१५, भाद्र २०७६
मुक्तक -१
कसैको मन मायामा, कसैको धनमा बसेको छ,
स्वार्थी मान्छेको मन जहिले नि तनमा बसेको छ,
बाध्यताले परदेशी भएको हुँ,माया मार्यो नभन्नु,
देशको माया मुटु अनि, गाउँकै आँगनमा बसेको छ ।
मुक्तक -२
आफन्तहरूलाई खुशी पार्न, धन चाहिँदो रहेछ,
धन मात्र भएर के गर्नु,खर्चिन मन चाहिँदो रहेछ,
कोही भन्छन् धन ठूलो, कोही भन्छन मन ठूलो,
तर ! सबैलाई खुशी पार्न त जीवन चाहिँदो रहेछ।
मुक्तक -३
मुखमा राम राम, बगलीमा छुरा राख्नेहरू,
साख्खै बनेर, यताको उता, कुरा राख्नेहरू,
मरेर जाँदा, शान्ति पाउँदैनन् होला तिनीहरूले,
गरिब दुःखीहरूका कामलाई, अधुरा राख्नेहरू।
मुक्तक -४
मान्छे-मान्छे हामी एकै हौं,के फरक छ र ? रगतमा,
तँ सानो-ठूलो भन्दै किन गर्छौ, भेदभाव फगतमा,
मान्छे ठूलो दिमागले हुन्छ जातले हुँदैन कहिल्यै,
भगवानका सृष्टि मात्र हुन् जात,नर-नारी जगतमा ।
मुक्तक -५
मान्छेको रुप हेरेर, उस्को चरित्र चिन्न सकिदैंन,
बाहिरी व्यवहार राम्रो भए पनि भित्र चिन्न सकिदैंन,
नुन र चिनी एकै हुन्छन् देख्दा, तर गुण फरक छन्,
त्यसैले सचेत हुनुस् आफै,यहाँ आफ्नैं मित्र चिन्न सकिदैंन ।
गौमुखी गाउँपालिका - ६ प्यूठान
( रबिन श्रीपालीका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)
प्रकाशित मिति :भाद्र १५, २०७६ आइतवार -
१८:५७:४६ बजे