भनेँ । दिउँसो उनको घरमा पुगेँ । "कतिखेर अाउँछ्याै भनेर पर्खिरहेथेँ ।" पुलकित हुँदै सोफामा आफूछेउ देखाए बस्नलाई । एक काइयाेँ केरा र सुगर फ्रि बिस्कुट भएकाे झाेला थमाउँदै भनेँ "यसपटक घर जान नपाएकोले खिन्न लागेको थियो तर आज हजुरलाई भेटेर बाको न्यास्रो सबै मेटियो । "ह्याप्पि फादर्स डे बा ।" - बिराटनगर -३ हाल : काठमाण्डौ । (मन्दिरा मधुश्रीको यो लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र १३, २०७६ शुक्रवार - १९:१४:२८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend