१५, भाद्र २०७६
बरु त्यहि जमाना ठिक कमसेकम एक दिनको तिज सम्झेर पुरै साल धधकेलिन्थ्यो नि! कि कसो? नत्र एक पटक फर्केर सम्झौं न ती दिनहरु !
एउटा जमाना थियो। तिज भन्ने बित्तिकै मिठो खानेकुरा, गरगहना, लुगाकपडा को कुरो हुन्थ्यो। के बालक के बृद्घ सबैको रहर र सपनाको चाड हुन्थ्यो। तिज आउनु एक महिना अगावैबाट मन फुरुङ्ग हुन्थ्यो । दिदी बहिनी र फुपू, भान्जीहरुलाई कहिले बोलाउने, को लिन जाने भनेर पहिले नै सल्लाह हुन्थ्यो । घरमा भएका आमा, भाउजु र बुहारी पनि को को माईत जाने ? को नजाने ? भनेर सल्लाह हुन्थ्यो ।
तिज पर्व त खासमा नयाँ लुगा किनमेल गर्ने पर्व हुन्थ्यो। बिहे गरि घरवार गरेका नारीहरुलाई त झन तिज पर्वले सालभरिको ब्यथा पखाल्ने पर्वको रुपमा आउथ्यो। एकदिन रमाईलो गर्थे र बर्षैभरि त्यहि रमाईलोको कुरा र कल्पना गरेर साल बिताउथे।
जमनामा केहि परिवर्तन भयो र तिज मनाउने चलनमा पनि केहि परिवर्तन भयो । तैपनि मिठो मसिनो खानेकुरा, लुगाफाटो, तिजगित र गरगहनाको संस्कार भने मेटिएन झन उग्र भयो । र त्यहि उग्र परिवेसमा म पनि रुमल्लिरहेकी छु।
बर्षैभरि मिठो र मसिनो खाने सहर र लगाउनको लागि गरगहना र लुगाफाटो किन्न महिनै पिच्छै सहरका सपिङ्गमल चहार्ने भएकोले कहिले तिज आउला र लाउला अनि तिज आउला र मिठो खाँउला भन्ने रहर रहेन। तर तिज आए सङ्गै सुदुर सहरमा कोहि नहुनुको पिडा भने सबैभन्दा बिझाउने बनिदिने रहेछ।
खै किन राम्रो लगाएर, मिठो मसिनो खाएपनि र टेलिभिजनमा आउने तिजगित रातदिन सुनेपनि आफ्नी आमा, माईतीघर, आफ्ना संगीसाथी र आर्यभञ्जयाङ्गको तिज मेलालाई सम्झिँदा अश्रुधारा अनयासै बगिदिने रहेछ। हाम्रै दिदीबहिनी र दिदी बहिनीहरु का छोराछोरी मात्रै जम्मा भएपनि सानोतिनो तिज मेला जस्तै देखिने मेरो घर सम्झेर सुदुर सहरमा अश्रुधारा खसाउनुको बिकल्प कतै देखिएन।
सहरमा सबै छ र लाउन र खानको लागि तिज पर्खन परेन तर ती बुढी आमा, दिदी बहिनीहरुको जमघट अनि रमाईलो खोजेर कहाँ पाउनु? धाँटीभरि गहना र चारौ हजारको साडी लगाएर कहाँ जानु ? सपनाको सहरमा कल्पिएर कहिलेसम्म होला रोमल्लिरहने ?
बरु त्यहि जमाना ठिक कमसेकम एक दिनको तिज सम्झेर पुरै साल धकेलिन्थयो नि! होइन र ?
प्रकाशित मिति :भाद्र १५, २०७६ आइतवार -
१५:४३:४९ बजे