Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

देवता (लघुकथा) - एकदेव अधिकारी

देवता (लघुकथा) - एकदेव अधिकारी

सतीश चापागाईं

२१, भाद्र २०७६
images
  ऊ लावालस्करका साथ पहाडी बाटो माथितिर उक्लँदै थियो । ठाडो भीर साँघुरो बाटो माथिबाट फर्कनेहरूसँग बच्दै हिँड्नु परेकाले यात्रा दुष्कर र कष्टसाध्य थियो । आफ्नो लावालस्कर केही पछि भएकाले ऊ ढुक्कका साथ अगाडि बढ्दै थियो । अचानक छेवैको एउटा ढुङ्गोमा उसको खुट्टो ठोकियो । ऊ पीडाले रन्थनायो र थुचुक्क बस्यो । जुत्ता-मोजा फुकाल्यो । ठोक्किएको औँलो फुटेको थियो । रगत बग्न थाल्यो । आफ्नो खुट्टा त्यही ढुङ्गामा अड्याएर उसले घाउमा पट्टी बाँध्यो । फेरी सकी-नसकी जुत्ता लगाएर ऊ खोच्याउँदै अगाडि बढ्यो । उसले खुट्टा अड्याएको ठाउँमा रगतको टाटो लागेको थियो । उसको लावा लस्कर अब त्यहाँ जम्मा हुन थाले । उनीहरूका नेता खोच्याउँदै अलि पर पुगिसकेको थियो । “यो ढुङ्गोको यहाँ कामै छैन ।” भीडमा एउटा कुर्लियो । “यसले अझ कति यात्रुहरूलाई पिर्छ ।” अर्को जङ्गियो । “यसलाई भीरबाट गुल्ट्याइदिनु पर्छ ।” अर्कोले थप्यो । “हो, हो यसलाई गुल्ट्याइदिनु पर्छ ।” सबले हो मा हो मिलाए । केही बेरमै त्यो ढुङ्गो त्यहाँबाट गुल्ट्याइयो । गुल्टिँदै गएको त्यो ढुङ्गो तल पट्टिको एउटा बाटोमा टक्क अडियो । माथिबाट फर्कँदै गरेका समूह त्यो ढुङ्गो रोकिएको ठाउँभन्दा केही तल विश्राम गर्दै थिए । आवाज सुनेर उनीहरूले माथि उक्लेर हेरे । केही बेर अघि खुल्ला भएको बाटो अहिले त्यो ढुङ्गोले पूरै रोकेको थियो । उनीहरूलाई अचम्म लाग्यो । ढुङ्गालाई दायाँ-बायाँबाट घुमेर हेरे । रातो तिलक लगाइएको ढुङ्गामा उनीहरूले देवता देखे । “कस्तो अचम्म ! अघिसम्म त यहाँ केही थिएन ।” एउटाले भन्यो । “देवताको उत्पति भएको हो ।” अर्कोले थप्यो । केही बेरमै तलबाट आउने मानिसहरूले पनि त्यो ढुङ्गोलाई देखे । उनीहरूलाई पनि साक्षात देवताको दर्शन भएझैँ लाग्यो । जय-जयकार पूजा-आजा शुरु भयो । रगतको टाटो लागेको ठाउँ अबिर र चन्दनले छोपियो । तलबाट आउने भीड बढिरहेको थियो । बाटो रोकिएकोले उनीहरूको देवतालाई उचित ठाउँमा व्यवस्थापन गर्नै पर्थ्यो । सबैले त्यो ढुङ्गोलाई त्यहाँबाट उठाए र माथितिर लिएर गए । देवताको स्थापनाको लागि उचित ठाउँ खोज्दै जाँदा त्यही ठाउँमात्र भेटियो जहाँबाट त्यो गुल्टाइएको थियो । माथि जाँदा खुट्टो ठोक्किएका नेता साँझमा फर्केर जब त्यही ठाउँमा आइपुगे, त्यहाँको माहोल अलग्गै बनिसकेको थियो । पछि-पछि आइरहेको उनको लावा लस्कर मुर्मुराउँदै कानेखुशी गर्न थाले । - टाँडी, चितवन २०७५ भाद्र २० (६ सेप्टेम्बर - 2019) (एकदेव अधिकारीको लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र २१, २०७६ शनिवार - ०७:१२:४९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend