२१, भाद्र २०७६
हृदयस्पन्दनभन्दा प्रिय सखी सहिसा
सहारामय अभिवादन
सर्वप्रथम त, नूतन प्रभातागमनसँगसँगै मन र जीवनको प्राङ्गणमा सृजनशीलता र सुस्वास्थ्यताको कामनासहित तिम्रो चीर सुख , चिरायु सुदृष्टान्त एवं सृजनशीलताको पर्यायको रुपमा तिम्रो उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
प्रिय सखी सहिसा, हाम्रो भेटघाट अनि फोनवार्ता नभएको पनि धेरै लामो समय झण्डै ६ वर्ष भईसकेछ । हुन त बारम्बार म तिम्रो लेखहरू पत्र-पत्रिकाहरूमा पढ्थें तर यस्तै हो समयको छालमा भेटघाट अनि फोनवार्ता कठिन भयो । तिमी तिम्रै लक्ष्यमुताविक शिक्षण पेशामा होमियौ र अझ आदर्शको कुरा काठमाण्डौको रमझममा भूलेकी तिमीले त्यो विकट ठाउँमा आफनो भविष्यलाई मलजल गर्दै रहिछौ ।
हिजोमात्रै मैले तिम्रो बारेमा छापिएको समाचार पढें । फोटोसहितको छापिएको तिम्रो पेशाप्रतिको लगाव , तिम्रो मेहनेत , तिम्रो कार्य-दक्षता ,तिम्रो संघर्ष अनि सपना सबै पढें । साँच्चे भनु , म तिम्रो फोटोलाई हेरेर नतमस्तक भइरहें र हर्षले नयनमा अश्रुधारा धाराप्रवाह वगीरहे । सहिसा, हो म त्यही पत्रिकामा लेखिएको ठेगानाको सहारामा पत्र सम्प्रेषण गर्दैछु ल ।अँ अनि भनीहालुं । तिमी त अहिलेसम्म उति नै सुन्दरी देखिंदोरहेछौ, मलाई त तिमी पहिलाभन्दा अहिले सुन्दरी लाग्यौ । स्मरण भईरहेछ , जब हामी कलेजमा संगै पढथ्यौं , तिम्रो सपना एउटा जुझारु शिक्षिका वन्ने थियो । त्योवेला तिमीले शिक्षाको नाममा दिएको वकालतहरु अझै मानष्पटलमा जस्ताको त्यस्तै छ । शिक्षा एउटा विशाल अवधारणा हो अतः त्यसमा जुनसुकै परिभाषाले पनि मान्यता पाउन सक्छ । गुणस्तरिय शिक्षालाई व्याख्या गर्न एउटै दृष्टिकोण काफि छैन । गुणस्तरिय शिक्षाको अर्थ सामान्यतया शिक्षाको परम्परागत शैलीलाई उच्च ढंगवाट सम्वोधन गर्नुमात्र हैन वरु अनिश्चित भविष्यको लागी स्पस्ट दुरदर्शितालाई जोड दिनु एवं समयानुकुल परिवर्तित विश्वको विभिन्न नविन विषयहरुमा ज्ञात गराउनु पनि एक हो । शिक्षाले हरेक विधार्थीको क्षमतालाई चिनेर सृजनशीलतातर्फ उन्मुख गराउनुपर्छ भनेर वारम्वार सृजनशीलता गुणस्तरताको पहिलो मौलिक एवं सशक्त सर्त हो भनेर परम्परागत शिक्षाप्रणालीमाथी धावा वोलेको मैले विर्सेको छैन । सम्भवतः हाम्रो समकक्षीहरुले पनि विर्सेका छैनन् सहिसा ।
साँच्चै, जब हामी सँगै पढथ्यौं । तिमीले शिक्षामा गर्ने वकालतहरु म केही बुझ्दैन थिएँ त्यसबखत । सायद अल्लारेपनामा त्यो बुझ्नु कठिन थियो । मात्रै तिम्रो हो मा हो मिलाउँथे । तर जब समयसँगै पढाईको लागि हाम्रो बाटो अलग भयो र म पुस्तक अनि अनुभवहरुवाट खारिंदैगएं , तिमीले वोलेका शव्दहरु एक एक छर्लङ्गिनथाले । जसरी खलिल जिव्रान बोल्छन् । म त्यही हालतवाट गुज्रिएँ ।
म ओशो रजनीशको भावलाई सापट माग्छु यो धर्तीमा तिमी जस्तो मान्छे न कहिल्यै जन्मियो, न जन्मन्छ, न जन्मिनेछ । अतः यो धारवाट सोच्ने हो भने हरेक मान्छेको आ आफ्नै मौलिकता र महत्व हुन्छ । शिक्षाले सोही कारण सबै मान्छेमा हुने क्षमतालाई उजागर गर्दै सृजनशीलतामा ढाल्नुपर्छ र यसको लागि उत्प्रेरणा जगाउने मुख्य अभिभारा तिमीजस्तो शिक्षक शिक्षिकाको हुन्छ । आज शिक्षा एकपक्षीय एवं एकांगी भएको छ फलतः मान्छेको चौतर्फी विकास हुनैसकेन । यो सम्वन्धमा तिमी पनि वारम्वार चिन्तित भएको मलाई थाहा छ कि मान्छेले भौतिक विकास त धेरै गरयो तर अध्यात्मिक विकास कहिल्यै गर्न सकेन । फलतः मान्छेले विज्ञान र गणितका सूत्रहरु त सिके तर प्रेम, आदर , नैतिकता एवं भावनालाई कहिल्यै ठिक सम्वोधन गर्न सकेन र त आजका यूवाहरु भड्किरहेका छन् ।
सहिसा ! म प्रसंग बदल्छु ल । म अब हाम्रो नेपालको परिप्रेक्ष्यमा घुम्न चाहन्छु । हेर न जब हामी यहाँ क्याम्पसमा उच्च शिक्षाको लागि पढ्दैथियौं त्यसबखत नेपालको शैक्षिक अवस्था साह्रै दयनीय थियो । हुन त आजपनि शिक्षाको अवस्था जस्ताको त्यस्तै छ तर सुधार केहि हदसम्म भएको कूरालाई नकार्नुहुन्न । वि।सं। २००७ सालपछिमात्र नेपालको शिक्षाक्षेत्रमा औपचारिक दर्शन पाइयो त्यसमा पनि त्यो नेपालको राजधानीमै मात्र सिमित थियो । वि।सं। ०३५।०३६ को परिवर्तनपछिमात्रै देशमा नीजि विद्यालयहरुको उल्लेख्य विकास भएको पाइन्छ । भन्नु परोइन , त्यहि कारणले नेपालले थोरै समयमा फड्को मारयो तर विडम्वना फेरिपनि जुनवेला हामी पढ्दा सरकारी विद्यालय अनि ग्रामीण परिवेशको हालत थियो अपवादलाई छोडेर आजपनि अवस्था सुध्रिएको छैन वरु झन विग्रीएको छ ।
सहिसा , कहिले त उदेक लाग्छ नेपालको अवस्था देख्दा । तिमीजस्ती आशावादी समर्पित शिक्षिकाहरु छन् र मात्रै अलि आशाको मूना पलाउँछ । मलाई लाग्छ , नेपालमा राज्यले शिक्षालाई कहिल्यै महत्वपूर्ण एजेण्डामा पार्न सकेन शैक्षिक संख्यामा संख्यात्मक विकास भएको अवश्य छ तर गुणात्मक ढङ्गमा हेर्ने हो भने शिक्षा धेरै पछाडि परिसकेको छ । राज्य शिक्षाको सवालमा कहिल्यै चिन्तित वनेन र त ग्रामीण भेगमा शैक्षिक अवस्था झन भयावह छ । भर्खरै मात्र पत्रिकामा प्रकाशित समाचारमा गौर गरौं ग्रामीण भेगमा स्कूल छ महिना वन्द हुन्छन र शिक्षकहरु सदरमुकामवाटै तलव वुझछन् र शिक्षाको दर्दनाक अवस्था यो भन्दा अरु के हुनसक्छ । शैक्षिक संस्थामा दक्ष जनशक्तिभन्दा आफनो पक्षको जनशक्ति नियुक्त गर्ने निरिह चरित्र उदाङ्ग नभएको हैन। एक शिक्षक वरावर ४५ जना विद्यार्थी हुनुपर्ने नियमावली हुँदाहुँदै पनि फेरि एक शिक्षक वरावर एक सय भन्दा वढि पढाइरहेको तथ्याङ्क वाहिर आइरहेको छ भने गुणस्तर शिक्षाको अपेक्षा कसरी हुनसक्छ । अतः यो त राज्यको निरिहपना भयो सहिसा तर जव फेरि नीजि विद्यालयतर्फ नियाल्छौ भने थाहा हुन्छ त्यहाँ शैक्षिक सेवा दिइरहेका छन् कि व्यापार गरिरहेका छन । राज्यको निरिहपनाको सवैभन्दा फाइदा यदि कसैलाई भएको छ भने अपवादलाई जोडेर भन्नुपर्छ केही नीजि विद्यालयहरु खुलेआम जनता लुटिरहेका छन् । नेपालको समग्र अवस्था सन्तोषजनक छैन त्यसैले एउटा फूलवारीमा थोरै फूलहरु मुस्कुराउँदैमा फूलवारीको सुन्दरता मान्नुमिल्दैन त्यसका सवै अवयवहरुको समग्र विकास हुनु सुन्दर फूलवारीको पहिलो सर्त हो।
सहिसा, तिमीले पनि बारम्बार आफनो आवाज छापामार्फत पोखिरहेका छौ । अतः राज्यले शिक्षालाई मूख्य एजेण्डा बनाएर अघि बढ्नुपर्छ । स्पष्ट छ , चीनमा जनवादी गणतन्त्र स्थापना भइसकेपछि शिक्षालाई महत्वपूर्ण एजेण्डामा पारियो । सन् १९८९ भन्दा अगाडी चीनको जनसँख्या ५० करोड हुँदा ८० प्रतिशत चीनका नागरिकहरु निरक्षर भएको अवस्थालाई पार गर्दै जव शिक्षामा राज्यले नै विशेष निगरानी बढायो, भन्नु परोइन , चीनलाई त्यो ब्रम्हास्त्र अनि वरदान सावित भयो । हाम्रो नेपालले छिमेकि मुलुक नै ज्वलन्त दृष्टान्त हुंदापनि केहि सिक्न सकेन , यो हाम्रो लागि शर्मको विषय हो, होइन र सहिसा ।
अन्तमा , म धेरै बर्षपछि भए पनि तिमीलाई पत्रमार्फत सम्वोधन गर्न पाउँदा धेरै खुशी छु । अहिले म तिमीलाई अनि तिम्रो सपनालाई सम्झिइरहेको छु । सरकारी विद्यालयमा आजकल ग्रामीण भेगका निम्न वर्गीय जनताहरुसमेत पढाउन अप्ठेरो मान्छन् सकेसम्म नीजि विद्यालय नै रोज्छन् । यो संस्कृतिलाई चिर्नु तिम्रो पहिलो चुनौती हो । सबै विद्यालयमा समान शिक्षा प्रदान गर्ने तिम्रो सपना चाँडै पूरा होस् । सहिसा , सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरु आफूलाई हिनताबोध महशुस गर्छन् भने त्यो हारेको मानसिकताले युद्ध जित्न सकिन्न भन्ने थाहा छ अतः यो भ्रमलाई चिर्नु तिम्रो अर्को चुनौती हो सहिसा । मान्छे जहाँ लड्छ , त्यहीँबाट उठ्नुपर्छ भन्ने गथ्र्यौ तिमीले अतः सोही सुत्रलाई अवलम्वन गरी शिक्षामा भएको भेद , कुसंस्कृति , भ्रम एवं नकारात्मकतालाई चिर्न तिमी सक्षम हुनेछौ भन्ने विश्वास बोकेको छु । तिमीजस्ती कर्मठ शिक्षकको सपना चाँडै साकार होस साकार हुनुपर्छ तिम्रो लागी यही कामना गर्न चाहन्छु ।
हवस त, आजलाई विदा । समय मिल्छ भने पत्र सम्प्रेषण गर्न भुल्दैनौ, मलाई थाहा छ ।
तिम्रो उही सखा सन्तोष सहारा
- भक्तपुर नेपाल
हाल : एडिलेड, अष्ट्रेलिया ।
(सन्तोष सहाराको यो प्रेरक 'शैक्षिक प्रेम-पत्र' साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)
प्रकाशित मिति :भाद्र २१, २०७६ शनिवार -
१९:१०:३४ बजे