२२, भाद्र २०७६
महाभारत हुने निश्चित भएपछि सहायता माग्न भनेर दुर्योधन र पाण्डुपुत्र अर्जुन द्वारिका पुगे। दुर्योधन अलि अगाडि पुग्यो । कृ्ष्ण कोठामा सुतिरहेका थिए। जाग्नासाथ सहायता माग्नमा पाण्डवलाई उछिन्ने उ्द्देश्यले कृष्ण सुतेकै कोठामै पुग्यो। आफूलाई कृष्णभन्दा विशिष्ट ठान्ने हुनाले ऊ गजक्क परेर शिरानीतिर बस्यो । अर्जुन पनि त्यहीँ पुगे र सम्मानका खातिर गोडारीतिर बसे।
कृष्ण जागे । उनको नजर सोझै गोडारीतिर बसेका अर्जुनतिर पुग्यो र उनले अर्जुनलाई आउनुको कारण सोध्न थाले । अर्जुन बोल्न नभ्याउँदै बित्यास पर्ने भयो भन्ने सोचेर दुर्योधन बोल्यो- "कृष्ण युद्ध हुने नै भयो। म तिमीसँग सहयोग माग्न आएको छु। म अर्जुनभन्दा पहिल्यै आएकोले सहयोग पाउने पहिलो हक मेरो हुन्छ।"
दुर्योधनका कुरा सुनेपछि कृष्णले अर्जुनलाई भने- "तिमी?" अर्जुनले पनि आफू सहायता माग्न आएको कुरा बताए।
कृष्णले दुवैलाई भने- "दुवै सहायता माग्न आएका छौ। मेरा निम्ति दुवै उत्तिकै छौ। मैले एउटालाई मात्र दिन मिल्दैन, हुन्न। दिन्छु तर दिँदा पहिला कसलाई भन्ने कुरामात्र हो।" कृष्णले थपे, "दुर्योधनले आफू पहिले आएकोले पहिलो हक आफ्नो भन्नु जायज पनि हो तर पहिला आएको कारण जसरी पहिलो हक दुर्योधनको भयो त्यसै गरी मैले पहिले अर्जुनलाई देखेको हुनाले अर्जुनको पनि उत्तिकै हक हुन्छ। यो अवस्थामा भाई पनि भएकाले रोज्न अर्जुनले नै पाउनुपर्ने हुन्छ तैपनि म विकल्प दिन्छु, दुवैको चित्त बुझाइदिन प्रयास गर्छु।"
उत्सुक भएर दुवैले कृष्णतिर हेर्न थाले। कृष्णले भने- "एकातिर, युद्ध अवधिभर हतियार नउठाउने गरी, नि:शस्त्र म र अर्कातिर शस्त्रअस्त्रले सुसज्जित, सिङ्गै नारायणी सेना । एक एकवटामा तिमीहरूको रोजाइ। दुवैले इच्छा अनुसार रोज।"
यो कुरो सुनेर दुर्योधनले सोच्यो- "युद्धमा हतियार सहितको यत्रो सेना पाएपछि हतियार नलिने एक्लो कृष्णको के महत्त्व? अनि खुशी भएर बोल्यो -"त्यसो भए म हात हतियारयुक्त सेना रोज्छु। "
अर्जुन पनि खुशी भए। सोचे- हतियार त हामीसँगै छ। सबै कुराको व्यवस्था हेर्ने, परिचालन गर्नेको कमी हो, अभाव हो। त्यो सेना, हतियारबाट पूरा हुन सक्दैन। कृष्णले हतियार लिनै पर्दैन, सबैकुराको व्यवस्थापन र परिचालन गर्छन्। अनि भने-" ठिक छ मलाई कृष्ण भए हुन्छ ।"
हरेक काम कुरामा छनोटको कति महत्त्व हुन्छ भन्ने कुरा अभिमानी र षडयन्त्रकारी दुर्योधनले बुझेन। अर्जुनले त्यही कुरा बुझे र त्यसै अनुसार छाने। परिणाम ? त्यत्रो हस्तिनापुरको कौरव सेना, द्वारिकाको नारायणी सेना ....अन्यत्रका सेना र सेनानायक सारा मरे, मारिए। पाण्डवहरूको विजय भयो। अर्जुनको त्यही छान्न सक्ने क्षमताले कत्रो काम गर्यो?
एउटै चाहा राखेर आएका दुवै पक्षलाई दुवैको इच्छा अनुसारको माग पूरा गरिदिन सक्ने कृष्णको क्षमताले कत्रो कुशलता देखायो ?
यी सबै कुराको सार हामीले नबुझ्ने खालका छन् र? तर बुझ्नेतिर हाम्रो ध्यानै छैन त्यसैले बुझ्दैनौं ।
प्रकाशित मिति :भाद्र २२, २०७६ आइतवार -
२०:०१:०८ बजे