सोच्दै नसोचेको नयाँ उल्कातन्त्र आयो
पीपलपाते बन्नेलाई नयाँ मन्त्र आयो
भिरे देशै बदलिने नयाँ जन्त्र आयो
देखाउने, सुनाउने नयाँ यन्त्र आयो
नयाँ नीति, नेतासँगै नयाँ कुरा आयो
लोकतन्त्र नाम लिई नयाँ छुरा आयो
टिकी, पोते लुकाएर खालि चुरा आयो
लडिया त भन्नु मात्रै खालि धुरा आयो
अन्त वर्षा हुँदा ओढ्ने जाली छाता आयो
धन अन्तै पुग्छ यहाँ खाली खाता आयो
सिद्धान्तको नाम पारी गाली–गाथा आयो
भ्रष्ट,ठग,तस्करकै झ्याली झ्याम्टा आयो
प्रजातन्त्र साटिएर नयाँ गीत आयो
गणतन्त्र नामले नै मान्छे चित खायो
कैल्ये यता कैल्ये उता पालैसित धायो
‘नपाउनेले केरा पायो बोक्रैसित खायो’
दशामै छ देश उता दशगजा ठेल्यो
बजेटले जेट भन्यो रासनले रेल्यो
चुनावले छिर्के हान्यो भाषणले पेल्यो
जाली उठी जालबाटै जित्ने खेल खेल्यो
चौपारीमा बसी हेरेँ जतिफेरा मैले
पात हल्लिएको देखेँ पीपलकै पैल्ये
वर, रबरका पात हल्लिँदैनन् कैल्यै
पीपलको चरित्रै हो चिन्छ बतासले
- पाल्पा- हाल : काठमाण्डौं -३२, मनोहरवस्ती
(-डिल्लीराज अर्यालको कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)