घामको कडा ताप सहेर
झरीमा भिज्दै
अप्ठ्याराहरू पार गर्छ
जिन्दगीको अनेकौं उकाली - ओह्राली हुँदै
हुरी - बतास र बाढीसित जुझ्छ
र जन्माउँछ
मस्तिष्कको कोखबाट
एउटा स्वच्छ विचारको शिशु
नियमित मेहनतहरू गर्छ
लोभको भोकहरू पर पन्छाउँछ
अप्राप्तिका तृष्णाहरू मेट्छ
औ, गोरू झैं दाउँछ आफूलाई बञ्जर भूमिमा
फलको वृक्षहरू रोप्छ लस्करै
मालिक होइन
माली भएर
समाजको त्यो सुन्दर कोठेबारीमा !
चतुर्याईंको एउटा दानव
छहारीमा बिसाउँने निहुँमा
डरलाग्दो दाह्रा देखाउँछ समाजतिर फर्केर
वृक्षहरू ढाल्छ
हाँगाहरू छाँट्छ
औ ओसार्छ फलहरू आफ्नो वास भूमितिर
रसहरू चुसेर खोक्रो पार्छ समाजलाई
कुटनीति रचेर ध्वाजा बनाउँछ चेतनाहरू
सत्यलाई शरणार्थी बनाई लखेट्छ
समाजको आँखामा कालो पट्टी बाँध्छ
अन्तमा
नियमवलीहरू मेटेर
भत्काई राख्छ सिस्टमहरू
र जिउँछ 'ऊ'
आन, मान, शानले
सेवाका हात - खुट्टा भाँचेर
थन्काइ राख्छ एक कुनामा
धेरै पल्ट बौरी उठ्न खोज्छ
तर,
थिचेको हुन्छ पहाडले
एकजना कर्मठ समाज सेवकको अन्त्य हुन्छ !
समाजले कालो चश्मा ओडेर
अन्ध-धुन्ध सम्वर्द्धनाहरू गरीपठाउँछ
मानौं,
बाँदरलाई लिस्नो लगाइदिएर
उपद्रवहरू मच्चाउने
"अनुज्ञा पत्र" हातमा थमाई दिन्छ ।
अस्तु
- जल्ढक्का, कालेबुङ्ग भारत ।
(
निरूबिन्दुको कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)