Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

सदगुण (कविता) - कृष्ण प्रसाईं 

सदगुण (कविता) - कृष्ण प्रसाईं 

सतीश चापागाईं

२०, भाद्र २०७६
images
(शार्दूलविक्रिडीत छन्द)
यौटा जीवन दृष्यमा खुकुलिँदै छाया जतै मिल्दछ
गैह्रो कूप बनेर डुब्नु अघि नै बर्षी त्यतै बिल्दछ
कच्चा हो तनको सुवास जगमा सिर्जिरहे मूल्यमा
आत्माको गहिराइभित्र रहने माया छ साफल्यमा
बग्दै जीवन स्राव भै गइरह्यो आकाश बर्षेसरि
कालो बादलको घना फहरियो ढाकेर ताराभरि
दुख्दै घाउ बनी सुसाइरहँदा छाती बग्यो भित्रको
ताजा रोगन निख्रियो नयनमा आस्था गयो चित्रको
नीलाकाश सफेद वर्णन थियो सौन्दर्यको साथमा
बग्दै सूरज आँसुको भलसँगै चिम्स्याइलो रातमा
केही हैन रहेछ जीवन यहाँ बग्दो रहे भावना
थोरै काल रहन्छ फूल वनमा छुट्टा रहेको मुना
यौटा जीवनको कथा बदलिँदा हर्षाश्रु नै सुक्दछ
बग्दै दुःख अषाढको जलसँगै आँखा अघि रुक्दछ
खाली पाउ भएर पत्थरसँगै निस्सार यात्रा यहाँ
बढ्दा दुःख अझै‌ शरीर छ यहाँ धस्कन्छ छाती कहाँ
यो संसार विचित्र रोगन हुँदा सारा रहे व्यञ्जना
सुस्काएर धसिन्छ स्वर गतिमा खाली हुँदै सम्झना
कोही गर्दछ पाट वर्णन यहाँ छाया न हो जीवनी
आत्माको घन बिम्बमा लहरिँदै जोडिन्छ चेतावनी
भत्केको हर आशका रहरमा मैलिन्छ यो वैभव
छाया धूमहुँदै रहन्छ गतिमा अल्झाउँदै शैशव ।।
सारा सुन्दर चक्षुका शशिकथा वैलाउँछन् रातमा
अड्दै शीत प्रभातको रविसँगै सुक्छन् कुनै पातमा
बिर्सेका पनि सम्झना सयरमा रुझ्दै गए रापले
जल्दो मात्र छ जिल्दको रहर नै तिम्याइलो रातले
आँखाभित्र रसाउँदै हृदयको पग्लेर बग्ने छवि
कूहाभित्र खसेर अड्छ पटमा सम्भृष्ट भै पल्लवी ।।
छाया वर्तुल झैँ रहेर मिसिने मायावी यो जीवनी ।
भावी लेख्दछ भाग्यको कलमले संभाव्य मन्दाकिनी
यौटा दीप शिखा निभ्यो क्षण हुँदै निभ्दैन यो मान हे
उच्चो शैल अपूर्वता प्रकृतिमा लड्दैन यो ठान हे ।।
सच्चा वर्णन हो सफेद गुणको सत्यार्थ वृन्दावन ।
एकान्तीपनमा दुराग्रह हुँदै रित्तिन्छ यो जीवन ।।
पृथ्वीको पहिलो सुशंस रचना सामीप्यताको गुण ।
हिंसा क्लेश न हो अधम्र्य मनको आभात हो सद्गुण ।।
- बिर्तामोड न.पा.- ८ झापा ।
हाल : का.म. न. पा. वडा नं. २९
काठमाण्डौ ।
साभार : प्रकाशोन्मुख कृति "विजयवती" महाकाव्य
(कृष्ण प्रसाईंको कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र २०, २०७६ शुक्रवार - ०८:५४:३९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend