२१, भाद्र २०७६
विकास एक मध्यम वर्गीय परिवारको २५ – २६ बर्षको सामान्य युवक थियो । सामान्य जागिरले आफू, पत्नी र शिशु छोरीको परिवार राम्रै धानिएको थियो ।
तर बेलाबखत टाउकोमा हुने असहनिय पीडाले ऊ रन्थनिन्थ्यो । कडाभन्दा कडा पेनकिलरले समेत उसको दुखाई बिसको उन्निस पनि भएन । कैयौं डाक्टरलाई देखायो, हरेक परिक्षणहरू गरायो, देवी-देवता भाक्यो, पत्नीको सल्लाहमा बाबाजीको शरणमा गयो, जन्तर बाँध्यो.... तर अहँ ! न त कुनै डाक्टरले यसै हो भन्न सके, न त कुनै उपचारले नै छोयो ।
अन्तत: उपचारको लागि विदेश जाने निर्णय भयो । विदेशका श्रेष्ठ अस्पतालका नामी न्यूरो सर्जनहरूसँग उसको भिडियो च्याटमै छलफल भयो । आजसम्मको सम्पूर्ण रिपोर्टहरू पठाइयो । त्यसका आधारमा (सम्पूर्ण जोखिमका बाबजूद) उसको ब्रेन सर्जरी गरेर पिडा महशूश गर्ने तन्तुलाई नै निकालेर फ्याँक्नु नै एक मात्र विकल्प रहेको कुरामा डाक्टरहरू एकमत भए ।
आजसम्मका सम्पूर्ण बचत रकम, श्रीमतीका गहना र सर-सापट गरेर विदेश यात्रा र उपचारको लागी लाग्ने रकमको जोहो भयो । ‘जीउ रहे घीउ पिइन्छ ।’ भनेर ऊ र उसकी श्रीमती दुबैले चित्त बुझाए ।
अप्रेशन सफल भयो. विकासले अब जिन्दगीभर कुनै पनि प्रकारको दुखाईको भेउ नपाउने भयो ।
यस्तो खालको सफल शल्यक्रिया यो विश्वमै पहिलो थियो । यस खुशीयालीमा अस्पतालले विकासको कम्प्लिट मेकओभर (complete makeover)को खर्च बेहोर्ने घोषणा गर्यो ।
जस अन्तर्गत विकासले नामी डिजाइनरहरूसँग महंगा सूट–कपडा, जुत्ताहरूको डिजाईन रोज्यो । जुत्ता डिजाइनरले उसको खुट्टाको नापो लिंदै भन्यो – ‘तपाईंलाई ८ नम्बरको जुत्ता चाहिँदो रहेछ ।’
‘होइन, म सधैं ७ नम्बरको जुत्ता लगाउँछु । मेरो लागी जुत्ता ७ नम्बरकै बनाइदिनुस ।’ – विकासले भन्यो ।
‘हेर्नोस, म संसारकै नामी जुत्ता डिजाइनर हुँ ।’ जुत्ता डिजाइनरले प्रतिवाद गर्यो । ‘मेरो अनुभव र हिसाबमा तपाइँको खुट्टाको आकार र साइज हेर्दा तपाईलाई ७ नम्बरको जुत्ता मिल्न त मिल्छ, तर त्यो लगाउँदा औंला बीचका नसाहरू च्यापिन्छन् र फलस्वरूप तपाइँको टाउको दुख्न थाल्छ । मैले भनेको मान्नुस- ८ नम्बरको लगाउनुस । यदि जिद्दी गर्नुहुन्छ भने ७ नम्बरकै बनाइदिन्छु, तर टाउको दुख्यो भनेर शिकायत गर्न न आउनु होला ।‘
विकासले क्वारक्वार्ती जुत्ता डिजाइनरको अनुहार हेरिरह्यो ।
समाप्त
- तानसेन न. पा. - १४, सुन्दरगाउँ पाल्पा ।
हाल : संयुक्त अधिराज्य ।
(सुदर्शन पौड्यालको यो लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)
प्रकाशित मिति :भाद्र २१, २०७६ शनिवार -
१८:५२:१२ बजे